काठमाडौंका १० वटै क्षेत्रमा बढ्यो चुनावी सरगर्मी

चुनाव प्रचारको तयारी र रणनीतिक छलफलमा जुटे दल र स्वतन्त्र उम्मेदवार, घरदैलो पनि सँगसँगै

बुधबार, १५ माघ, २०८२
डिजिटल संस्करण

देशकै सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको काठमाडौंमा चुनावी सरगर्मी बढेको छ । दल र स्वतन्त्र उम्मेदवार चुनाव प्रचारको तयारी र रणनीतिक छलफलमा जुटेका छन् । कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपा, उज्यालो नेपाल पार्टीसहितका दल र स्वतन्त्र उम्मेदवार आन्तरिक प्रचारमा लागिसकेका छन् । बृहत् प्रचार योजना बनाइरहेको उनीहरूले बताएका छन् । काठमाडौंका सबै क्षेत्र जित्ने गरी अगाडि बढेको प्रमुख दलहरूको दाबी छ । उम्मेदवारहरू मत माग्न घरदैलोमा हिँडेका छन् ।

काठमाडौं १ मा गत निर्वाचनमा निर्वाचित कांग्रेसका प्रकाशमान सिंह यसपटक उम्मेदवार छैनन् । कांग्रेसले नयाँ अनुहार प्रबल थापालाई अघि सारेको छ । अघिल्लोपटक सिंहका निकटतम प्रतिस्पर्धी राप्रपाका रवीन्द्र मिश्र यसपटक पनि उम्मेदवार छन् । मिश्र तेस्रो प्रयासमा संसद् छिर्ने रणनीतिमा छन् भने कांग्रेस बिरासत जोगाउने अभियानमा छ । 

एमाले, नेकपा र रास्वपाले पनि यो क्षेत्र जित्ने दाबी गरेका छन् । यो क्षेत्रमा ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । राप्रपाका मिश्र र कांग्रेसका थापासहित एमालेका मोहनराज रेग्मी, नेकपाकी मेनुका भण्डारी, रास्वपाकी रञ्जु न्यौपाने, नेमकिपाबाट रमिला ज्याख्व, मितेरी पार्टीबाट राजकुमार लिम्बू, जसपा नेपालबाट प्रकाश नायजू, प्रलोपाबाट सविन सिग्देल, श्रम संस्कृति पार्टीबाट समीर लामा, माओवादीबाट धनराज शाही, उज्यालो नेपालबाट मंगललाल श्रेष्ठ, रामुपाबाट इन्द्रप्रसाद श्रेष्ठ, जनसेवाबाट अर्जुनबहादुर शाही, समावेशी समाजवादीबाट सुरेन्द्र पाण्डे र जनादेश पार्टीबाट कमल सुवेदी चुनावी मैदानमा छन् । काठमाडौं १ मा १३ जना स्वतन्त्र उम्मेदवार छन् । 

काठमाडौं २ मा गत निर्वाचनमा रास्वपाकी सोविता गौतम निर्वाचित भएकी थिइन् । एमालेका मणिराम फुयाँललाई पराजित गरेकी गौतम यसपटक चितवन ३ मा उम्मेदवार बनेकी छिन् । फुयाँललाई एमालेले पुन: उम्मेदवार बनाएको छ । राप्रपाले यसपटक पनि कुन्तीदेवी पोखरेललाई नै उम्मेदवार बनाएको छ । एमाले र राप्रपाबाहेक अन्य सबै दलले नयाँ अनुहार अघि सारेका छन् । रास्वपाले सुनील केसीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले कबिर शर्मा र नेकपाले नितेश पौडेललाई उम्मेदवार बनाएका छन् । प्रलोपा, उज्यालो नेपाल, श्रम संस्कृति, राष्ट्रिय मुक्ति, राष्ट्रिय परिवर्तन, आम जनता पार्टीजस्ता नयाँ दल पनि यहाँ चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा १२ जना स्वतन्त्र उम्मेदवार छन् ।

काठमाडौं ३ मा गत निर्वाचनमा कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका थिए । चालिसेमाथि भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेसले रमेश अर्याललाई उम्मेदवार बनाएको छ । एमालेबाट पूर्वसांसद रामेश्वर फुयाँल चुनावी मैदानमा छन् । यसपटक रास्वपा, नेकपा र उज्यालो नेपाल पार्टीले चुनौती दिने दाबी गरेका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ यही क्षेत्रबाट निर्वाचन लड्दै छन् । रास्वपाले राजुनाथ पाण्डे र नेकपाले नीरज लामालाई उम्मेदवार बनाएका छन् । यो क्षेत्रमा १६ वटा दल र ६ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । 

काठमाडौं ४ मा गत निर्वाचनमा कांग्रेसका गगन थापा निर्वाचित भएका थिए । लगातार तीनपटक जितेका कांग्रेस सभापति थापा सर्लाही ४ पुगेका छन् । कांग्रेसले ३३ वर्षीय सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ । एमालेले तेस्रोपटक राजन भट्टराईलाई उम्मेदवार बनाएको छ । ०६४ देखि यो क्षेत्रमा कांग्रेसले जित्दै आएको छ । नेकपाले इन्द्र भुसाल, रास्वपाले पुकार बमलाई अघि सारेको छ । राप्रपाबाट सुरेन्द्र भण्डारी, उज्यालोबाट झनक अधिकारी उम्मेदवार छन् । यो क्षेत्रमा १८ वटा दल र १० जना स्वतन्त्र उम्मेदवार छन् । 

