मध्यपूर्व (पश्चिम एसिया)को लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम फोर्स (युनिफिल)मा कार्यरत नेपाली सैनिकको गणमा बम हमला भएको छ । लेबनानको दक्षिणतर्फ इजरायली सिमानानजिकै मिस इल जाबेलमा रहेको नेपाली सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको हो ।
इजरायल र लेबनानको उग्रवादी समूह हिजबुल्लाहबिच आक्रमण–प्रत्याक्रमण हुने क्रममा नेपाली सैनिकहरूको निवासमा बम आक्रमण भए पनि हमला कसले गरेको भन्ने खुलेको छैन । घटना शुक्रबार बेलुकाको हो । आक्रमणमा नेपाली सैनिकलाई कुनै क्षति नभएको सेनाले जनाएको छ । त्यहाँ नेपाली सेनाको विष्णु दल (शान्ति सेना)को ६७औँ डफ्फा कार्यरत छ । लेबनानमा हाल ५५४ जना नेपाली शान्ति सैनिक कार्यरत छन् । आक्रमणबारे विस्तृत जानकारी राष्ट्रसंघले सार्वजनिक गरेको छैन ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले घटनामा कुनै मानवीय क्षति नभएको, तर नेपाली सैनिकको सुरक्षाबारे सम्बन्धित निकायमा चासो राखिएको जानकारी दिए । ‘नेपाली शान्ति सैनिकहरू बस्ने एउटा घरमा बम आक्रमण भएको रहेछ, घरमा क्षति भएको छ, तर मानवीय क्षति केही पनि भएको छैन,’ प्रवक्ता बस्नेतले भने, ‘राष्ट्रसंघीय शान्ति सैनिकको सुरक्षा प्रोटोकल लेभल २ अनुसार हाम्रा सैनिक बंकरमा बसेका छन् । घटनाबारे संयुक्त राष्ट्रसंघले छानबिन गर्ने विश्वास छ ।’
नेपाली सेना र राष्ट्रसंघले दिएको सुरक्षा प्रोटोकल पालना गर्न नेपाली सैनिकलाई भनिएको पनि प्रवक्ता बस्नेतले बताए । ‘हाम्रा सैनिकको सुरक्षाका सन्दर्भमा सम्बन्धित निकायमा चासो राखिएको छ । नेपाली सैनिकको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकतामा छ । परिस्थितिलाई हामीले नियालिरहेका छौँ,’ उनले भने ।
लेबनानमा हाल कुल सात हजार ६२३ शान्ति सैनिक कार्यरत छन् । यीमध्ये नेपाली सेनाको एउटा गण तथा सैन्य पर्यवेक्षकसहित जम्मा ५५४ जना कार्यरत रहेको सेनाले जनाएको छ । लेबनानमा नेपाली फौज सातौँ ठुलो संख्यामा छ । त्यहाँ नेपाली सैनिकभन्दा धेरै फौज इटाली, इन्डोनेसिया, स्पेन, फ्रान्स, भारत र घानाबाट गएका छन् । विश्वभरिका संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कुल ४९ हजार २५१ सैनिक कार्यरत रहेको राष्ट्रसंघको तथ्यांक छ ।
संयुक्त राष्ट्रसंघका लागि पूर्वस्थायी प्रतिनिधि मधुरमण आचार्यले राष्ट्रसंघसँग नेपाली सेनाको सुरक्षा सुनिश्चितता लिनुपर्ने सुझाव दिए । ‘हामीले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको सुरक्षाको सुनिश्चितता गर्न संयुक्त राष्ट्रसंघसँग आग्रह गर्नुपर्छ । यदि त्यहाँ आक्रमणहरू जारी रहिरहे भने नेपालले आफ्ना सैनिकहरू शान्ति मिसनबाट फिर्ता बोलाउन सक्ने चेतावनी दिनुपर्छ । सबैभन्दा खराब अवस्थामा घातक आक्रमणको जोखिममा पर्नुअघि नै हाम्रा सैनिकहरू फिर्ता ल्याउनुपर्छ,’ उनले भने ।