- मध्यपूर्वी एसियामा युद्धका कारण एयरस्पेस बन्द हुँदा सबैजसो अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका छन् । यही रुट भएर जिम्बावे र वेस्ट इन्डिज घर फर्किनुपर्ने थियो ।
१०औँ आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर ८ को समूह चरणबाट बाहिरिएका वेस्ट इन्डिज र जिम्बावेका खेलाडीहरू भारतमै अड्किएका छन् । इरान र इजरायलबिचको बढ्दो युद्धका कारण उनीहरू तत्कालै स्वदेश फर्कन नसकेका हुन् । युद्धका कारण पश्चिम एसियाको एयरस्पेस बन्द भएपछि सबैजसो अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । जिम्बाब्वे र वेस्टइन्डिजका खेलाडीहरू मध्यपूर्व हुँदै स्वदेश फर्किनुपर्ने तालिका थियो । तर, मध्यपूर्वी एसियामा युद्ध चलिरहँदा अन्तर्राष्ट्रिय हवाई उडान रद्द छन् । खेलाडीहरू भारतका होटेलमै सुरक्षित रूपमा बसिरहेका छन् ।
वेस्ट इन्डिज र जिम्बावे सुपर ८ को समूह ‘१’ मा थिए । जिम्बावेले समूहमा सबै खेल गुमाउँदै सुरुमै बाहिरिएको थियो । वेस्ट इन्डिज भने आयोजक भारतसँग पराजित हुँदा सेमिफाइनल दौडबाट बाहिरियो । टी–२० विश्वकपमा यसपटक जिम्बावेले समूह चरणमा अप्रत्याशित नतिजा निकालेको थियो । जिम्बावे पूर्वविजेता अस्ट्रेलिया र श्रीलंकामाथि सनसनी जित निकाल्यो । जिम्बावेसँग पराजित हुँदा अस्ट्रेलिया सुपर ८ मा पुग्न सकेन । श्रीलंका भने आफ्नो समूहको उपविजेता हुँदा जिम्बावे विजेता बनेको थियो । क्रिकेट वेस्ट इन्डिजले मध्यपूर्वमा सैन्य गतिविधि र सुरक्षा जोखिम बढेकाले अन्तर्राष्ट्रिय उडान मार्ग परिवर्तन तथा रद्द गरिएको जनाएको छ । ‘खेलाडी र कोचिङ स्टाफको सुरक्षालाई ध्यानमा राखेर यात्रा स्थगित गरिएको हो,’ बोर्डले भनेको छ ‘हामी आइसिसी र सम्बन्धित सरकारहरूसँग समन्वय गरेर सुरक्षित फिर्तीको विकल्प खोजिरहेका छौँ ।’ जिम्बावे टोली ४ मार्चसम्म नयाँदिल्लीको होटेलमै रहनेछ ।
मुख्य मार्ग दुबई बन्द भएपछि समस्या
गत आइतबार सुपर ८ अन्तर्गत समूह ‘१’ मा जिम्बावेले दक्षिण अफ्रिकाविरुद्ध अन्तिम खेलमा प्रतिस्पर्धा गरेको थियो । खेल सकिएलगत्तै जिम्बावेली खेलाडी सोमबार बिहान ४:३० बजे प्रस्थान गर्ने तालिका थियो । जिम्बावे टोलीको हवाई तालिका दिल्ली–दुबई–हरारे मार्ग हुँदै तय गरिएको थियो ।
यसैबिचमा मध्यपूर्वी एसियामा अमेरिकाले इरानमाथि आक्रमण गरेपछि तनाव उत्पन्न भयो । इरानले पनि आफ्नो सर्वोच्च नेता मारिएको प्रतिशोध लिन इजरायलसँगै दुबईमा आक्रमण थाल्यो । जसका कारण दुबईको एयरस्पेस बन्द भयो । त्यसपछि जिम्बावे र वेस्ट इन्डिजका खेलाडीहरू भारतमै रोकिन बाध्य भएको भारतीय एजेन्सीले जनाएको छ । वेस्ट इन्डिज टोली कोलकाताको होटेलमा छ । वेस्ट इन्डिजले आफ्नो अन्तिम खेल भारतसँग कोलकाताको इर्डन गार्डेनमा खेलेको थियो । जिम्बावे र वेस्ट इन्डिजले दधक्षिण एसियाको भ्रमण गर्दा मध्यपूर्वी एसियाकै हवाई रुट लिने गरेका छन् ।
श्रीलंकन एयरबाट पाकिस्तान टोली फर्कियो
सुपर ८ को समूह ‘२’ बाट बाहिरिएको पाकिस्तान टोली लाहोर फर्किसकेको छ । कोलम्बोमा अन्तिम खेल खेलेको पाकिस्तान श्रीलंकन एयरलाइन्सको उडानमार्फत कोलम्बो हुँदै लाहोर पुगेको जनाएको छ । आइसिसीले धेरै खेलाडी तथा सपोर्ट स्टाफका कनेक्टिङ उडान दुबईमार्फत हुने भएकाले समस्या उत्पन्न भएको जनाएको छ । यसका लागि आइसिसीले छुट्टै ‘ट्राभल सपोर्ट डेस्क’ पनि सक्रिय बनाएको छ । अहिले विश्वकपको सेमिफाइनल खेल बुधबारदेखि सुरु हुँदै छ । दक्षिण अफ्रिका, भारत, इंग्ल्यान्ड र न्युजिल्यान्डले फाइनल प्रवेश खेल खेल्दै छन् ।