आँप फुलेपछि भित्री मधेशका किसानहरू उत्साहित

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

उदयपुरको भित्री मधेशमा आँप फुलेपछि किसानहरू उत्साहित भएका छन् । जिल्लाका भित्री मधेशमा पर्ने चुरेका फेदीका गाउँहरूमा लगाइएका आँपका बोटहरूमा ढकमक्क फूल फुलेका छन् । स्थानीय किसानहरूले यस वर्षको फुलेको आँप देखेर खुसी व्यक्त गरेका छन् ।

अघिल्ला वर्षहरूमा रोग, किरा र प्रतिकूल मौसमका कारण आँपमा राम्रोसँग फूल नलाग्ने समस्या देखिन्थ्यो । तर, यस वर्ष मौसम सन्तुलित रहेकाले बोटहरूमा प्रशस्त फूल लागेको किसानहरूको भनाइ छ । उदयपुरको कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका, त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकाका चुरे फेदी गाउँहरूमा आँप खेती हुने गरेको छ । यहाँ घरायसी र व्यावसायिक दुवै रूपमा आँपखेती हुँदै आएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका तथ्यांकअनुसार झन्डै आठ सय हेक्टरमा आँपखेती हुने गरेको छ । यस वर्ष धेरै बोटमा एकैपटक मञ्जरी लागेपछि किसानहरूले राम्रो उत्पादन हुने आशा गरेका छन् । स्थानीय कृषकहरूको भनाइअनुसार फूल राम्रोसँग लाग्दा फल उत्पादन पनि बढ्ने सम्भावना हुन्छ । यसले किसानको आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । वार्षिक रूपमा करिब एक हजार पाँच सय मेट्रिक टनभन्दा बढी उत्पादन हुने गरेको छ ।

उदयपुरमा खेती गरिने प्रमुख आँप जातमा मालदह, बम्बई, कलकत्तिया, दसहरी र स्थानीय जात समावेश छन् । यहाँ उत्पादन हुने आँप फत्तेपुर, बेल्टार, गाईघाट र धरान हुँदै काठमाडौंसम्म पुग्ने गरेको छ ।
 

सुझावित समाचार