काठमाडौं ५ मा अघिल्लो निर्वाचनमा कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका थिए । कांग्रेसले काठमाडौंका ९ क्षेत्रमा नयाँ उम्मेदवार उठाउँदा पौडेल भने दोहोरिएका छन् । पौडेल यसपटक विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्री बनेका छन् । यसपटक पनि एमालेले ईश्वर पोखरेललाई उम्मेदवार बनाएको छ । नेकपाले कल्पना शर्मा र रास्वपाले सस्मित पोखरेललाई उम्मेदवार बनाएको छ । राप्रपाबाट कमल थापा र उज्यालोबाट श्रीराम गुरुङ चुनावी मैदानमा छन् । यो क्षेत्रमा २० दल र पाँच स्वतन्त्र उम्मेदवार छन् । 

काठमाडौं ६ मा गत निर्वाचनमा रास्वपाका शिशिर खनाल निर्वाचित भएका थिए । यसपटक पनि रास्वपाले खनाललाई नै दोहोर्‍याएको छ । कांग्रेसले काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँ र एमालेले अमनकुमार मास्केलाई उम्मेदवार बनाएको छ । उनी यही क्षेत्रको प्रदेश सभा (२) बाट निर्वाचित भएका थिए । प्रदेश सभाबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका हुन् । नेकपाबाट हिमाल शर्मा, राप्रपाबाट उद्धवराज भेटुवाल, उज्यालोबाट वारिस धरेल उम्मेदवार छन् । यो क्षेत्रमा १५ दल र पाँच स्वतन्त्र उम्मेदवार छन् । 

काठमाडौं ७ मा गत निर्वाचनमा रास्वपाका गणेश पराजुली निर्वाचित भएका थिए । यसपटक पनि रास्वपाले पराजुलीलाई नै दोहोर्‍याएको छ । एमालेले प्रकाश श्रेष्ठ र कांग्रेसले प्रमोदहरि गुरागाईंलाई चुनावी मैदानमा उतारेको छ । नेपाली कम्युनिस्ट पार्टीले वसन्त मानन्धरलाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा यही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित मानन्धर प्रदेश सभाबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् । राप्रपाबाट लालकुमार लामा, उज्यालो नेपालबाट विक्रम थापा चुनावी मैदानमा छन् । यो क्षेत्रमा १७ दल र १० स्वतन्त्र उम्मेदवार छन् । 

काठमाडौं ८ मा गत निर्वाचनमा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए । रास्वपाले यसपटक पनि श्रेष्ठलाई नै दोहोर्‍याएको छ । अघिल्लोपटक उनले गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई पराजित गरेका थिए । नेकपाले अभियन्ता सुमन सायमीलाई चुनावी मैदानमा उतारेको छ । कांग्रेसबाट सपना राजभण्डारी, एमालेबाट राजेश शाक्य, राप्रपाबाट नवीन शाही, उज्यालोबाट राजन खड्गी प्रतिष्पर्धामा छन् । यो क्षेत्रमा १७ दल र स्वतन्त्र ५ उम्मेदवार छन् । 

काठमाडौं ९ मा गत निर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए । एमालेले यसपटक अजयक्रान्ति शाक्यलाई चुनावी मैदानमा उतारेको छ । अघिल्लोपटकको निकतटम प्रतिद्वन्द्वी नेकपा (तत्कालीन माओवादी)बाट राधाकृष्ण महर्जन उम्मेदवार बनेका छन् । कांग्रेसबाट नानुमैया बास्तोला, रास्वपाबाट डोलप्रसाद अर्याल उम्मेदवार बनेका छन् । रास्वपा उपसभापतिसमेत रहेका अर्याल अघिल्लोपटक समानुपातिक सांसद थिए । राप्रपाबाट दिलकुमार कार्की, उज्यालोबाट रामेश्वर श्रेष्ठ चुनावी मैदानमा छन् । यो क्षेत्रमा १८ दल र ६ स्वतन्त्र उम्मेदवार छन् । 

काठमाडौं १० मा गत निर्वाचनमा कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका थिए । पछिल्लोपटक लगातार निर्वाचन जित्दै अएका केसीले यसपटक भने निर्वाचन नलड्ने घोषणा गरे । यसपटक कांग्रेसले हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ । एमालेबाट विनोद श्रेष्ठ, नेकपाबाट रूपा महर्जन, रास्वपाबाट प्रदीप विष्ट, राप्रपाबाट बलराम थापा, उज्यालोबाट राकेश न्यौपाने चुनावी मैदानमा छन् । यो क्षेत्रमा १५ दल र १० स्वतन्त्र उम्मेदवार छन् ।

विगतमा कस्तो थियो परिणाम ?
काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रको गत ०७९ को परिणामअनुसार पाँचवटा निर्वाचन क्षेत्रमा कांग्रेस, चारवटामा रास्वपा र एउटा क्षेत्रमा एमाले विजयी भएका थिए । कांग्रेसबाट १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजन केसी निर्वाचित भएका थिए । रास्वपाबाट २ मा सोविता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए । एमालेबाट ९ मा कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए । त्यसअघि ०७४ को निर्वाचनमा काठमाडौंको ६ वटा निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका थिए । तत्कालीन वाम गठबन्धन हुँदा कांग्रेस चारवटा क्षेत्रमा विजयी भएको थियो । ०७४ मा प्रकाशमान सिंह, माधवकुमार नेपाल, कृष्ण राई, गगन थापा, ईश्वर पोखरेल भीमसेनदास प्रधान, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ र राजेन्द्रकुमार केसी निर्वाचित भएका थिए । नेपाल, राई, पोखरेल, मानन्धर, जीवनराम र कृष्णगोपाल एमालेबाट र सिंह, थापा, प्रधान र केसी कांग्रेसबाट विजयी भएका थिए ।

सुझावित समाचार