भेनेजुएलाबारे किन मौन छन् पुटिन ?

पुटिन अमेरिकासँग तनाव बढाउने जोखिम लिन चाहँदैनन्, यही कुराले उनको मौनताको व्याख्या गर्छ

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

युक्रेनमा जारी रुसी ‘विशेष सैन्य अपरेसन’का सबैभन्दा ठुला समर्थक समूह मानिने रुसका देशभक्त ब्लगर तथा युद्ध संवाददाताहरू अहिले आक्रोशित छन् । अमेरिकी सरकारले रुसको सहयोगी देश भेनेजुएलामा सेना पठाएर त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गर्यो । त्यसको केही समयपछि अमेरिकी नौसेनाले भेनेजुएलानजिक रुसी झन्डावाहक तेल ट्यांकरसमेत कब्जामा लियो । लगत्तै माथि उल्लेखित समूह रुसले अमेरिकी जहाजहरूलाई डुबाउनुपर्ने भन्दै दबाब दिन थाले । शत्रुहरूमाथि आणविक मिसाइल हान्न पनि पछि पर्न नहुने तिनको आह्वान छ । 

तर, यी सबका बिच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने अहिलेसम्म भेनेजुएलामा अमेरिकी कारबाहीबारे आधिकारिक टिप्पणी गरेका छैनन् । निश्चित रूपमा, रुसी विदेश मन्त्रालयले स्पष्ट भाषामा भेनेजुएलामा अमेरिकाको ‘सशस्त्र आक्रमण’लाई ‘स्वतन्त्र राज्यको सार्वभौमिकतामाथिको अस्वीकार्य उल्लंघन’ भन्दै निन्दा ग¥यो । उसो त राष्ट्रपति पुटिनले विश्वका ठुला घटनामा बिरलै तत्कालै प्रतिक्रिया दिन्छन् । उनी त घटनाक्रम कसरी विकास हुन्छ, त्यसैअनुरूप आफ्नो प्रतिक्रियालाई आकार दिन्छन् । पुटिनको यो शैली कहिलेकाहीँ चतुर र आत्मविश्वासी लाग्छ, तथापि भेनेजुएलाको सन्दर्भमा भने पुटिनको मौनतालाई उनको कमजोरीका रूपमा अथ्र्याइँदै छ । 

भेनेजुएलामाथि अमेरिकी आक्रमण गर्नुअघि पुटिन युक्रेनमा कायम रुसको स्थितिबारेमा धेरै विश्वस्त देखिन्थे । हुन पनि ट्रम्पले रुसप्रति स्पष्ट झुकाव देखाउने खालको ‘शान्ति योजना’लाई प्रवद्र्धन गरिरहेका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि रुसले कब्जा गरेका क्षेत्रबाट आफ्ना सेना फिर्ता लिन ठुलो दबाब थियो । युक्रेनी ऊर्जा पूर्वाधारमाथि बारम्बार भइरहेका रुसी आक्रमणले जाडोको समयमा बिजुली कटौती हुँदा युक्रेनले घुँडा टेक्ने र आफ्ना शान्ति सर्त स्वीकार गर्नेमा पुटिन विश्वस्त देखिन्थे । तर, ट्रम्प प्रशासनको हालैका कदमले पुटिनको विश्लेषणमै शंका उत्पन्न गरेको छ । 

पुटिन विश्वका ठुला घटनामा तत्कालै प्रतिक्रिया बिरलै दिन्छन् । घटनाक्रम कसरी विकास हुन्छ, त्यसैअनुरूप आफ्नो प्रतिक्रिया दिन्छन् । पुटिनको यो शैली कहिलेकाहीँ चतुर र आत्मविश्वासी लाग्छ, तथापि भेनेजुएलाको सन्दर्भमा भने पुटिनको मौनतालाई उनको कमजोरीका रूपमा अथ्र्याइँदै छ । 

उसो त अमेरिकाले अझै पनि युक्रेनमा शान्ति प्राथमिकतामा रहेको बताउँछ । र, युक्रेनका लागि अमेरिकाले हालै अघि सारेको सुरक्षा सुनिश्चिततामा अमेरिकी सेना तैनाथीको विषय समावेश छैन, जुनबारे रुसले पहिलेदेखि कडा विरोध जनाउँदै आएको छ । भेनेजुएलानजिक रुसी जहाज रोक्ने अमेरिकी कदमलाई पुटिनको अपमानका रूपमा व्याख्या गर्न त सकिन्छ, तर ट्रम्प प्रशासनले सो जहाज खासमा भेनेजुएलाको भएको दाबी गर्दै पुटिनको सम्मान गर्ने प्रयास गरेको छ । जहाजको कारिन्दाले अमेरिकी नियन्त्रणबाट बच्न त्यसमा रुसी झन्डा फहराएको बताएका छन् । जहाजमा रहेका दुई रुसीचालक दलका सदस्यहरूलाई अमेरिकाले रिहा गरेर सकारात्मक संकेत दिने प्रयास गरेको छ । 

ट्रम्प प्रशासन नोभेम्बरमा अगाडि सारिएको युक्रेन शान्ति योजनालाई रुसले पूर्ण रूपमा अस्वीकार गरेदेखि निःसन्देह दुःखी छ । ट्रम्प अहिले लामो समयदेखि रोकिएको रुसलक्षित एक कठोर प्रतिबन्ध कार्यान्वयनमा सकारात्मक भएको समाचार आएको छ । त्यो प्रतिबन्ध लागू भयो भने जानाजानी रुसी तेल वा युरेनियम खरिद गर्ने देशहरूका सामानमाथि ५०० प्रतिशतसम्मको भन्सार शुल्क लाग्नेछ । पुटिन कमजोर देखिन मन पराउँदैनन्, तर साथै उनी अमेरिकासँग तनाव बढाउने जोखिम पनि लिन चाहँदैनन् । यही कुराले उनको मौनताको व्याख्या गर्छ । तथापि, उनको सहन गर्ने विषयका पनि सीमा छन् । अहिलेको मुख्य प्रश्न, ट्रम्प प्रशासन त्यो सीमा के हो भनेर पत्ता लगाउन कतिसम्म दबाब दिन तयार छ भन्ने हो ।

