रोकिएन सेयर बजारको ओरालो यात्रा

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

सेयर बजारको ओरालो यात्राले आइतबार पनि निरन्तरता पाएको छ। नेप्से परिसूचक २७.५९ अंकले घटेर दुई हजार ६१४.५५ विन्दुमा कायम भएको हो। यो १.०४ प्रतिशतको गिरावट हो।

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७२ प्रतिशतले ओरालो लागेको छ। आज कारोबार रकममा समेत गिरावट देखिएको छ। कारोबार रकम अघिल्लो दिनको आठ अर्ब २२ करोडबाट घटेर ६ अर्ब ६६ करोड ५९ लाख रुपैयाँमा झरेको हो। आइतबार एक करोड ५९ लाख ८९ हजार कित्ता सेयर ७२ हजारपटक खरिद–बिक्री भए।

आज नेप्सेका १३ वटै समूहको सूचक घटेका छन्। व्यापार समूह सर्वाधिक ३.६१ प्रतिशतले ओरालो लाग्दा विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत् र उत्पादन तथा प्रशोधन समूह एक प्रतिशतभन्दा धेरैले घटेको छ।

समग्रमा बजारका सबै सूचक घटे पनि आज सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी, रिलायन्स स्पिनिङ मिल्स र कालिका लघुवित्तका लगानीकर्ताले क्रमशः नौ र पाँच प्रतिशतभन्दा धेरै कमाएका छन्।

तर, बुद्धभूमि नेपाल हाइड्रो, रिडी पावर कम्पनी र आँखुखोला जलविद्युत् सर्वाधिक गुमाउनेमा परेका छन्। यी कम्पनी आठ प्रतिशतभन्दा धेरैले घटेका हुन्।

सुझावित समाचार