- हजारौँ धर्मगुरु, सुरक्षा अधिकारी र टेक्नोक्रेटहरू दिनरात सैन्य, गुप्तचर, आर्थिक, न्यायिक र सांस्कृतिक क्षेत्रमा खामेनीको भूमिका बढाउन सक्रिय
इरानमा उठेको पछिल्लो विरोध प्रदर्शन चलिरहँदा पर्यवेक्षकमाझ एउटा परिचित बहस फेरि थियो, के इस्लामिक गणतन्त्र पतनको डिलमा पुगेको हो ? चर्किंदो महँगी, मुद्राको अवमूल्यन, एकपछि अर्को मजदुर हडताल र धर्मगुरुप्रतिको खुला अवज्ञाले शासन ढल्न सक्ने विश्लेषण तीव्र बनेको थियो । तर, इरानमा यसअघि बारम्बार उठेका प्रदर्शनजस्तै यसपटकको आन्दोलन पनि पश्चिमले चाहेजस्तो राजनीतिक परिवर्तनमा अनुवाद हुन असफल भएको छ । बरु यस पटक प्रदर्शनमाथि भएको हिंसात्मक कारबाहीमा हजारौँ मारिएको तथ्यांक बाहिरिइरहेका छन् ।
वर्तमान शासन व्यवस्था अत्यन्त अलोकप्रिय छ, त्यसविरुद्ध प्रदर्शन पनि उठ्ने गर्छ । त्यसका बाबजुद तेहरानको वर्तमान शासक कसरी टिकिरहेका छन् । यो बुझ्न इरानको वर्तमान इस्लामिक गणतन्त्रमा शक्तिले कसरी काम गर्छ भन्ने तथ्यमा ख्याल गर्नुपर्छ । इस्लामिक गणतन्त्र धार्मिक सैन्य प्रणाली हो, जो आज आयतोल्लाह अली खामेनी र उनको परिवार वरिपरि गोलबन्द छ । राज्यशक्ति आयतोल्लाहनजिकको वृत्तमा केन्द्रित छ, जसमा खामेनी, उनको परिवार र अन्य तीन तहको बलियो गठजोड छ ।
खामेनीको नेतृत्वलाई कठोरता, अनुशासन र गहिरो व्यक्तिगत उद्देश्यको भावनाद्वारा परिभाषित गरिएको छ । खामेनी केवल राजनीतिक केन्द्र मात्र होइनन्, इस्लामिक गणतन्त्रको संरक्षण गर्ने ईश्वरीय प्राधिकार पनि हुन् । सन् १९८९ मा सर्वोच्च नेताको पद ग्रहण गरेदेखि खामेनीले शासन प्रणालीलाई निरन्तर धार्मिक सैन्य राज्यमा रूपान्तरण गर्दै लगे । यसै रूपान्तरणकै कारण इरानको शासन टिक्न लोकप्रिय सहमतिभन्दा दमन बढी महत्वपूर्ण हुने गरेको छ । दमन कार्यान्वयनको लागि राज्यले अति संस्थागत तथा वैचारिक रूपमा प्रतिबद्ध दमनकारी उपकरण निर्माण गरिएको छ । यही संरचनात्मक वास्तविकताले नै इरानको राजनीतिक परिवर्तनको स्थिति निर्धारण गर्छ ।
खामेनीलाई केन्द्र बनाएर बनेको केन्द्रमा खामेनीका परिवार लगत्तै आउँछ, बेइत–ए रहबारी अर्थात् देशको सर्वोच्च नेताको कार्यालय । यो कार्यालय इस्लामिक गणतन्त्रको सबैभन्दा शक्तिशाली तर सबैभन्दा कम देखिने संस्था हो । व्यवहारत: इरानको वास्तविक कार्यकारी अधिकारको अभ्यास यही निकायले नै गर्छ । विगत तीन दशकको अवधिमा यस कार्यालय संविधान, संसद् र राष्ट्रपति पदभन्दा माथिको विशाल र अपारदर्शी समानान्तर राज्यसंयन्त्रको रूपमा विकसित भएको छ ।
