- प्रत्यक्षतर्फ ५.४२ प्रतिशत र समानुपातिकतर्फ ३.९३ प्रतिशत मत बदर
- २८९० उम्मेदवार र ५७ दलको धरौटी जफत, ३५० उम्मेदवारको शून्य मत
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएसँगै संघीय संसद्को अंकगणितमा व्यापक फेरबदल भएको छ । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको छ । ०६४ यता सत्ताराजनीतिको केन्द्रमा रहेका कांग्रेस, एमाले र नेकपा पाँच वर्ष सरकारबाहिरै बस्नुपर्ने झिनो अंकमा सीमित भएका छन् । तर, विधायकी काम गर्ने माथिल्लो सदन राष्ट्रिय सभामा भने पुरानै दलको वर्चस्व छ ।
बुधबार सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट प्राप्त गरेको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको हो । यस्तै, कांग्रेसले प्रत्यक्ष १८ र समानुपातिक २० गरी ३८, एमालेले प्रत्यक्ष नौ र समानुपातिक १६ गरी २५, नेकपाले प्रत्यक्ष आठ र समानुपातिक नौ गरी १७, श्रम संस्कृतिले प्रत्यक्ष तीन र समानुपातिक चार गरी सात, राप्रपाले प्रत्यक्ष एक र समानुपातिक चार गरी पाँच सिट प्राप्त गरेको छ । एकजना स्वतन्त्र निर्वाचित भएका छन् ।
११ माघमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणामअनुसार २५ सिटसहित कांग्रेस पहिलो दल छ । राष्ट्रिय सभामा नेकपाका १८, एमालेका ११, जसपाका तीन, राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् । राष्ट्रपतिबाट एक मनोनीत हुन बाँकी छ । दुवै सभामा प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले र नेकपाको संघीय संसद्मा क्रमश: ६३, ३६, ३५ सिट पुगेको छ । राष्ट्रिय सभामा रास्वपाको प्रतिनिधित्व छैन ।
समानुपातिकतर्फ मतगणना सकिए पनि आयोगले औपचारिक रूपमा मतपरिणाम सार्वजनिक गरेको छैन । आयोगका कानुन महाशाखा प्रमुख सहसचिव यज्ञ भट्टराईले केही जिल्लाको मतपरिणाम संकलन हुन बाँकी रहेकाले अन्तिम परिणाम आइनसकेको बताए । ‘केही जिल्लाको परिणाम आइसकेको छैन । आएपछि बिहीबार समानुपातिक सिट बाँडफाँट गरेर दलहरूलाई बन्दसूचीमा रहेको नाम छनोट गर्न चिठी पठाउँछौँ,’ भट्टराईले भने ।
साढे ५ प्रतिशत बदर
निर्वाचन आयोगका अनुुसार प्रतिनिधिसभा निर्वाचनमा साढे ५ प्रतिशत मत बदर भएको छ । बुधबार सार्वजनिक मतपरिणामअनुसार प्रत्यक्षतर्फ ५.४२ प्रतिशत मत बदर भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । उनका अनुसार समानुपातिकतर्फ ३.९३ प्रतिशत मत बदर भएको छ ।
२८९० उम्मेदवार र ५७ दलको धरौटी जफत
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणामअनुसार दुई हजार ८९० उम्मेदवारको जमानत जफत भएको छ । आयोगका अनुसार ३५० उम्मेदवारले शून्य मत पाएका छन् । ५१६ जनाले जमानत जोगाएका छन् । निर्वाचनमा तीन हजार ४०५ उम्मेदवारले भाग लिएका थिए । प्रत्यक्षतर्फ निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । समानुपातिकतर्फ एक सिट प्राप्त नगर्ने दलको पनि धरौटी जफत हुन्छ । समानुपातिकमा भाग लिएका ६३ दलमध्ये ५७ दलको धरौटी जफत भएको छ ।
६ दलको समानुपातिक मत
