दु:ख सुनाउन काठमाडौं गएको कवि गाउँ फर्किनुपर्छ

शनिबार, ४ माघ, २०८२
डिजिटल संस्करण

कवि हाङयुग अज्ञात इलाममा बस्छन् । टिनको छाना र बाँसको भित्ता भएको घरलाई उनले नाम दिएका छन्, कवि–कुञ्ज : हाङयुग अज्ञात निवास । ‘रंगीन आविष्कार’, ‘ढुंगामुडाको मान्छे,’ ‘करङको हिरासत,’ ‘आधा रातको तङ्सिङ’जस्ता रुचाइएका वैचारिक कवितासंग्रहका सर्जक अज्ञातले भर्खरै आफ्ना प्रतिनिधि कविताको संग्रह पनि प्रकाशित गरेका छन् । लामो समय हङकङ बसेका उनी आधा दशकदेखि गाउँमा बस्दै आएका छन् । उनीसँग राजु स्याङ्तानले गरेको गाउँ–संवाद :

पश्चिमा दर्शनको राम्रो जानकार एकजना खरो कविलाई इलामले कसरी ‘थेगिरहेको’ होला ?
पाँचथर, झापा, काठमाडौं र हङकङमा आफ्नो जीवनकै ऊर्जाशील समय बिताएर इलाम फर्किएको पाँच वर्षजति भो होला । ‘तपाईंजस्तो मान्छे काठमाडौंमै बस्नु नि अवसर त्याँ धेरै छन्’ भनेर इलामका नेताले मलाई सुझाव नि दिएका थिए । मैले उहाँहरूलाई भनेँ, ‘अनि तपाईंहरू चैँ किन काठमाडौंको मेयर बन्न नजानुभाको ?’ इलाममा कसैको कुर्सी खोस्न आएकोजस्तो व्यवहार गरिएकै हो मलाई । तर, म इलामका दु:ख, अभाव र श्रमिक वर्गसँग मेरो अनुभव बाँड्न आएको हुँ । यो अर्थमा मलाई ‘पागल’ भन्दारहेछन् । एउटा ‘पागल’लाई थेगिरहेको छ इलामले ।

 इलाम सानो भयो जस्तो लाग्दैन ?
 नेपालभरिमा इलाम मात्रै त्यस्तो जिल्ला होला, जहाँ हिमाल, पहाड र मधेश छ । इलाममा कर्णाली पनि छ, काठमाडौं पनि छ । भूगोलको विविधता त छँदै छ, त्योभन्दा पनि महत्वपूर्ण कुरा भनेको इलाममा सांस्कृतिक विविधता छ, विभिन्न जातजाति र सम्प्रदाय आआफ्ना थातथलोमा मिलेर बसेका छन् । भूपि शेरचनले देखेको तर नभोगेको इलामको यो विशालतामा म ब्रह्माण्डमा एउटा तोरीको गेडाजस्तो मात्रै हुँ ।

गाउँबारे कविता लेख्ने कविहरू सहरमा अटाइ नअटाइ छन् । ग्रिक मिथकको जोकास्टाबारे कविता लेख्ने तपाईंचाहिँ गाउँमा हुनुहुन्छ । यो संयोग मात्रै हो कि यसमा केही दर्शन लुकेको छ ? 
‘घरतिर जाँदा वनतिर मुख, वनतिर जाँदा घरतिर मुख’ भनेजस्तै हामी अधिकांश कवि–लेखकको बाध्यता भनौँ कि वैचारिकी भनौँ, अहिलेसम्मको तथ्यांकअनुसार जति पनि राज्यद्वारा विभूषितहरू जो छन्, ती सप्पै काठमाडौंमा झुम्मिएका गाउँबाटै गएकाहरू छन् । केन्द्र भत्किनुपर्छ भन्नेहरू पनि केन्द्रमै । खै ! के ढुकेर बसेका हुन् ? तर, मलाई लाग्छ, देश संघीयतामा गइसकेपछि काठमाडौंमा गाउँको दु:ख सुनाउन गएको कवि आफ्नै गाउँमा फर्किनु जरुरी छ । नत्र, सिद्धान्त गुल्टिन्छ । सिद्धान्त एकातिर, व्यवहार अर्कोतिर भयो भने आफूले लेखेका रचना आउने पुस्ताले पत्याउनेछैनन् ।

दु:ख मुग्लिनको पहिरोजस्तो हो, हरेक वर्ष आइरहन्छ । त्यसैले केन्द्रमै बसेर हस्तक्षेप गरिरहने हो भन्ने पनि होला कि ! 
केन्द्रमै बसेर हस्तक्षेप गरिरहने अवधारणा त बहत्तर सालको संविधानअगाडिको विचार भयो । किन संघीयता फ्लप हुँदै छ भन्दा एउटा प्रमुख कारण त हामीमा अझै काठमाडौंको ह्याङओभर छ । ठिकै छ, केन्द्रमै बसेर केन्द्रसँग प्रतिरोध गर्दा हुन्छ, तर यहाँ के भैराछ भन्दा केन्द्रमा बसेर गाउँ केही होइन, प्रदेश केही होइन भनिराछन् । केन्द्र नै सर्वेसर्वा हो, केन्द्रविना बाँकी भ्रम हो भन्ने जुन मनोविज्ञानको विकास भएर गाको छ, यसमा मेरो असहमति छ । गाउँमा दु:ख छ भनेर काठमाडौं जानु भनेको नेपालमा दु:ख छ भनेर विदेश जानुजस्तै हो । दु:खले रूप मात्रै फेर्छ, दु:ख सबैसँग सबै ठाउँमा हुन्छ । काठमाडौं नै अन्तिम सत्य होइन भन्ने मेरो जिकिर हो ।

