नवलपुरमा १,७४२ जना निर्वाचन प्रहरी छनाेट

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

नवलपुर जिल्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक हजार ७४२ जना निर्वाचन प्रहरी छनाेट भएका छन् ।

यहाँ दुईपटक भएको छनाेट प्रक्रियाबाट उक्त संख्यामा निर्वाचन प्रहरी छनाेट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरबाट आवेदन दिएर उत्तीर्ण भएका एक हजार ५४३ जना र सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीमा आवेदन दिएर उत्तीर्ण भएका १९९ जना गरी एक हजार ७४२ जनालाई आइतबारबाट तालिम दिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । तालिमको आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको थियो ।

सशस्त्र प्रहरीबाट छनाेट भएकाहरूको सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीमा तालिम सुरु भएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट छनाेट भएका एक हजार ५४३ जनाको जिल्लाका पाँच स्थानमा प्रहरी निरीक्षकको नेतृत्वमा तालिम प्रदान गरिने खड्काले जानकारी दिए ।

खड्काका अनुसार तालिम १० दिनसम्म चल्नेछ । १० दिनको तालिमपछि उनीहरू निर्वाचन प्रहरीको रूपमा निर्वाचनको सुरक्षाका लागि खटिनेछन् ।

नवलपुर जिल्लाका लागि आवश्यक पर्ने निर्वाचन प्रहरी दुईपटक आवेदन खुलाई छनाेट गरिएको थियो ।

त्यसैगरी नवलपुर जिल्लाबाट वैकल्पिकमा परेकाहरूमध्ये २९० जनालाई स्याङ्जा जिल्लामा पठाइएको छ । स्याङ्जा जिल्लामा निर्वाचन प्रहरी कम भएपछि त्यहाँ पठाइएको खड्काले जानकारी दिए ।

सुझावित समाचार