सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल आज एक ऐतिहासिक मोडमा उभिएको छ । एपिएफ आफ्नो स्थापनाको २५औँ वर्षमा प्रवेश गर्दै रजत जयन्ती मनाइरहँदा यो अवसर केवल औपचारिक उत्सवमा सीमित रहँदैन । यो राष्ट्रिय सुरक्षामा यसले २५ वर्षको अवधिमा निर्वाह गरेको भूमिकाको पुनरावलोकन, वर्तमान क्षमताको आत्मसमीक्षा र भविष्यको रणनीतिक मार्गचित्र कोर्ने ऐतिहासिक घडी हो । खुला सीमा, जटिल भूआकृति, बढ्दो राजनीतिक संक्रमण, गैरपरम्परागत सुरक्षा चुनौती र प्राकृतिक विपत्को उच्च जोखिमबिच सशस्त्र प्रहरी बल आज आन्तरिक शान्ति–सुरक्षा कायम गर्ने भूमिकामा मात्र सीमित नरही नेपालको समग्र राष्ट्रिय सुरक्षाको एक अभिन्न र अपरिहार्य अंगका रूपमा स्थापित भइसकेको छ ।
सीमा सुरक्षा, आन्तरिक शान्ति–सुरक्षा, भिड तथा दंगा नियन्त्रण, विपत् व्यवस्थापन, संवेदनशील पूर्वाधार सुरक्षा तथा मानवीय उद्धारमा सशस्त्र प्रहरी बलले देखाएको व्यावसायिकता, अनुशासन र समर्पणले यस संस्थालाई जनता र राज्य दुवैका लागि भरोसायोग्य सुरक्षात्मक स्तम्भ बनाएको छ । त्यसैले, सशस्त्र प्रहरी बलको रजत जयन्ती केवल औपचारिक उत्सवमा सीमित छैन, यो शान्ति, सुरक्षा र अटुट प्रतिबद्धतासहितको २५ वर्षे यात्रामा आएका आरोह–अवरोहको समग्र मूल्यांकन हो । यी २५ वर्षका क्रममा सशस्त्र प्रहरी बलले माओवादी सशस्त्र द्वन्द्व, सात राजनीतिक दल र माओवादीबिच सम्पन्न बाह्रबुँदे समझदारी तथा विस्तृत शान्ति सम्झौतापछिको संक्रमणकालीन सुरक्षा अवस्था, संविधानसभाका निर्वाचन, साथै हालसालै २३ र २४ भदौमा देखिएको ‘जेन–जी आन्दोलन’जस्ता विविध जटिल सुरक्षा चुनौतीबिच संगठनलाई स्थिर, सक्षम र क्रियाशील रूपमा उभ्याएको देखिन्छ । नेपालले सामना गरेका यस्ता संकटपूर्ण परिस्थितिमा राष्ट्रको पहरेदारका रूपमा सशस्त्र प्रहरी बलले निर्वाह गरेको ऐतिहासिक, समर्पित र निर्णायक भूमिकाको जीवित साक्षी हो, यो रजत जयन्ती ।
स्थापना पृष्ठभूमि, उद्देश्य र अर्धसैनिक प्रकृति : सशस्त्र प्रहरी बल, नेपालको स्थापना सशस्त्र द्वन्द्व, राजनीतिक अस्थिरता र गम्भीर आन्तरिक सुरक्षा चुनौतीको पृष्ठभूमिमा भएको हो । विशेषतः २०५२ सालदेखि माओवादीद्वारा सुरु गरिएको सशस्त्र विद्रोहले नेपालको आन्तरिक सुरक्षालाई गहिरो संकटमा पारेको थियो । विद्रोही गतिविधि तीव्र बन्दै जाँदा हत्या, अपहरण, लुटपाट र सरकारी संरचनामाथि आक्रमण बढे, जसका कारण विशेषगरी विकट पहाडी जिल्लामा नेपाल प्रहरीको परिचालन अत्यन्तै जोखिमपूर्ण बन्यो ।
अवस्था प्रहरीको नियन्त्रणबाहिर जान थालेको भए पनि सेनाको प्रत्यक्ष परिचालन संविधानिक तथा कानुनी रूपमा जटिल विषय थियो । यही सन्दर्भमा प्रहरी र सेनाबिच देखिएको ‘सुरक्षा खाडल’ पूर्ति गर्न सक्षम एक अर्धसैनिक सुरक्षा निकायको आवश्यकता महसुस गरियो । परिणामस्वरूप सशस्त्र प्रहरी बल ऐन, २०५८ जारी भई सीमा सुरक्षा, विद्रोह तथा आतंकवादी गतिविधि नियन्त्रण, दंगा व्यवस्थापन, विपत् उद्धार तथा राष्ट्रिय संकटका वेला नेपाली सेनाको सहयोगी बलका रूपमा कार्य गर्ने म्यान्डेटसहित सशस्त्र प्रहरी बल स्थापना भयो । माओवादी द्वन्द्वका क्रममा यस बलले प्रभावकारी भूमिका निर्वाह गरी आफ्नो औचित्य प्रमाणित गरेको देखिन्छ ।
