खोटाङको वराहपोखरी गाउँपालिका– ५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका– १, चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशीस्थित बंशिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबारबाट सञ्चालनमा आएको छ ।कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ५७ लाख लगानीमा जडान गरिएको अस्थायी बेलिब्रिजको लम्बाइ ५१ दशमलव ८१ मिटर छ । बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले एक करोड ८७ लाखमा खरिद गरेर पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेपछि निर्माण कम्पनीलाई प्रदान गरिएको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिएका छन् ।
लामो समयदेखि झोलुंगे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा ढिलै भए पनि बेलिब्रिज जडान भएपछि हर्षित भएका छन् । मोटरेबल पक्की पुलसमेत निर्माण भइरहेको बंशिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका वराहपोखरी र जन्तेढुंगा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिले संघीय सरकारसँग माग गरेका थिए । बेलिब्रिज जडानका लागि संघीय सरकारले बजेट उपलब्ध नगराएपछि प्रदेश सरकारको लगानीमा जडान गरेर सञ्चालन गरिएको वराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए ।
दक्षिणी क्षेत्रमा पर्ने तीनवटा स्थानीय तहका नागरिकलाई पूर्वी तराईसँग सीधा जोड्नका लागि सुनकोशीको धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले समेत पछिल्लो समयमा गति लिएको छ । ठेकेदारको लापरबाहीले लामो समयसम्म अलपत्र परेको धाप्लाङघाटको मोटरेबल पुल निर्माणको कामले केही समयअघिबाट गति लिएसँगै नागरिकमा आशा जगाएको छ ।