३,४८४ उम्मेदवार जनताको इजलासमा

२१ फागुनको निर्वाचनका लागि देशभर शान्तिपूर्ण र उत्साहजनक सहभागितासहित उम्मेदवारी दर्ता

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

​२३–२४ भदौको जेन–जी विद्रोहपछि हुन गइरहेको निर्वाचनमा पुराना र नयाँ दल आमनेसामने 

  • कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेले वारेसनामामार्फत दर्ता गरे उम्मेदवारी । थापा सर्लाही ४ र लामिछाने चितवन २ मा उम्मेदवार छन् ।
  • मंगलबार देशभर कुल तीन हजार ४८४ उम्मेदवारले दर्ता गराए पनि यसमा ११.३४ अर्थात् ३९५ मात्र महिला उम्मेदवार छन् । 

२१ फागुनको प्रतिनिधिसभातर्फको प्रत्यक्ष निर्वाचनका लागि मंगलबार एकै चरणमा देशभर शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । १६५ वटै निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्तामा उत्साहजनक सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार कुल ३,४८४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तीमध्ये ३,०८८ पुरुष, ३९५ महिला र एकजना अन्य छन् । राजनीतिक दलका तर्फबाट २,२९७ जना उम्मेदवार दर्ता हुँदा २,०६८ पुरुष, २३५ महिला र एक अन्य छन् । स्वतन्त्र उम्मेदवारको संख्या १,१८७ रहेको छ, जसमा १,०२४ पुरुष र १६० महिला छन् ।

उम्मेदवारको उमेर समूह हेर्दा २५–३५ वर्ष उमेरका ५८३ (५१२ पुरुष, ६७ महिला, १ अन्य), ३५–५० वर्ष उमेर समूहका १,६१० (१,३७५ पुरुष, २३५ महिला), ५१–६५ वर्ष उमेर समूहका १,०९० (१,००० पुरुष, ९० महिला) र ६५ वर्षभन्दा माथिका २०१ जना (१९८ पुरुष, ३ महिला) छन् ।

प्रमुख दलका शीर्ष नेताहरूले प्रत्यक्ष उपस्थिति वा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । विघटित प्रतिनिधिसभाको ठुलो दल कांग्रेसका सभापति गगन थापाले सर्लाही ४ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । 

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले झापा ५ पुगेर स्वयं निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वबाट स्वयं उपस्थित भई उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट १ बाट उम्मेदवारी दर्ता गरेका छन् । उक्त क्षेत्रमा एमालेका अजय गुप्ता र कांग्रेसका अनिल झा पनि उम्मेदवार बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिल्ला अदालत पर्सामा बयानका लागि उपस्थित हुनुपरेकाले चितवन २ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । रास्वपाले प्रधानमन्त्रीका रुपमा अघि सारेका बालेन शाहले झापा ५ बाट उम्मेदवारी दिएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

पूर्वप्रधानमन्त्री एवं प्रलोपा नेता डा. बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी दिएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी ३ बाट उम्मेदवार बनेका छन् भने जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी २ बाट उम्मेदवार बनेका छन् । 

सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियो : प्रधानमन्त्री

निर्धारित समय–तालिकाभित्र उत्साहजनक रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएपछि मंगलबार प्रधानमन्त्री सुशीला कार्कीको सन्देश–

नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने आजको राष्ट्रिय उत्साहले पुन: पुष्टि गरेको छ । निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको छ । अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णत: अन्त्य भएको छ । सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण इमान र सामथ्र्यका साथ लागिपरेको पुन: स्मरण गराउँछु । सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता गरिनेछैन ।

सरकार छाडेर चार मन्त्री बने उम्मेदवार
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मुख्य दायित्व निर्वाचन गराउनु भए पनि सोही सरकारका चार मन्त्री बिचमै राजीनामा दिएर उम्मेदवार बनेका छन् । ऊर्जामन्त्रीबाट राजीनामा दिएर उज्यालो नेपालको नेतृत्व लिएका कुलमान घिसिङ काठमाडौं ३ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सिराहा १ बाट रास्वपा उम्मेदवार बनेका छन् । सोमबार मात्रै राजीनामा दिएका सञ्चारमन्त्री जगदीश खरेल ललितपुर २ बाट रास्वपाबाट उम्मेदवार बनेका छन् । धेरैले अनुमान नै नगरेका शिक्षामन्त्री महावीर पुन पनि उम्मेदवार बनेका छन् । मंगलबार एकाएक राजीनामा दिएर म्याग्दी पुगेका उनले त्यहीँबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

१६५ क्षेत्रमा यी हुन् प्रमुख दलका उम्मेदवार

  • मंगलबार : मनोनयन । बुधबार र बिहीबार : उजुरी र जाँचबुझ । शुक्रबार : उम्मेदवारी फिर्ता लिने समय र आयोगबाट अन्तिम नामावली सार्वजनिक

सुझावित समाचार