खामेनीको छोरा मोजतबा बने इरानका नयाँ सर्वोच्च नेता

पिता सर्वोच्च नेता रहँदा दशकौँसम्म उनको भित्री घेरामा रहेर मोजतबाले शक्तिशाली सैन्यबल रिभोलुसनरी गार्डसँग गहिरो सम्बन्ध विकास गरे

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा सुरु गरेको युद्धको पहिलो दिनमै मारिएका आयतोल्लाह अली खामेनीका माइला छोरा मोजतबा खामेनी देशका नयाँ सर्वोच्च नेताको रूपमा चयन गरिएका छन् । ५६ वर्षीय मोजतबा कट्टरपन्थी मानिन्छन् । उनका पितासँगै आक्रमणमा मोजतबाकी आमा, श्रीमती र उनकी एक बहिनी पनि मारिएका थिए । तथापि, मोजतबा अहिलेसम्म इरानको तीव्र बमबारीमा बच्दै आएका छन् । 

इरानको सर्वोच्च नेता चयन गर्ने ८८ सदस्यीय धर्मगुरुहरू सहभागी ‘विशेषज्ञ सभा’ले आम इरानीलाई मोजतबाप्रति समर्थन व्यक्त गर्दै देशको एकता कायम राख्न आह्वान गरेको छ । आइतबार इरानको सरकारी मिडियामा प्रसारित एक विज्ञप्तिमार्फत सभाले ‘मोजतबा खामेनीलाई ‘निर्णायक मत’का आधारमा चयन गरिएको’ भनेको छ । सोही विज्ञप्तिमा इरानीहरू, अझ ‘विशेष गरी मदरसा र विश्वविद्यालयका सम्भ्रान्त वर्ग र बुद्धिजीवीलाई वर्तमान नेतृत्वप्रति निष्ठा राख्न र एकता कायम राख्न’ आग्रह गरिएको छ । मोजतबाले विगतमा कहिल्यै पनि कुनै सार्वजनिक पदधारण गरेका वा उम्मेदवारी दिएका छैनन् । 

शनिबार मारिएका पिता खामेनी भने आठ वर्ष राष्ट्रपति र त्यसपछि ३६ वर्षसम्म सम्पूर्ण शक्ति अभ्यास गर्ने सर्वोच्च नेता रहे । पिता सर्वोच्च नेता रहँदा दशकौँसम्म मोजतबाले उनको भित्री घेरामा रहेर काम गरे । यस अवधिमा उनले देशको शक्तिशाली अर्धसैनिक सुरक्षा बल ‘इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी)’सँग गहिरो सम्बन्ध विकास गर्दै आफूलाई निकै प्रभावशाली व्यक्तित्व सावित गरे । 

फेब्रुअरी २८ को आक्रमणमा पिता मारिनुअघिदेखि नै उनलाई भावी सर्वोच्च नेताको सबैभन्दा बलियो प्रतिस्पर्धीका रूपमा हेरिन्थ्यो । मोजतबा इरानका कट्टरपन्थी समूहका नेता हुन् । सर्वाेच्च नेतामा उनको चयन इरानको संस्थापनमा कट्टरपन्थी गुट हाबी रहेको स्पष्ट संकेत हो । यसले इरानले जारी युद्ध रोक्न कुनै खालको सम्झौता गर्ला वा त्यसका लागि वार्तामा बस्ला भन्ने सम्भावनालाई कमजोर देखाउँछ । उसो त पिता सर्वोच्च नेता रहेसम्म मोजतबा खामेनीले उत्तराधिकारको विषयमा कहिल्यै पनि सार्वजनिक रूपमा छलफल गरेनन् । सम्भवतः शान्तिपूर्ण अवस्थामा पितापछि पुत्र सर्वोच्च नेता हुने चर्चाले सन् १९७९ को इस्लामिक क्रान्तिअघि देशमा कायम पह्लवी राजतन्त्रको अभ्यासको सम्झना दिलाउने र विरोध हुने डर हुनुपर्छ । पिताको कार्यकालभरि मोजतबाले धेरै हदसम्म आफूलाई ‘न्यून प्रोफाइल’मा राख्दै प्रायः सार्वजनिक व्याख्यान, शुक्रबारको धार्मिक प्रवचन वा राजनीतिक सम्बोधन दिएनन् । यसैकारणले धेरै इरानीले उनको आवाजसमेत सुनेका छैनन् । 

मोजतबा इरानका कट्टरपन्थी समूहका नेता हुन् । सर्वाेच्च नेतामा उनको चयन इरानको संस्थापनमा कट्टरपन्थी गुट हाबी रहेको स्पष्ट संकेत हो । यसले इरानले जारी युद्ध रोक्न कुनै खालको सम्झौता गर्ला वा त्यसका लागि वार्तामा बस्ला भन्ने सम्भावनालाई कमजोर देखाउँछ ।

आरोपहरू
लगभग दुई दशकदेखि, देशभित्र र बाहिरका विरोधीले मोजतबाको नामलाई इरानमा हुने प्रदर्शनकारीमाथि हुने हिंसात्मक दमनसँग जोड्दै आएका छन् । इस्लामिक गणतन्त्र इरानभित्रको सुधारवादी शिविरले पहिलोपटक सन् २००९ मा उनीमाथि चुनावी धाँधली गरेको र लगत्तै उठेको हरित आन्दोलन दबाउन रिभोलुस्नरी गार्डअन्तर्गतको बासिज फौज प्रयोग गरेको आरोप लगाएका थिए । 

