चितवन पुगेर बालेनले भने– कृषिदेखि उद्योगसम्म सुधार आवश्यक

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कृषि क्षेत्रदेखि उद्योगसम्म सुधारको आवश्यकता रहेको बताएका छन्। शाहले कृषि, उद्योग, पर्यटन र राष्ट्रिय एकताका विषय उठाउँदै फागुन २१ मा हुने निर्वाचनमा परिवर्तनका लागि ‘घन्टी’मा मतदान गर्न आग्रह गरे।

चितवनमा शुक्रबार भएको सभामा बोल्दै शाहले किसानले उचित मूल्य नपाउँदा दुध र तरकारी सडकमा फाल्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै बिचौलियाहरूको सिन्डिकेट र विदेशबाट अनुदानमा आउने सस्तो तरकारीका कारण नेपाली किसान मर्कामा परेको बताए। उत्पादन गर्ने किसान र उपभोक्ताबिचको दूरी कम गर्न नीतिगत सुधार आवश्यक रहेको उनले जोड दिए।

नेपालमा वर्षायाममा खेर जाने विद्युत् ऊर्जाको सदुपयोग गर्दै देशैभर शीतभण्डार निर्माण गर्नुपर्नेमा उनको जोड थियो। सिजनमा सस्तो हुने तरकारी भण्डारण गरेर अभावका वेला बिक्री गर्न सकिने व्यवस्था भए किसान र उपभोक्ता दुवैलाई लाभ पुग्ने उनले बताए। ‘बिजुली खेर जाने होइन, उत्पादन र भण्डारणमा लगानी गर्नुपर्छ,’ उनले भने।

चितवनले देशलाई पर्यटन प्रवर्द्धनको पाठ सिकाउन सक्ने उल्लेख गर्दै शाहले यहाँको थारू समुदायको होमस्टे, संस्कृति र स्थानीय खानाको प्रशंसा गरे। तास, घोंगीजस्ता परिकार र स्थानीय परम्पराले पर्यटकको आकर्षण बढाएको उनको भनाइ थियो।

शाहले सरकारी उद्योगहरू मेसिन र जनशक्ति भएर पनि बन्द अवस्थामा रहनु दुःखद भएको बताए। हेटौँडा सिमेन्ट कारखानाजस्ता उद्योग सञ्चालनमा नआउनु राज्यको कमजोरी भएको टिप्पणी गर्दै उनले यस्ता उद्योगहरूलाई निजी क्षेत्रका सफल उद्योगहरूजस्तै व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने धारणा राखे।

देशका ४५–५० जिल्ला घुम्दा एउटा जिल्लाको समस्याको समाधान अर्को जिल्लामा भेटिएको अनुभव सुनाउँदै शाहले रास्वपाले समस्या र समाधानलाई जोड्ने दाबी गरे। ‘देश टुक्राटुक्रा समस्यामा होइन, एकीकृत समाधानमा अघि बढ्नुपर्छ,’ उनले भने।

सुझावित समाचार