राजनीतिक हस्तक्षेप, असम्बन्धित क्षेत्रमा अनावश्यक परिचालन तथा सरुवा–पदस्थापनमा हुने विधिविपरीत दबाबले सशस्त्र प्रहरी बलको व्यावसायिक कार्यक्षमता र संस्थागत अनुशासनमा गम्भीर नकारात्मक प्रभाव पारिरहेको छ
विश्व सन्दर्भमा अर्धसैनिक वा पारामिलिटरी बलको स्पष्ट ‘पहिलो’ उदाहरणबारे एकमत छैन । फ्रान्सको ज्यान्डार्मरी, इटलीको क्याराबिनारी तथा भारतको असम राइफल्सजस्ता निकाय आधुनिक अर्धसैनिक बलका उदाहरण हुन् । आज दक्षिण एसियासहित विश्वका धेरै देशले आन्तरिक शान्ति–सुरक्षा, सीमा व्यवस्थापन र विद्रोह नियन्त्रणका लागि यस्ता बललाई प्राथमिकता दिएका छन् । कानुनी रूपमा ‘अर्धसैनिक बल’ राज्यद्वारा विधिसम्मत स्थापना र नियमन गरिएको सुरक्षा निकाय हो, जुन प्रायः गृह मन्त्रालयमातहत रही आन्तरिक र सीमा सुरक्षामा खटिन्छ । यस प्रकारका बलले नागरिक प्रहरीको कानुनी अधिकार र सेनाको अनुशासन तथा क्षमता दुवै समेट्ने भएकाले प्रहरी र सेनाबिचको ‘मध्य–बल’का रूपमा कार्य गर्छन् ।
यस अर्थमा सशस्त्र प्रहरी बल न त पूर्ण सैन्य शक्ति हो, न त केवल नागरिक प्रहरी नै । यो कानुनमा आधारित अर्धसैनिक सुरक्षा स्तम्भ हो, जसले आधुनिक राज्यले सामना गरिरहेका सीमा सुरक्षा, आतंकवाद, विद्रोह तथा ठुलो स्तरका भिड–दंगाजस्ता ‘मध्यम तहका सुरक्षा चुनौती’को सामना गर्न प्रभावकारी, सन्तुलित र व्यावसायिक सुरक्षा कारबाही सञ्चालन गर्ने विशिष्ट क्षमता राख्छ ।
संस्थागत विकास, संरचना विस्तार र सीमा सुरक्षा : २५ वर्षमा सीमित साधनस्रोतबाट सुरु भएको सशस्त्र प्रहरी बल संगठनात्मक रूपमा व्यापक बनेको छ । आज यो बल मुख्यालय–बाहिनी–बटालियन–कम्पनी/गुल्म संरचनामार्फत हिमाल, पहाड र तराई तीनै भूगोलमा फैलिएको छ । सीमावर्ती जिल्लामा सीमा सुरक्षा कार्यालय, बिओपी, विशेष टोली र विपत् व्यवस्थापन तालिम केन्द्रमार्फत यसले राष्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
नेपालको भारतसँग सिमाना जोडिएका २७ जिल्ला र चीनसँग सिमाना जोडिएका १५ जिल्लामा सीमा सुरक्षाको प्रमुख जिम्मेवारी सशस्त्र प्रहरी बलले वहन गर्दै आएको छ । खुला सीमाका कारण उत्पन्न हुने मानव तस्करी, लागुऔषध कारोबार, वन तथा वन्यजन्तु अपराधलगायत विभिन्न सीमा अपराध नियन्त्रणमा यो बल अग्रपंक्तिमा क्रियाशील छ । संवेदनशील सीमा नाका र बिन्दुहरूमा सशस्त्र प्रहरीको सतर्क उपस्थितिले राज्यको सार्वभौमिकता र भौगोलिक अखण्डता सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याएको छ । हाल भारतसँग सिमाना जोडिएका २७ र चीनसँग सिमाना जोडिएका १५ जिल्लामा बोर्डर आउटपोस्ट (बिओपी) खडा गरी सीमा सुरक्षा गरिरहेको छ ।
