सहिदको सपनालाई सजीव बनाएर समाजवादको यात्रा गर्न रुकुमपूर्व आएँ : प्रचण्ड

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले आफू रोल्पाबाट चुनाव लडेको र अहिले पाँचौँपटक रुकुमपूर्व आइपुगेको बताए।

‘आफ्नो मौलिक चिन्तन भन्नुस् या विशेषता एकैठाउँ दोहोर्याएर चुनाव लडेको छैन,’ प्रचण्डले भने, ‘रोल्पा–काठमाडौं, सिराहा, चितवन, गोरखा हुँदै अहिले रुकुमपूर्वमा आइपुगेको छु। सुरु रोल्पाबाट भएको थियो, अहिले पाँचौँ निर्वाचन रुकुमपूर्वबाट लड्दै छु।’

प्रचण्डले जनयुद्धका सहिद लक्षिराम केसीका छोरा जीवन खड्का र जेन-जी युवा कालीप्रसाद रोकाको प्रस्ताव तथा भिउमान घर्ती र कुमारी बरालको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।

देशमा भइरहेको असहज राजनीतिक परिस्थितिलाई सहजीकरण गर्न पनि आफू रुकुमपूर्व आएको प्रचण्डको भनाइ थियो। उनले जनयुद्ध र जनक्रान्तिका सबै सहिद तथा बेपत्ता योद्धाहरूका सपनाहरूलाई सजीव बनाएर समाजवादतिरको यात्रा आरम्भ गर्ने र जिल्लाको विकास निर्माणको कामलाई गति दिएर हिजो जनयुद्धका आधार इलाकाहरू विकासमा पनि अब्बल छन् भन्ने स्थापित गरेर मात्रै समाजवादको यात्रा सहज गर्न सकिन्छ भन्ने विश्वासले आफू रुकुमपूर्व आएको बताए।

रुकुमपूर्व माओवादीको उद्गम थलो मानिन्छ। यहाँ अहिले पनि माओवादीको वर्चश्व छ। रुकुमपूर्वमा ३४ हजार ७७२ मतदाता छन्। मनोनयन दर्ताकै दिन नेकपा एमाले रुकुमपूर्वका पूर्वअध्यक्ष टोपबहादुर ओलीसहित १२ जनालाई प्रचण्डले पार्टी प्रवेशसमेत गराए। जनार्दनको सिको गर्दै प्रचण्डले यस क्षेत्रको चर्चित मयूर नाचसमेत नाचेका छन्।
 

सुझावित समाचार