०७९ मा सात दलले थ्रेसहोल्ड कटाएकोमा यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ६ दलले मात्र थ्रेस होल्ड कटाएका छन् । ०७९ मा थ्रेसहोल्ट कटाएका जसपा र जनमतले यसपटक भने कटाउन सकेनन् । चुनाव घोषणापछि खुलेको श्रम संस्कृति पार्टीले थ्रेस होल्ड कटाएको छ ।
रास्वपाले ५१ लाख ८१ हजार ३३० मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ५८ हजार ९०३, एमालेले १४ लाख ५५ हजार ६६९, नेकपाले ८ लाख ११ हजार ३९३, श्रम संस्कृतिले तीन लाख ८५ हजार ८५२, राप्रपाले तीन लाख ३० हजार ६४९ मत प्राप्त गरेको छ ।
प्रदेशगत हेर्दा कोशीमा रास्वपाले ८ लाख ५३ हजार १८३, श्रम संस्कृति दुई लाख ९२ हजार ४९, कांग्रेस दुई लाख ९० हजार ५६२, एमाले दुई लाख ८८ हजार १८६, नेकपा ९७ हजार ६७९ र राप्रपाले ६२ हजार ८९९ मत पाएको छ ।
मधेशमा रास्वपाले १३ लाख ४६८ मत पाएको छ । कांग्रेस दुई लाख ८७ हजार ३२३, एमाले एक लाख ८७ हजार ९०१, नेकपा एक लाख सात हजार ६१२, राप्रपा ३५ हजार ६२४ र श्रम संस्कृतिले नौ हजार ८५४ मत प्राप्त गरेको छ ।
यस्तै, बागमतीमा रास्वपा ११ लाख १९ हजार २७०, कांग्रेस तीन लाख २१ हजार १०६, एमाले दुई लाख ६१ हजार ८९७, नेकपा एक लाख ८८ हजार १८२, रापपा ७६ हजार ५२१, श्रम संस्कृति ३१ हजार ४९३ मत प्राप्त गरेको छ ।
गण्डकीमा रास्वपा पाँच लाख २५ हजार ६३५, कांग्रेस दुई लाख सात हजार ३८७, एमाले एक लाख ५२ हजार ५८७, नेकपा ५७ हजार ८७६, राप्रपा २३ हजार ५५६, श्रम संस्कृतिले १८ हजार ९९५ मत प्राप्त गरेको छ ।
लुम्बिनीमा रास्वपा नौ लाख ३३ हजार ३५२, कांग्रेस तीन लाख २८ हजार ७१९, एमाले दुई लाख ९६ हजार ५४२, नेकपा एक लाख ५५ हजार २४२, राप्रपा ८० हजार ४८, श्रम संस्कृति २३ हजार ५०३ मत प्राप्त गरेको छ ।
कर्णालीमा कांग्रेस एक लाख ४१ हजार २३३, रास्वपा एक लाख ३३ हजार ७४९, एमाले एक लाख २० हजार ८६३, नेकपा एक लाख सात हजार १०१, राप्रपा १५ हजार ७५५, श्रम संस्कृति चार हजार ६५७ मत प्राप्त गरेको छ ।
सुदूरपश्चिममा रास्वपा तीन लाख १७ हजार ८३६, कांग्रेस एक लाख ८२ हजार ८४२, एमाले एक लाख ४७ हजार ९०९, नेकपा ९७ हजार ८८५, राप्रपा ३६ हजार २६३, श्रम संस्कृति ५ हजार ३०५ मत प्राप्त गरेको छ ।
०७९ मा दलहरूको समानुपातिक मत
एमालेले सबैभन्दा धेरै २७ लाख ९१ हजार ७३४ मत प्राप्त गरेको थियो । प्रत्यक्षतर्फ ४५ सिट प्राप्त गरेको थियो । समानुपातिकमा ३४ गरी ७८ सिट ल्याएको थियो ।
कांग्रेसले २६ लाख ६६ हजार २६२ मत प्राप्त गरेको थियो । प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गरेको थियो । समानुपातिकतर्फ ३२ सिट हासिल गरी कुल ८९ सिट ल्याएको थियो ।
माओवादी (नेकपा)ले ११ लाख ६२ हजार ९३१ मत प्राप्त गरेको थियो । माओवादीले प्रत्यक्षमा १८ सिट ल्याएको थियो । समानुपातिकमा १४ सिटसहित माओवादी केन्द्रले ३२ सिट ल्याएको थियो । एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट ल्याएको थियो । एकीकृत समाजवादी दुई लाख ९४ हजार ४११ मत ल्याए पनि थ्रेसहोल्ड कटाएन ।
