स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले सरकारले संचालन गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी साथै सफल बनाउन प्रदेश र स्थानीय सरकारको योगदान हुनेपर्ने बताएकी छिन्।
मंगलबार बागलुङको धौलागिरी प्रादेशिक अस्पतालको निरिक्षणपश्चातको कार्यक्रममा बोल्दै मन्त्री शर्माले बिमा कार्यक्रमलाई प्रदेश सरकार र स्थानीय सरकारको लगानी नभए प्रभावकारी ढंगले संचालन गर्न कठिनाई हुने बताएकी हुन्। उनले संघीय सरकारको मात्र बजेटले बिमा कार्यक्रमका लागि बजेट अपुग हुने हुँदा तीन तहकै सहलगानी आवश्यक रहेकोमा जोड दिइन्।
अहिले पनि थुप्रै अस्पतालले स्वास्थ्य बिमाको बजेट नपाएको गुनासो आइरहेको बताउँदै उनले सरकारसँग बजेट अभाव भएकै कारण भुक्तानी दिन कठिनाइ भएको बताइन्।
शर्माले बिमा कार्यक्रमलाई सफल बनाउन अब गुलियो पेय पदार्थमा पनि करको दायरा बढाउनुपर्ने उल्लेख गर्दै उनले भनिन्,‘हिजो बिमाकै लागि भनेर सुर्तिजन्य र मदिराजन्य पदार्थमा करको दायरा बढाइएको थियो। अब गुलीयो पेय पदार्थमा पनि करको दायरा बढाउनुपर्दछ।’
मन्त्री शर्माले गण्डकी प्रदेशले डिजिटल स्वास्थ्यमा राम्रो काम गरेको हुँदा अन्य प्रदेशले पनि यसको अनुसरण गर्नुपर्ने बताइन्। ‘गण्डकी प्रदेशले इएमआर, गर्भवती दर्ता तथा अनुगमन कार्यक्रम, इएचआइएमएस, पारिवारिक स्वास्थ्य प्रोफाइल जस्ता कार्यक्रममार्फत डिजिटल हेल्थका कार्यक्रमलाई अगाडी जोडेको रहेछ,’ शर्माले भनिन्।
उनले बागलुङ आत्महत्या दर बढि भएको जिल्ला भएको हुँदा यसको न्युनिकरणका लागि सवैले प्रयास गर्नुपर्ने बताइन्। धौलागिरी अस्पतालमा खाली रहेका दरबन्दीमा चिकित्सकहरुको पदपूर्तिका लागि तत्काल मन्त्रालयबाट सम्बोधन गर्न प्रयास गर्ने उनको भनाइ छ।