नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा ५ मा पार्टी सुरक्षित रहेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा हुने प्रचारले केही हदसम्म प्रभाव पारे पनि झापा ५ मा पनि एमाले सुरक्षित रहेको पोखरेलको तर्क छ।
शुक्रबार च्यासलमा पत्रकार सम्मेलन गर्दै पोखरेलले राजनीतिक रूपमा जागरुक झापा ५ का मतदाताले लोकप्रियता र अराजकताको प्रभावमा निर्वाचन परिणामलाई तलमाथि नगर्ने जिकिर गरे।
‘झापा ५ का जनता राजनीतिक रूपमा जागरुक जनता हुन्। जसले पञ्चायतको विरुद्ध विद्रोहको शंखघोष गरे, त्यो ठाउँका जनता जसले हरेक लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरे, त्यो ठाउँका जनता पपुलिजम र एनार्किजमको प्रभावमा परेर परिणामलाई नै तलमाथि पार्न सक्छन् भन्ने मान्यता पार्टीको छैन,’ उनले भने।