रास्वपाले ११ लाख २४ हजार ५५७ मत प्राप्त गरेको थियो । प्रत्यक्षमा सात सिट प्राप्त गरेको थियो । समानुपातिकमा १३ सिट हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले कुल २० सिट ल्याएको थियो ।
०७९ मा प्रत्यक्ष र समानुपातिकमा समान ७/७ सिट जितेको राप्रपा १४ सिटसहित पाँचौँ दल बनेको थियो । राप्रपाले पाँच लाख ८६ हजार ६५९ मत प्राप्त गरेको थियो ।
प्रत्यक्षमा सात र समानुपातिकमा पाँच सिट हासिल गरेको जसपा १२ सिटसहित छैटौँ दल बनेको थियो । जसपाले चार लाख २० हजार ९४६ मत प्राप्त गरेको थियो ।
तीन लाख ९४ हजार ५२३ मत पाएको जनमत पार्टीले प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ पाँच सिट जितेको थियो ।
१० चैत्रभित्र नयाँ सरकार
प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक कोर्स नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्रक्रिया पूरा गर्दा १० चैत्रसम्म नयाँ सरकार गठन हुने देखिएको छ । मतपरिणामको अन्तिम नतिजासहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठन प्रक्रिया आरम्भ हुने आयोगका अधिकारीले बताएका छन् ।
आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार आयोगले बिहीबार दलहरूलाई प्राप्त समानुपातिक सिटमा निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बन्दसूचीबाट छान्न पत्राचार गर्दै छ । बन्दसूचीबाट नाम छान्न दलहरूलाई तीन दिन दिइनेछ । दलहरूले पठाएको उम्मेदवार मिले, नमिलेको हेरेर निर्वाचित गरी आयोगले दुई दिनभित्र प्रमाणपत्र दिनेछ ।
प्रवक्ता भट्टराईले आयोगले ५ चैतभित्र राष्ट्रपतिलाई प्रतिवेदन दिने लक्ष्यसहित काम गरिरहेको बताएका छन् । उनका अनुसार केही प्राविधिक तयारी नसकिए एक–दुई दिन ढिलो पनि हुन सक्छ । ‘तर, चैत पहिलो साताभित्रै प्रतिवेदन बुझाउने तयारी छ,’ उनले भने ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रपतिले अन्तिम मतपरिणाम प्रतिवेदन प्राप्त गरेपछि औपचारिक रूपमा सरकार गठन आह्वान गर्छन् । मतपरिणाम प्रतिवेदन संसद् सचिवालयमा पठाउँछन् । राष्ट्रपतिले बहुमत प्राप्त दललाई सरकार गठनको आह्वान गर्छन् । रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चुनेर दाबी गर्नुपर्छ । बहुमत प्राप्त दलको नेताका रूपमा राष्ट्रपतिले बालेनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेपछि नयाँ सरकार गठन हुनेछ । ‘ढिलोमा १० वैशाखभित्र देशले नयाँ सरकार पाउने देखिन्छ,’ संसद् सचिवालय प्रवक्ता गिरी भन्छन् ।
उनका अनुसार निर्वाचन मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मन्त्रिपरिषद्ले संसद् अधिवेशन आह्वान सिफारिस गर्छ । राष्ट्रपतिबाट आह्वान भएर बैठक बस्छ । सरकार बैठक बस्नुअघि र पछाडि गठन हुन सक्छ ।
बैठक बस्नुअघि संसद् सचिवालयले निर्वाचित सदस्यहरूलाई शपथ गराउँछ । निर्वाचित ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिन्छन् । ज्येष्ठ सदस्यबाट अन्य सदस्यले शपथ लिन्छन् । ‘प्रतिनिधिसभाले सरकार बनाउनेभन्दा पनि बनेको सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भन्ने संविधानको व्यवस्था हो,’ गिरीले भने ।