त्यस वर्षको राष्ट्रपतीय निर्वाचनमा महमुद अहमदिनेजाद विवादास्पद मतदानमार्फत राष्ट्रपतिको रूपमा पुनः निर्वाचित भएका थिए । लगत्तै सुधारवादी नेताहरूले चुनावमा धाँधली भएको मुद्दामा ठुलो विरोध प्रदर्शनको नेतृत्व गरे । 

त्यसयता बासिज फौज हरेकपटक उठ्ने देशव्यापी विरोध प्रदर्शन दबाउन प्रयोग हुने गरेको छ । पछिल्लोपटक दुई महिनाअघि संस्थापनविरुद्ध उठेको विशाल प्रदर्शन दबाउन पनि सोही बल प्रयोग गरिएको थियो । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय मानव अधिकार संगठनले त्यस आन्दोलन दबाउने क्रममा हजारौँ मानिसलाई सरकारी फौजले मारेको बताइरहेका छन् । त्यस क्रममा सबैभन्दा ठुलो दमन जनवरी ८ र ९ को रातमा भएको तिनले औँल्याएका छन् । दिवंगत सर्वोच्च नेता अली खामेनी र संस्थापनले भने त्यस अवधिमा भएको अभूतपूर्व हत्याका लागि अमेरिका र इजरायलद्वारा प्रशिक्षित र वित्तपोषित ‘आतंकवादी’ र ‘दंगाकारी’ जिम्मेवार भएको बताएका छन् । तथापि, यस्तो दाबी नयाँ भने होइन, तिनले हरेकपटक संस्थापनविरोधी प्रदर्शनमाथि त्यस्तै आरोप लगाउने गरेका छन् । 

मध्यम श्रेणीका धर्मगुरु
मोजतबा खामेनीले युवाकालमै देशको वास्तविक शक्तिमध्ये एक रिभोलुसनरी गार्डभित्र घनिष्ठ सम्बन्ध विकास गर्न सुरु गरेका थिए । सन् १९८० को दशकमा भएको ‘इरान–इराक युद्ध’को समयमा उनले विभिन्न सैन्य अप्रेसनका क्रममा सेनाको हबिब बटालियनमा सेवा गरेका थिए । उनका धेरै साथी, अन्य धर्मगुरुले त्यतिवेला तत्कालीन नवगठित इस्लामिक गणतन्त्रको सुरक्षा र गुप्तचर निकायका प्रमुख पद प्राप्त गर्न सफल भएका थिए । 

पश्चिमी सञ्चार माध्यममा प्रकाशित रिपोर्टअनुसार, अमेरिका र पश्चिमी प्रतिबन्धमा परेका खामेनीले धेरै देशमा सम्पत्ति जोडेर आर्थिक साम्राज्य पनि खडा गरेका छन् । कुनै कथित लेनदेनमा उनको नाम देखा नपरेको भए इरानी संस्थापनसँग सम्बन्धित आन्तरिक व्यक्ति र सहयोगीको सञ्जालमार्फत उनले वर्षौं लगाएर अर्बौं डलर रकम विदेश सारेको बताइन्छ । जस्तो, एक रिपोर्टमा अमेरिकी मिडिया ब्लुमबर्गले खामेनीलाई अली अन्सारीसँग जोडेको छ । 

गत वर्ष अन्सारीको बैंक ‘अयन्देह’लाई सरकारले बलपूर्वक विघटन गरेपछि उनी चर्चामा थिए । त्यतिवेला नाम नखुलेका आन्तरिक व्यक्तिलाई ऋण दिएको र ठुलो ऋण जम्मा गरेको कुरा बाहिर आएको थियो । सो बैंकको विघटनले इरानको पहिले नै उच्च रहेको मुद्रास्फीतिलाई थप बढाउँदा कैयाँै इरानीलाई जीविकोपार्जन गर्न थप कठिन भएको थियो । मोजतबा र अन्सारी दुवैले सार्वजनिक रूपमा आफूहरूबिचको सम्बन्धबारे उठेको प्रश्न र आरोपबारे टिप्पणी गरेका छैनन् । तिनको सम्पत्तिमा युरोपेली देशमा महँगो घरजग्गासमेत रहेको बताइन्छ । 

खामेनीको धार्मिक हैसियतमा पनि विवादको विषय हो । उनी सर्वोच्च नेताका लागि आवश्यक मानिने उच्चपदस्थ ‘आयतोल्लाह’ नभई मध्यमस्तरीय धार्मिक गुरु ‘हुज्त अल–इस्लाम’ मात्र हुन् । तथापि, सन् १९८९ मा देशको सर्वोच्च नेता बन्दा उनका पिता पनि आयतोल्लाह थिएनन्, पछि मात्र उनले सो स्थान हासिल गरे । त्यसलाई समायोजन गर्न त्यतिवेला सर्वोच्च नेता ‘आयतोल्लाह’ हुनुपर्ने कानुन संशोधन गरिएको थियो । मोजतबाको लागि पनि त्यस्तै खालको कुनै सम्झौता गरिन सक्छ । अब इरानका यी नवनियुक्त नेताले अमेरिका र इजरायलको तीव्र बमबारी भोगिरहेको देश र देशवासीमा एकता तथा आत्मविश्वासको भाव विकास गर्न सक्छन् कि सक्दैन, त्यो हेर्न बाँकी छ । 
– अलजजिराबाट
 

सुझावित समाचार