खामेनीप्रति बफादार हजारौँ धर्मगुरु, सुरक्षा अधिकारी र वैचारिक टेक्नोक्रेटले भरिएको बेइतले सैन्य, गुप्तचर, आर्थिक, न्यायिक र सांस्कृतिक क्षेत्रमा गरिने निर्णयलाई आकार दिन्छ । खामेनीले यसै कार्यालयको समन्वयमा राज्यका विभिन्न निकायमा विश्वसनीय व्यक्ति पसाएर शासन गर्छन् । बेइत खामेनीको परिवार अझ विशेषत: उनका छोराहरूले आफ्नो शक्ति अभ्यास गर्ने मुख्य माध्यम पनि हो । बेइत अहिले खामेनीको शासनलाई जोगाउने र वर्तमान शासनविरुद्ध आउने धक्कालाई सोस्ने र अदृश्य रूपमा सञ्चालन हुने संयन्त्र बनेको छ ।
बेइटभन्दा ठिक बाहिरको तहमा धर्मगुरुहरूको ठुलो सञ्जाल छ, जसले प्रणालीलाई धार्मिक वैधता प्रदान गर्छ । धार्मिकस्थलमा शुक्रबारको प्रार्थना गराउने गुरुहरू, प्रान्तीय प्रतिनिधिहरू, र शासननजिक वरिष्ठ धर्मगुरु खामेनीको अधिकारलाई ईश्वरीय रूपमा स्वीकृत भएको भाष्यलाई फैलाउँछन् । तिनले खामेनी एक राजनीतिक नेता मात्र नभई मुस्लिम सम्प्रदायले मान्ने इमामका प्रतिनिधिको रूपमा चित्रण गरिन्छ । यस धार्मिक प्रस्तुतिले शासनप्रति निष्ठावान् हुनुलाई धार्मिक कर्तव्यमा परिणत गरेको छ । यस्तोमा राज्यले गर्ने दमनलाई राजनीतिक छनोटभन्दा पनि धर्म रक्षाको आवश्यकताको रूपमा प्रस्तुत गरिन्छ ।
धार्मिक गुरुहरूका लागि अलग रूपमा ‘विशेषज्ञको सभा’ र ‘अभिभावक परिषद्’जस्ता संस्था गठन गरिएको छ । तिनले राज्यप्रति धार्मिक प्रतिष्ठानभित्र उठ्ने आमअसहमतिलाई मिलाउने सक्रिय भूमिका खेल्छ । धर्मगुरुलाई राज्यका सुरक्षा संयन्त्रभित्रसमेत स्थान दिने व्यवस्था गरिएको छ, जसले सुरक्षा संयन्त्रको धार्मिक कर्तव्य सम्झाउने काम गर्छन् । उदाहरणका लागि सशस्त्र बलको वैचारिक–राजनीतिक ब्युरोको नेतृत्व गर्ने होजातोलेस्लाम अली सइदीले भर्खरै इस्लामिक सरकारको रक्षाका लागि हजारौँको मृत्युलाई जायज ठहर्याइरहेका थिए । पछिल्लो प्रदर्शनपछि राज्य संरचनाका धर्मगुरुका प्रतिष्ठानले प्रदर्शनकारीलाई ‘मोहरेब’ (ईश्वरका शत्रु) को रूपमा प्रस्तुत गरिरहेका छन्, जुन आरोपपछि प्रदर्शनकारीमाथिको हिंसा र दमन धार्मिक रूपमा सही ठहरिन्छ । यही वर्गीकरणले आजको इरानमा क्रान्तिकारी परिवर्तनको सीमालाई औँल्याउँछ ।
