रामेछापमा निर्वाचन प्रहरी ४३३ अपुग, पुन: आवेदन माग

आइतबार, १२ माघ, २०८२
डिजिटल संस्करण

२१ फागुनको नर्वाचनका लागि भर्ना खुलाइएको निर्वाचन प्रहरीमा ४३३ जना अपुग भएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले तेस्रोपटक म्याद थप आवेदन माग गरेको छ । निर्वाचन प्रहरीमा भर्ना हुन चाहने व्यक्तिले १० र ११ माघमा दरखास्त दिन पाउनेछन् । निर्वाचनका लागि रामेछापमा एक हजार ३३३ जना दरबन्दीका लागि जिल्ला प्रहरी कार्यालयले पहिलोपटक २५ पुसदेखि १ माघसम्मका लागि दरखास्त आह्वान गरेको थियो । मागबमोजिम दरखास्त नपरेपछि प्रहरीले पुन: दुई दिन म्याद थप गरेर दोस्रोपटक सूचना निकालेको थियो । सूचनासँगै प्रहरीले बजार एरियामा दरखास्त पेस गर्न माइकिङसमेत गरेको थियो ।

दुईपटक म्याद थप गर्दा जम्मा नौ सयजनाले मात्रै आवेदन पेस गरेका थिए । आवेदन पेस गरेकाहरूको हकमा तालिम सञ्चालन गर्दै आएको र नपुग अन्य प्रहरीको हकमा पुन: तेस्रोपटक सूचना प्रकाशन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीषक भोलाकुमार भट्टले जानकारी दिए । निर्वाचन प्रहरीको कार्यअवधि ४० दिनको हुने छ । निर्वाचन अवधिभर हुने ४० दिनमा उनीहरूले ३४ हजार ७७६ रुपैयाँ तलब–सुविधा पाउनेछन् । त्यसबाहेक निर्वाचन प्रहरीलाई रासन र आतेजाते खर्च ८४६ रुपैयाँ थप तयारी खर्चसमेत पाउनेछन् । त्यसैगरी, उनीहरूले चार दिनका लागि दैनिक तीन सयको दरले खाजा खर्च र पोसाकबापतको छुट्टै रकमसमेत प्रदान गरिनेछ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाले दोस्रोपटक पुन: निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । मागअनुसारको आवेदन नपरेपछि पुन: दरखास्त आह्वान भएको हो । ६७ जना निर्वाचन प्रहरी अपुग भएकाले १० र ११ माघका लागि पुन: दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङले बताए ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हे. क्वा. छिन्ताङ धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङ तथा इलाका प्रहरी कार्यालय राजारानी धनकुटामध्ये जहाँ अनुकूल हुन्छ त्यहीँ दरखास्त दिन सक्नेछन् । धनकुटामा एक हजार ८५ निर्वाचन प्रहरीको कोटा निर्धारण गरिएको छ । निर्वाचन प्रहरीका लागि २५ पुसदेखि १ माघसम्मका लागि दरखास्त आह्वान गरेको थियो । सो अवधिमा धनकुटामा आठ सय ७६ जनाको मात्र आवेदन परेपछि ३ माघसम्मलाई म्याद थप गरिएको थियो । सो अवधिमा पनि मागअनुसारको संख्या नपुगेपछि पुन: दोस्रोपटक दरखास्त माग गरिएको हो । धनकुटामा एक लाख १८ हजार ४२५ जना मतदाता छन् । एक सय १९ मतदानस्थल र एक सय ६६ मतदान केन्द्र छन् ।  

सुझावित समाचार