विगतका निर्वाचनमा झैँ यसपटक पनि सामुदायिक विद्यालयहरूमै अधिकांश मतदानस्थल बनाइएका छन् । मतदानका लागि उपयुक्त संरचना विद्यालयमै हुने भएकाले मतदानस्थल बनाइएको हो ।
विद्यालयबाहेक वडा तथा अन्य सरकारी कार्यालयलाई पनि मतदानस्थल बनाउने गरिन्छ । तर, विद्यालयमा फराकिलो ठाउँ र पायक पर्ने भएकाले अधिकांश मतदानस्थल विद्यालयमै बनाइएको छ ।
देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ केन्द्र छन् । तीमध्ये झन्डै आधा मतदानस्थल विद्यालय नै भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे निर्वाचनका लागि विद्यालयको संरचना र वातावरण उचित मानिएकाले अधिकांश ठाउँमा विद्यालयलाई नै मतदानस्थल बनाइएको बताउँछन् ।
‘ठ्याक्कै कति विद्यालयलाई मतदानस्थल बनाइएको छ भन्ने तथ्यांक छुट्याएका त छैनौँ, तर, विद्यालय संरचना खुला तथा फराकिलो स्थानमा भएकाले अधिकांश विद्यालयलाई नै मतदानस्थल बनाइएको छ,’ उनले भने, ‘निर्वाचन अवधिभर पठनपाठन बन्द हुने भएकोले विद्यालयलाई मतदानस्थल बनाइएको हो । मतदानकै दिन मतपेटीका मतगणनास्थलमा लैजाने भएकोले शुक्रबारदेखि नै विद्यालय खाली हुनेछन् ।’ निर्वाचनमा प्रयोग गरेकै कारण विद्यालयमा पठनपाठन र शैक्षिक क्रियाकलापमा असर नपर्ने पनि आयोगले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार काठमाडौंका १० निर्वाचन केन्द्रमा मात्रै करिब दुई सय जति विद्यालयलाई मतदानस्थल बनाइएको छ । त्यस्तै, ललितपुुरका तीन निर्वाचन क्षेत्रका लागि करिब एक सय विद्यालयलाई मतदानस्थल बनाइएको छ । ललितपुरका कोन्ज्योसो, महांकाल र बागमती गाउँपालिकामा त सबैजसो निर्वाचनस्थल विद्यालय नै छन् । त्यस्तै, दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा पनि ४८ विद्यालयलाई मतदानस्थलका रुपमा प्रयोग गरिएको छ ।