चालू आर्थिक वर्ष ०८२/८३ को ६ महिनामा अर्थतन्त्रको बाह्य क्षेत्रमा अधिक सुविधा कायम रहे पनि बढ्दो उपभोगले मुद्रास्फीतिमा (महँगीदर) चाप देखिन थालेको छ । बढ्दो उपभोगसँगै आयातमा भएको वृद्धिले महँगीदर पनि बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ले पुसमा मुद्रास्फीति २.४२ प्रतिशत रहेको छ । मंसिरमा यस्तो मुद्रा स्फिति १.६३ प्रतिशत र कात्तिकमा १.११ प्रतिशत थियो । भारतमा पनि मुद्रास्फीति बढ्दै गएकाले त्यसको असर नेपालमा देखिएको हो । भारतमा पुसमा १.३३ प्रतिशत, मंसिरमा ०.७१ प्रतिशत र कात्तिकमा ०.२५ प्रतिशतको मुद्रास्फीति भएको देखिन्छ । नेपालको आयात बजार भारतमै बढी निर्भर रहेकाले त्यहाँ हुने मुद्रास्फीतिले नेपाली बजार प्रत्यक्ष प्रभाव पार्छ ।
चालू आव ०८२/८३ कोे ६ महिनामा १४.२ प्रतिशतले आयात बढेको छ । साउनदेखि पुससम्म कुल वस्तु आयात नौ खर्ब ३९ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.१ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट हुने आयातमा ५.९ प्रतिशतले वृद्धि भएको छ भने चीनबाट २२.१ प्रतिशतले वृद्धि भएको छ ।
उपभोग बढ्दा यसले कर्जा विस्तारलाई पनि मलजल गरेको देखिन्छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत अर्थात् एक खर्ब ९७ अर्ब ४७ करोडले बढेर ५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ । यद्यपि, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने न्यून हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई खर्ब ६५ अर्ब ५६ करोड अर्थात् ५.२ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा ०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको छ ।
कर्जा विस्तारको तुलनामा निक्षेप संकलनको वृद्धिदर भने उच्च देखिन्छ । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ५.७ प्रतिशत अर्थात् चार खर्ब १७ अर्ब ४८ करोडले वृद्धि भई ७६ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.७ प्रतिशत अर्थात् दुई खर्ब ३९ अर्ब ६ करोडले बढेको थियो । वार्षिक विन्दुगत आधारमा ०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.८ प्रतिशतले बढेको छ ।
विदेशी मुद्रा सञ्चिति ३२ खर्ब ४२ अर्ब
उपभोग बढेर मुद्रास्फीतिमा चाप परे पनि देशको अर्थतन्त्रको बाह्य क्षेत्र भने अधिक सुविधाजनक अवस्थामै रहेको तथ्यांकले देखाएको छ । कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १७ करोड पुगेको छ । असारसम्म यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब रुपैयाँ थियो भने डलरमा १९ अर्ब ५० करोड थियो । अहिलेको सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
चालू खाता चार खर्ब २९ अर्ब ९१ करोडले बचतमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ६५ अर्ब ६७ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २३ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा तीन अर्ब तीन करोडले बचतमा छ ।
त्यस्तै, शोधनान्तर स्थिति पाँच खर्ब एक अर्ब २४ करोड बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा थियो । समीक्षा अवधिमा आठ अर्ब १७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४८ करोड थियो ।
रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशतले र अमेरिकी डलरमा ३२.३ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पुस महिनाको रेमिट्यान्स आप्रवाह एक खर्ब ९२ अर्ब ६२ करोड रहेको छ । ६ महिनामा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई सात अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।
यद्यपि, समीक्षा अवधिमा खुद सेवा आय भने ४१ अर्ब ५५ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २९ अर्ब ४७ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत भ्रमण खर्च ४.२ प्रतिशतले वृद्धि भई एक खर्ब पाँच अर्ब ५६ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको खर्च ६७ अर्ब ४७ करोड छ ।