प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता : एकै चरणमा चुनावदेखि झापाको सुरक्षासम्मका विषयमा छलफल

शुक्रबार, २४ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचनको वातावरण अझै नबनेको भन्दै सरकारलाई दबाब दिँदै आएका एमाले अध्यक्ष केपी ओलीले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर तोकिएकै मितिमा एकै चरणमा मतदान हुनुपर्ने बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई घण्टा भएको छलफलमा ओलीले कुनै ठाउँमा निर्वाचन सरे वा रद्द हुने अवस्था भए लामो ग्याप नराख्न, मतदान सकिएलगत्तै मतगणना गर्न र सेनालाई ‘ब्याक फोर्स’का रूपमा मात्रै परिचालन गर्न पनि सुझाएका छन् । 

‘चुनाव एकै चरणमा होस्, ग्याप नहोस् भन्ने उहाँ (ओली)को कुरा थियो । कुनै कारणले ढिला भयो वा विभिन्न कारणले सार्नुपर्यो भने कुनै ठाउँमा रद्द गर्नुपर्दा लामो ग्याप नहोस्, मतदान सम्पन्न हुनासाथ तत्कालै गणना होस् र सेना ब्याक फोर्स भएकाले त्यही भूमिकामा रहोस् भन्ने उहाँको चासो थियो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले भने । 

जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा हुने र तोकिएको मितिभन्दा कुनै हालतमा तलमाथि नहुने स्पष्ट पारेकी थिइन् । ‘प्रधानमन्त्रीज्यूले निर्वाचन एकै चरणमा गर्छाैँ, कुनै पनि हालतमा तलमाथि हुँदैन भन्नुभयो,’ रावलले भने । छलफल सौहार्दपूर्ण भएको उनको भनाइ छ । 

भेटमा ओलीले आफू शुक्रबार झापा जान लागेको जानकारी पनि गराएका थिए । झापाको प्रसंग आएपछि प्रधानमन्त्री कार्कीले जिल्लामा शान्तिपूर्ण भूमिका खेलिदिन अनुरोध गरेकी थिइन् । ‘त्यहाँ (झापा ५ मा) शान्तिपूर्ण गरिदिनुस् । शान्तिपूर्ण गराउन तपाईंहरूको पनि भूमिका हुन्छ । शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरौँ । अहिले शान्त र राम्रो वातावरण बनेको छ । राज्यले पंक्तिभेद गर्दैन । जसरी हुन्छ चुनाव सम्पन्न गरौँ,’ उनले भनेकी थिइन्, ‘हाम्रोतर्फबाट कहीँ–कतै समस्या छैन । हाम्रा कमजोरी कहीँ छन् भने भनिदिनुस्, सच्याउँछौँ । यो आपत्कालीन अवस्थाको चुनाव हो, नियमित पनि होइन । त्यसकारण यो अध्यायलाई राम्रोसँग समापन गरेर देशलाई नयाँ अध्यायमा लान जिम्मेवारपूर्वक लागौँ । हाम्रो पुस्ताको त झन् दायित्व छ ।’ 

जवाफमा अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण वातावरणमा विश्वास गर्ने पार्टी भएकाले आचारसंहिता राम्रोसँग पालना गर्ने बताएका थिए । ‘एमाले ध्वंसमा विश्वास गर्दैन । बल प्रयोग गर्दैन । आचारसंहिता पूर्ण पालना गर्छ । मेरो क्षेत्रमा इतिहासमा कहिल्यै पनि धाँधली, बुथ क्याप्चर भएको छैन । एमालेबाट समस्या हुँदैन । एमाले अनुशासित छ । आचारसंहिता सबैभन्दा राम्रोसँग एमालेले पालना गरेको छ,’ उनले भनेका थिए । 

कार्की र ओलीबिच पुराना दिनका विषयमा अनौपचारिक, पारिवारिक र स्वास्थ्य अवस्थाबारे पनि भलाकुसारी भएको थियो । 
 

सुझावित समाचार