सन् २०२३ भित्र दादुरा र रुबेला उन्मूलन भएको घोषणा गर्ने सरकारको तयारी थियो । तर, दादुराका केही केस देखिएपछि त्यति वेला सरकारले रुबेला मात्रै निवारण भएको घोषणा गर्यो । दादुरा भने सन् २०२६ भित्र निवारण गर्ने योजना बनायो । तर, फेरि संक्रमण देखिएपछि सन् २०३० सम्मको समय तोकेको सरकारलाई हालै सर्लाहीमा फैलिएको महामारी चुनौती बनेको छ ।
सर्लाहीको मलंगवा नगरपालिका– ३, मुस्लिम टोलका पाँच वर्षीय एक बालकमा २४ पुसमा दादुरा देखिएको थियो । त्यसयता २३ बालबालिकामा संक्रमण पुष्टि भइसकेको छ । दादुराले महामारीकै रूप लिएपछि सोमबारदेखि सरकारले त्यस क्षेत्रमा खोप अभियान सुरु गरेको छ ।
दुई दिनमा तीन हजार ५४५ बालबालिकालाई खोप लगाइएकोमा कुल आठ हजारलाई दिने योजना छ । खोपसँगै अन्य बिमारीको पनि खोजी र परीक्षण सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नवलकिशोर झाले बताए । नगरपालिकाको स्वास्थ्य शाखासँग समन्वय नगरेर जिल्ला स्वास्थ्य कार्यालयले मुस्लिम टोलसँग जोडिएका वडा नम्बर २, ४, ८, ९ र १० मा पनि दादुरासँग मिल्दोजुल्दो लक्षणको खोजी गरिरहेको उनले बताए । उनका अनुसार पहिलोपटक संक्रमण देखिएका बालकमा दादुराविरुद्धको खोप लगाइएको थिएन ।
संक्रमण पुष्टि भएका २३ बालबालिका ६ महिनादेखि ११ वर्ष उमेर समूहका रहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मलंगवा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले बताए । उनका अनुसार संक्रमण नियन्त्रण अभियानअन्तर्गत ६ महिनादेखि १५ वर्षका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिन सुरु गरिएको छ । मुस्लिम टोल, शिवसागर चोक, यादव टोलमा खोप अभियान सुरु भइसकेकोे साहले बताए ।
‘तीन हजार ५४५ बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइएको छ । १६ माघसम्म ६ महिनादेखि १५ वर्ष उमेर समूहका आठ हजारलाई खोप दिने तयारी छ । अहिले स्वास्थ्यकर्मीको टोलीले विद्यालय र मदरसामा पुगेर खोप लगाउन सुरु गरेका छन्,’ उनले भने ।
परिवार कल्याण महाशाखा टेकुको निर्देशनमा, राष्ट्रिय खोप समन्वय समितिको निर्णयअनुसार प्रभावित क्षेत्रमा विशेष खोप अभियान सञ्चालन गरिएको छ । सम्बद्ध निकायसँग समेत नजिकबाट समन्वय भइरहेको डा. झाले बताए ।
दादुरा संक्रमण फेला परेका क्षेत्रमा खोप र खोजी अभियान एकसाथ जारी छ । यस क्षेत्रमा दूरी कायम गर्न, मास्कको प्रयोग अनिवार्य गर्न, दादुरासँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्नसमेत सूचना र घरदैलोमार्फत जानकारी गराइएको छ । विशेष खोप कार्यक्रमको निरीक्षण गर्दै मधेश सरकारका स्वास्थ्यमन्त्री जंगीलाल रायले विशेष खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बद्ध स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।
यस पालिकामा दुई वर्षअघि पनि एकजनामा दादुरा संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । तर, त्यसवेला परीक्षण नगरी लक्षणअनुसारको उपचारपछि बिमारी निको भएको डा. झाले बताए ।
निकै संक्रामक मानिने दादुरा एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्छ । प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य संगठन, युनिसेफ, मधेश प्रदेश जनस्वास्थ्य निर्देशनालयको टोलीले समेत निरीक्षण गरेका छन् ।
दादुरा लागेका बालबालिकामा सुरुमा उच्च ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने, आँखाबाट पानी बग्ने, तीनदेखि पाँच दिनपछि अनुहार तथा शरीरका विभिन्न भागमा खटिरा आउनेलगायत लक्षण देखिने चिकित्सकले बताएका छन् । एक दादुरा संक्रमितले १२ देखि १८ जनासम्मलाई सार्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । श्वासप्रश्वासको माध्यमबाट सर्ने यो रोग हाछ्युँ गर्दा, खोक्दा, संक्रमित व्यक्तिले नाकमुख छोएर हात नधुँदा सजिलै फैलिन्छ । दादुराबाट बच्न बालबालिकालाई नौ महिना र १५ महिनामा दुईपटक खोप लगाउने गरिन्छ । खोप नलगाएका बालबालिकालाई यो रोग लाग्ने जोखिम उच्च हुने चिकित्सक बताउँछन् । दादुरा जुनसुकै उमेरका व्यक्तिलाई पनि सर्न सक्छ ।