सशस्त्र प्रहरी बलको अर्को महत्वपूर्ण भूमिका विपत् व्यवस्थापन तथा उद्धार कार्यमा केन्द्रित छ । भूकम्प, बाढी, पहिरो, हिमपहिरो तथा आगलागीजस्ता प्राकृतिक तथा मानव–निर्मित विपत्का समयमा विशेष तालिमप्राप्त टोली तत्काल परिचालन भई खोज तथा उद्धार कार्य सञ्चालन गर्दै आएका छन्, जसले आमजनमानसमा बलप्रति गहिरो विश्वास निर्माण गरेको छ । सर्च–एन्ड–रेस्क्यु, जल तथा उचाइ उद्धार, भौतिक सम्पत्तिको व्यवस्थापन र घाइतेलाई आधारभूत चिकित्सकीय सहयोग प्रदान गर्ने कार्यमा सशस्त्र प्रहरी बलको भूमिका केवल प्रतिक्रियात्मकस्तरमै सीमित नभई जोखिम न्यूनीकरण, पूर्वतयारी र समन्वित विपत् प्रतिकारसम्म विस्तारित हुँदै गएको छ । २०७२ को विनाशकारी भूकम्पदेखि दुर्गम हिमाली क्षेत्रमा घटेका हिमपहिरोका घटनासम्म सशस्त्र प्रहरी बलले ‘पहिलो प्रतिक्रियाकर्ता’का रूपमा अग्रणी र निर्णायक भूमिका निर्वाह गर्दै आएको छ ।
सशस्त्रले दक्ष नेतृत्व विकासका लागि सुरक्षा तथा विपत् व्यवस्थापन विषयमा केन्द्रित पोस्ट ग्य्राजुएट र स्टाफ कलेजमार्फत उच्च व्यावसायिक शिक्षा विस्तारले अहं भूमिका खेलेको देखिन्छ । लोकतान्त्रिक परिवेशमा भिड व्यवस्थापन, दंगा नियन्त्रण र संवेदनशील पूर्वाधारको सुरक्षामार्फत सशस्त्र प्रहरी बल सहरी र ग्रामीण दुवै क्षेत्रमा सशक्त रूपमा कार्यरत छ । यसरी यो बल कानुन कार्यान्वयन सहयोगी, अर्धसैनिक प्रतिरोध शक्ति र राष्ट्रिय संकटका वेला सेनाको विशेष सहयोगी फोर्सका रूपमा राष्ट्रिय सुरक्षामा त्रिपक्षीय भूमिका निर्वाह गर्दै आएको प्रस्ट देखिन्छ ।
अपेक्षा, चुनौती र आगामी मार्गचित्र : स्थापनाको २५औँ वर्ष, रजत जयन्ती मनाइरहेको यस ऐतिहासिक अवसरमा सशस्त्र प्रहरी बलले राष्ट्रिय सुरक्षामा पु¥याएको योगदानमा शंका छैन । विगत २५ वर्षमा यस बलले नेपालमा सीमा सुरक्षा, आन्तरिक शान्ति–व्यवस्था, भिड तथा दंगा नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, विपत् व्यवस्थापन, संवेदनशील पूर्वाधार सुरक्षा र मानवसेवा–उद्धारमा अतुलनीय योगदान दिँदै राष्ट्रको सुरक्षा र शान्तिको मेरुदण्डका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ । यद्यपि, यति उपलब्धिका बाबजुद, बलले अझै धेरै चुनौतीको सामना गरिरहेको छ, जसले आधुनिक सुरक्षा वातावरणमा यसलाई अझ चुस्त, सक्षम र भविष्यपरक बनाउने आवश्यकता औँल्याउँछ ।
सशस्त्र प्रहरी बलप्रति जनता र राज्यका अपेक्षा बढ्दो छन् । मुख्य रूपमा बलले राष्ट्रिय सुरक्षा नीतिसँग स्पष्ट रूपमा एकीकृत भएर काम गर्नुपर्ने, सीमा सुरक्षा प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने, विपत् व्यवस्थापनमा विशेषज्ञता विस्तार गर्नुपर्ने, नागरिकमैत्री सुरक्षा अवधारणालाई सुदृढ बनाउने र आतंकवाद, हाइब्रिड खतरा तथा गैरराज्य सशस्त्र समूहको सामना गर्न सक्षम विशेषीकृत क्षमता विकास गर्नुपर्ने अपेक्षा रहेको छ ।