धर्मगुरुहरूको वृत्तभन्दा बाहिर छ, ‘इस्लामिक रिभोलुस्नरी गार्ड कोर्प (आरआरजिसी)’ र बृहत्तर सुरक्षा संरचना । यसले शासनको बलियो ढालको काम गर्छ । इस्लामिक गणतन्त्रको रक्षा गर्न गठन गरिएको रिभोलुस्नरी कोर्पको स्थापनादेखिकै मुख्य लक्ष्य शासनको संरक्षण गर्नु रहेको छ । त्यसअन्तर्गत खामेनीविरुद्ध हुन सक्ने जुनसुकै कु प्रयास रोक्ने, विरोध असहमतिलाई दबाउने र सर्वोच्च नेतालाई जुनसुकै हदमा गएर बचाउने लक्ष्य रहेका छन् । समय बित्दै जाँदा रिभोलुस्नरी कोर्प आफूलाई सैन्य कार्यमा मात्र सीमित नभई गुप्तचर, रिजर्भ फोर्स र बासिज मिलिसियासहितको बहुशाखा सुरक्षा संगठनमा विस्तार भएको छ । र, यी प्रत्येक हिस्सा इरानी समाजमा गहिरो रूपमा समाहित देखिन्छ । खामेनीलाई केन्द्र बनाएर बनेका यी तीन तह मिलेर वर्तमान शासनको चरित्र निर्धारण गर्छन् र यसलाई टिकाउन सक्रिय पनि हुन्छन् । मानव शरीरसँग तुलना गर्ने हो भने खामेनी टाउको हुन्, भने बेइट–ए रहबारी मुख्य शरीर हो, जसले बाँकी अंगसँग समन्वय र नियन्त्रण गर्छ । शासनका दुई हात भने रिभोलुस्नरी कोर्प र धर्मगुरुहरूको सञ्जाल हुन्, जसले अधिकार लागू गर्छन् र धार्मिक वैधता प्रदान गर्छन् ।
उल्लिखित तीन तहको मुनि बल्ल इरानको सरकार (राष्ट्रपति नेतृत्वमा रहने) र सार्वजनिक प्रशासन रहन्छन् । सरकार र प्रशासनले प्रणालीलाई भरथेग त गर्छन्, तर यसलाई दिशा दिन सक्दैनन् । सरकारका मन्त्रालय, नगरपालिका र सेवा प्रदायक निकायले दैनिक शासनको व्यवस्थापन गर्छन् । राज्यका आमगतिविधि सञ्चालन गर्ने यी निकायले आमनागरिकको आक्रोशलाई सोस्ने काम गरे पनि तीसँग थोरै मात्र वास्तविक शक्ति हुन्छ । हुन पनि नोकरशाहीले प्रशासन त चलाउँछ, तर यसले शासन चलाउँदैन ।
उल्लिखित संरचनात्मक स्वरूपका कारण आमअसन्तुष्टिले अभिजात वर्गमा विभाजन गर्न दिँदैन, जुन अधिनायकवादी विघटनका लागि आवश्यक हुन्छ । विरोध प्रदर्शनलाई सुरक्षा बलले नियन्त्रण गर्छ, धर्मगुरु प्रवचनमार्फत राज्यको बल प्रयोगलाई सही ठहर्याउँछन्, जसलाई सर्वोच्च नेताको कार्यालयद्वारा नियन्त्रित प्रचार संयन्त्रले व्यापक बनाउँछ । प्रशासनले राज्यले दिने सेवा दिइरहकै हुन्छ, जसले गर्दा मानिसलाई राज्यले काम गरिरहेको भान दिन्छ । यस्तोमा शक्तिलाई जोगाउने यस्तो संरचना सक्रिय गरिएका छन्, जसको अस्तित्व केन्द्रको संरक्षणमा निर्भर छ । इस्लामिक गणतन्त्रको रक्षामा यही संरचनागत स्वरूपले मुख्य भूमिका खेलेको छ । इस्लामिक गणतन्त्र आमवैधता वा लोकप्रिय सहमतिका कारण सबल बनेको होइन, बरु यसलाई त केन्द्रमाथिको दबाब अन्यत्र मोड्ने, शक्ति भने आफूमा केन्द्रित गर्ने र सर्वोच्च नेतालाई समाज र राज्यका अन्य निकायबाट जोगाउन बनाइएका संरचनाले बलियो बनाएको हो । यस्तोमा इरानको राजनीतिक भविष्यको बहस आवेगभन्दा यही कठोर संरचनाबाट सुरु हुनुपर्छ ।
गोलकर टेनेसी विश्वविद्यालयका राजनीतिशास्त्रका सह–प्राध्यापक हुन् ।
फरेन अफेयर्सबाट