धेरै पश्चिमा पर्यवेक्षक अहिले रुसमाथि कडाइ गर्न उपयुक्त समय भएको औल्याइरहेका छन् । यसअन्तर्गत प्रतिबन्ध बढाउनुपर्ने, युक्रेनलाई थप हतियार आपूर्ति बढाउनुपर्ने र पश्चिमी प्रतिबन्धबाट बच्न गोप्य रूपमा रुसी तेल बोक्ने ‘गोप्य जहाजको सञ्जाल’लाई सीधै निसाना बनाउनुपर्ने उपाय सुल्झाइँदै छ । उता जेलेन्स्की भेनेजुएलामा अपनाइएको नेताको अपहरणको कदमलाई रुसमा मात्र नभई चेचन्यामा पनि दोहोर्याउन प्रोत्साहित गर्ने हदसम्म अघि बढेका छन् । 

ट्रम्पले अमेरिकी सेनालाई रुसमा पठाउने विचार काल्पनिक भए पनि, भेनेजुएलामा भएको सैन्य अपरेसनको सफलताले उनको भित्री घेराका गरमपन्थी हौसिएका छन् । ‘हामी एक महाशक्ति राष्ट्र हौँ,’ ह्वाइट हाउसका ‘डेपुटी चिफ अफ स्टाफ’ स्टिफन मिलरले हालै जोड दिँदै भने, ‘अब हामी आफूलाई एक महाशक्तिको रूपमै प्रस्तुत गर्नेछौँ ।’ यो धम्कीपूर्ण मानसिकताले अमेरिकाले पुटिनले अस्वीकार्य ठानेको रेखासमेत पार गर्ने हो कि भन्ने शंकालाई बल दिन्छ । 

जस्तो भोलिका दिनमा ठुलो संख्यामा रुसी तेल जहाजहरूलाई लक्षित गरिने योजना अघि सारिन सक्छ । रुसमाथि कठोर सर्त सहितको शान्ति योजना लाद्ने प्रयास हुन सक्छ । वा इरानमा जस्तै रुसमै पनि आन्दोलनकारीलाई प्रदर्शन निरन्तरता दिन प्रोत्साहन गरिन सक्छ । पुटिनसँग अमेरिकाविरुद्ध प्रयोग गर्न सकिने थोरै मात्र विकल्प छन् । यदि अमेरिकी नौसेनाले रुसी तेल ट्यांकर कब्जा गर्न चाह्यो भने रुसलाई त्यो रोक्न कठिन हुनेछ । जहाजमा सशस्त्र गार्ड राखेर वा ट्यांकरनजिकै रुसी युद्धपोत तैनाथ गरेर अमेरिकी फौजलाई रोक्न सकिँदैन । रुसको एक मात्र वास्तविक लाभ भनेको यसको आणविक हतियार हो । र, पुटिनले आणविक हतियार प्रयोगको अल्टिमेटम जारी गर्न सक्छन् । तर, फेरि त्यसलाई गम्भीरतापूर्वक नलिइने सम्भावना पनि रहन्छ । 

चीनजस्तो सैन्यशक्तिसँग मिलेर रुसले धम्की जारी गर्यो भनेचाहिँ त्यसको वजन बढी हुन सक्छ । तर, चीनसँग अमेरिकाविरुद्ध प्रयोग गर्न अरू नै धेरै दबाबका क्षेत्र छन्, जुन उसले केहीअघि दुर्लभ–खनिज तत्वको आपूर्ति शृंखला नियन्त्रण गरेर देखाइसकेको छ । पुटिनले यसअघि पनि पटक–पटक आणविक हतियारको प्रयोगको चेतावनी दिइसकेका छन् । आणविक आक्रमणको जवाफमा अमेरिकाले पनि निःसन्देह उस्तै हतियारबाट प्रतिक्रिया दिनेछ । जबसम्म युक्रेन युद्ध चलिरहनेछ, सर्वनाशकारी परिदृश्यको जोखिम कायम रहिरहनेछ ।

जेलेन्स्कीको कुरा गर्ने हो भने, उनी विशेष होसियार हुनुपर्नेछ । पुटिनले ट्रम्पको सामना गर्न चाहँदैनन् होला, तर अमेरिकाले मदुरोलाई उनकै भूमिमा कब्जा गरेपछि रुसमा पनि आफूमा पनि शत्रुविरुद्ध त्यस्तै कदम उठाउन सक्ने क्षमता रहेको देखाउने हुटहुट आएको हुन सक्छ । विशेष गरी उत्तरी नोभगोरोड क्षेत्रमा पुटिनको निवासमा कथिन ड्रोन आक्रमणपछि यसको सम्भावना झन् बढेको छ । युक्रेनले त्यो आक्रमणमा कुनै पनि संलग्नता नरहेको बताइसकेको छ । उसका अनुसार रुसले नभएको कुरामा जोड दिएर शान्ति वार्तालाई भाँड्न खोजेको हो । तर, पनि रुसले उक्त कदमको बदला लिइछाड्ने वाचा गरेको छ । जे भए पनि, युक्रेनका ऊर्जा पूर्वाधारमाथि रुसी आक्रमण जारी रहनेछ र भेनेजुएलाको विषयमा पनि पुटिनको मौनता अहिलेजस्तै कायम रहनेछ ।
प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार