नेकपा(एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टीले उम्मेदवार छनोटमा इच्छा र पक्षधरतालाई आधार बनाउँदा आन्तरिक एकतालाई कमजोर बनाएको बताएका छन्। शनिबार बसेको सचिवालय बैठकले कुनै मापदण्ड नबनाई उम्मेदवार छनोट गरेकोमा फरक मत राखेका छन्।
उनले पार्टीमा चारबुँदे फरक मत बुझाएका छन्। जसमा मापदण्ड नबनाएको, हालै सम्पन्न महाधिवेशनका आधारमा पक्षधरता देखाएको, केही नेताहरूलाई पुरानो क्षेत्र छाडेर सुरक्षित क्षेत्रतर्फ जाँदा स्वाभिमानी कार्यकर्तामाथि अनदेखा भएको लगायत विषय छन्।
उनको फरक मतमा भनिएको छ, ‘मापदण्ड नबनाई उम्मेदवार छनोट गर्दा योग्यता, क्षमता, बौद्धिकता, पार्टीप्रतिको निष्ठा तथा निरन्तरता भन्दा पक्षधरतालाई आधार बनाएको देखिन्छ।’ जसकारण पार्टी निर्णयप्रति देशभरि एकस्वरले समर्थन नरहेको उनको भनाइ छ।
उनले पक्षधरताको विषय पनि उठाएका छन्। ‘हामीले हालै पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न गरेका छौँ। त्यस अवसरमा नीति र नेतृत्वका सन्दर्भमा प्रतिस्पर्धा भएको विदितै छ,’ उनको फरक मतमा भनिएको छ, ‘प्रतिनिधिसभाको उम्मेदवार छनोटका वेला महाधिवेशनमा गरिएको प्रतिस्पर्धाका वेलाको पक्षधरता प्रस्ट रूपमा देखिन्छ।’
पार्टीले आफ्नो प्रक्रियाबाट निर्णय गरिसकेको सन्दर्भमा त्यसमाथिको समीक्षा उचित समयमा हुने उल्लेख गर्दै उनले चुनौतीपूर्ण समयमा एमालेको विजय पहिलो सर्त रहेको भन्दै सम्पूर्ण पार्टी सदस्यहरूलाई विचलित नहुने, सुदृढ एकता र उत्साहका साथ चुनावी अभियानमा सक्रिय हुन भट्टराईले आग्रह गरेका छन्।