राष्ट्रिय सुरक्षाको गतिशील परिदृश्यमा सशस्त्र प्रहरी बलले केही चुनौती पनि सामना गर्दै आएको छ । स्रोत–साधन र पूर्वाधारको अभाव अझै गम्भीर समस्या हो । सीमावर्ती बिओपीको संख्या पर्याप्त छैन, भारतसँगको २७ जिल्ला सीमामा २२० बिओपी छन्, जबकि भारतका तर्फबाट झन्डै ५३० बिओपी छन् । चीनसँगको सीमामा १५ जिल्लामा मात्र आठ बिओपी छन् । विकट हिमाली क्षेत्रमा प्रतिकूल मौसम र कठिन भू–आकृतिले आधुनिक प्रविधिसहित बिओपी सञ्चालन आवश्यक बनाएको छ, तर हाल पर्याप्त उपयुक्त सुविधा उपलब्ध छैन । कानुनी र नीतिगत अस्पष्टताका कारण फौज परिचालन, अप्रेसन र अधिकारमा स्पष्ट नीति र बलियो कानुनी आधारको अभाव छ । राजनीतिक हस्तक्षेप, असम्बन्धित क्षेत्रमा अनावश्यक परिचालन तथा सरुवा–पदस्थापनमा हुने विधिविपरीत दबाबले सशस्त्र प्रहरी बलको व्यावसायिक कार्यक्षमता र संस्थागत अनुशासनमा गम्भीर नकारात्मक प्रभाव पारिरहेको छ । यससँगै बढ्दो सीमा अपराध, राजस्व छली, तस्करी, बढ्दो साइबर अपराध, आतंकवाद तथा गैरराज्य सशस्त्र समूहको सम्भावित सक्रियताले राष्ट्रिय सुरक्षामा थप चुनौती सिर्जना गरिरहेको छ ।
त्यस्तै, समयसापेक्ष तलब, भत्ता र सुविधाको अभावले कार्य क्षेत्रमा खटिएका जवानमा मानसिक, पारिवारिक तथा सामाजिक दबाब बढाएको छ । जसले दीर्घकालीन रूपमा कार्यक्षमता र मनोबलमा असर पार्न सक्छ । नयाँ भर्नामा आवेदकको संख्या घट्दै जानु, जागिरबाट राजीनामा दिने संख्या बढ्नु तथा वैदेशिक रोजगारी रोज्ने प्रवृत्तिले भविष्यमा सशस्त्र प्रहरी बलको जनशक्ति सन्तुलन र संस्थागत क्षमतामा गम्भीर चुनौती उत्पन्न हुने सम्भावना देखिएको छ ।
भविष्यमा सशस्त्र प्रहरी बलले आफूलाई आधुनिक, सक्षम र उत्तरदायी अर्धसैनिक बलका रूपमा रूपान्तरण गर्न विभिन्न कदम चाल्नुपर्ने देखिन्छ । यसमा प्रविधिमैत्री सीमा निगरानी, डेटा–आधारित जोखिम विश्लेषण, बोर्डर–केन्द्रित खुफिया सञ्जाल, विशेष प्रतिआतंकवाद युनिट, साइबर सुरक्षा र राजस्व चुहावट नियन्त्रण, मानवअधिकार र उत्तरदायित्व–केन्द्रित प्रशिक्षण हुनु आवश्यक देखिन्छ । यससँगै सशस्त्र प्रहरी बलले नीति–नियमअनुसार मात्र परिचालन, सार्वजनिक सहभागिता र नागरिक–मैत्री अभ्यासलाई प्रवद्र्धन गर्नु आवश्यक छ ।
यी अपेक्षा र चुनौतीलाई अवसरका रूपमा लिएर कार्य गरियो भने सशस्त्र प्रहरी बलको २५औँ वर्ष केवल उत्सव मात्र होइन, नेपालमा सीमासुरक्षा, आन्तरिक सुरक्षा र विपत् व्यवस्थापनमा आधुनिक, उत्तरदायी र प्रविधिमैत्री अर्धसैनिक शक्तिका रूपमा बलको रूपान्तरणको आधार बन्न सक्छ । यसरी बलले सीमारेखा, संवेदनशील पूर्वाधार, दुर्गम पहाड, सहरी सडक र विपत् मोर्चासम्म आफ्नो जिम्मेवारी निर्वाह गर्दै राष्ट्र र जनताको विश्वास जित्नेछ । यही दृष्टिकोणले सशस्त्र प्रहरी बलको रजत जयन्ती–यात्रालाई केवल ऐतिहासिक उपलब्धि मात्र होइन, भविष्यमा सुरक्षा व्यवस्थामा आधुनिक, व्यावसायिक र जनउत्तरदायी शक्ति निर्माणको साझा संकल्पका रूपमा रूपान्तरण गर्छ । २५ वर्षका दौरान एपिएफ केवल सुरक्षाको संरचना मात्र नभई राज्यको सार्वभौमिकता, स्थायित्व र नागरिक सुरक्षाको भरोसायोग्य स्तम्भका रूपमा स्थापित भएको छ । आगामी दिनमा अझ सशक्त, व्यावसायिक र प्रविधिमैत्री सशस्त्र प्रहरी बल निर्माण गर्दै राष्ट्रिय सुरक्षाको बदलिँदो चुनौती सामना गर्न सक्ने क्षमता विकास गर्नु नै रजत जयन्तीको सन्देश र संकल्प हुनुपर्छ ।
(अधिकारी सुरक्षाविद् हुन्)