धेरैजसो शीर्ष नेता जोखिममा

कांग्रेस, एमाले र नेकपाका अधिकांश ठुला नेता मतगणनामा पछाडि, मधेशी र राप्रपालाई प्रत्यक्षमा अस्तित्व जोगाउनै संकट

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

मतगणनामा स्थापित दलका शीर्ष नेताहरू नै संकटमा परेका छन् । राति १ बजेसम्मको मतपरिणामअनुसार प्रमुख दलका प्रभावशाली नेताहरू आफ्नै निर्वाचन क्षेत्रमा ठुलो मतान्तरले पछि पर्दै पराजयको जोखिममा पुगेका छन् । केही क्षेत्रमा उनीहरू तेस्रो वा चौथो स्थानसम्म खस्किएका छन् । नेकपा संयोजक प्रचण्ड भने रुकुम पूर्वबाट विजयी भएका छन् ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली झापा ५ मा १४ हजार ४०१ मतान्तरले पछि छन् । कांग्रेस सभापति गगन थापा सर्लाही ४ मा रास्वपा उम्मेदवारभन्दा २५ सय ९३ मतले पछाडि छन् । यस्तै, एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २ मा २५ हजार ३३९ मतान्तरले पछि छन् । पूर्वउपमहासचिव प्रदीप ज्ञवाली गुल्मी १ मा ६ हजार ६४२ मतले पछाडि छन् । एमाले उपमहासचिव रघुवीर महासेठ धनुषा ४ मा चार हजार मतले पछाडि छन् । उनी तेस्रो स्थानमा छन् । 

एमाले महासचिव शंकर पोखरेल दाङ २ मा ५ हजार ३५२ मतले रास्वपा उम्मेदवारसँग पछि परेका छन् । एमाले वरिष्ठ नेता ईश्वर पोखरेल काठमाडौं ५ मा २३ हजार ३०५ मतान्तरले तेस्रो स्थानमा छन् । राप्रपा नेता कमल थापा ५ मै २५ हजार ७४८ मतले पछि पर्दै चौथो स्थानमा छन् । कांग्रेस महामन्त्री प्रदीप पौडेल काठमाडौं ५ मा रास्वपा उम्मेदवारसँग १९ हजार २६६ मतले पछाडि छन् । 

सर्लाही ३ मा नेकपाका नेता नारायणकाजी श्रेष्ठ ९ हजार ४१७ मतान्तरले पछाडि छन् । सर्लाही २ मा महिन्द्र राय यादव ९ हजार ४२५ मतले दोस्रो स्थानमा र राष्ट्रिय मुक्ति नेपालका अध्यक्ष राजेन्द्र महतो ११ हजार १७५ मतान्तरले पछि छन् । 

सप्तरी २ मा जनमत अध्यक्ष सिके राउत रास्वपा उम्मेदवारसँग १५ सय २८ मतले पछाडि छन् । सप्तरी ३ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव रास्वपा उम्मेदवारसँग ९४८ मतले पछाडि छन् । 

झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ७ हजार ५४९ मतले रास्वपा उम्मेदवारसँग पछि परेका छन् । रौतहट १ मा नेकपा नेता माधव नेपाल रास्वपा उम्मेदवारसँग ५ हजार ६६४ मतले पछि परेका छन् । उनी तेस्रो स्थानमा छन् । 

कांग्रेसबाट टिकट लिएका अनिल झा पनि ५ हजार ८८८ मतान्तरले चौथो नम्बरमा छन् । 

नेकपाकै राजेन्द्र पाण्डे ७ हजार ६७३ मतान्तरले धादिङ १ मा तेस्रो स्थानमा छन् । महोत्तरी २ मा जसपा नेपालका शरत्सिंह भण्डारी ५ हजार ८७८ मतान्तरले रास्वपा उम्मेदवारभन्दा पछि परेका छन् । 

सुझावित समाचार