ढुंगा बोक्नेदेखि ढुंगा बेच्नेसम्मका नेताहरू हामीसँग उपलब्ध छन् । एकजना कविको अन्तरदृष्टिबाट हेर्दा गाउँका ढुंगाहरूको, हावा, रुख, पातपतिंगरहरूको खास मर्म, भाषाचाहिँ के रहेछ ? 
ढुंगा त गाउँका मान्छेले बोकेका, फुटाएका, लडाएका तीन सय वर्ष पुग्न लाग्यो होला । ढुंगा बेच्नेले चैँ ढुंगा मात्रै बेचेनन्, सिंगै नदी बेचे, पहाड बेचे । गाउँमा हाम्रा खोलामा हाइड्रोपावर खोलिएका छन्, तर ती हाइड्रोपावरका मालिक बाहिरका छन्, बाहिरकाले हाम्रो गाउँको खोलानालाको शोषण गरिरहेका छन् । प्राकृतिक स्रोतसाधनमाथिको अधिकार स्थानीयको हुनुपर्ने होइन र ? त्यसकारण, ढुंगा बोक्ने र बेच्ने दुवैथरिका नेताहरूका निम्ति म उपलब्ध छैन ।

गाउँ खुम्चिँदै छ, सहर फैलिँदै छ । नेताहरू भन्छन्, गाउँ नसिध्याइ विकास हुँदैन, अभियन्ता भन्छन्, गाउँ सिध्याउनु भनेको सभ्यता सिध्याउनु हो । यो विषयलाई तपाईंले कसरी हेरिरहनुभएको छ ?
मैले बुझेको गाउँ प्रकृति र संस्कृतिको संगम हो । र, मलाई लाग्छ सहर भनेको संस्कृति हो । संस्कृति मानव निर्मित हुन्छ । भौतिक रूपमा हेर्दा गाउँ, गाउँ नै छैन अब । अनि सहर त संसार भइसक्यो । तर, मलाई लाग्छ, हिजोआज सहरले पनि गाउँ बन्ने नाटक गर्दै छ, गमलामा अकबरे र साग रोपेर गाउँ हुने प्रयास गर्दै छ । तब यसो सोच्छु, गाउँको पनि संसार छ । मूलत: नब्बेको दशकमा भएको मासमिडिया क्रान्तिले सहरमा गाउँलाई पुर्यायो र गाउँमा सहरलाई पुर्यायो । त्यसकारण, अहिलेको अवस्थामा गाउँलाई सिध्याएर विकास हुन्छ भन्ने विचार डोजरवादी नेताको होला । गाउँ सिद्धिँदै फेरि सभ्यता नै सिद्धिन्छ भन्ने कुरो पनि अतिरञ्जित हो कि ! किनभने यो पृथ्वीबाट धेरै सभ्यता गाउँबाट सिद्धिएका छैनन् । जस्तो– माया सभ्यता कसरी सिद्धियो ? मोहेनजो दारो र हडप्पा सभ्यताहरू सहरमा सिद्धिए नि ! त्यसो भए हाम्रो सभ्यता खतराउन्मुख छ कि हामी ठिकै बाटोमा गइरहेका छौँ ?

हाम्रो आफ्नै मौलिक दर्शन अतिक्रमणमा छन् । चाहे गाउँमा होस्, या सहरमा । पुँजी र उपभोक्तावादी संस्कृतिले हामीलाई खतरापूर्ण अवस्थामा पुर्याएको छ । प्रतिरोधात्मक चेतनाको विकासले मात्रै हाम्रो मौलिक संस्कृतिलाई प्रकृतिसम्मत अगाडि लान सकिन्छ, यसो गरियो भने मात्रै समानता र न्यायमूलक समाजको निर्माण हुन्छ भन्ने लाग्छ ।

प्रकृतितिर फर्क भन्ने धारणा संसारमा बढ्दै गएको देखिन्छ । तपाईं हङकङ छाडेर धेरै वर्षदेखि गाउँतिरै हुनुहुन्छ । प्रकृतितिर फर्किएपछि कविता–कर्ममा के–कस्तो फरक पर्दो रहेछ ?

कविता–कर्मभन्दा पनि गाउँमा मेरा कविताका पात्रसँग प्रत्यक्ष हिँड्छु, डुल्छु, सुखदु:ख साट्छु, जसका कारण मैले कृत्रिमताको फुलबुट्टा भर्नुपरेको छैन । कवि भनेको यही हाम्रै समाजवरिपरिको हामीजस्तै हाम्रै संघर्ष र विद्रोह ओकल्ने मान्छे न रहेछ भन्ने आत्मविश्वास गाउँलेमा पलाएको देखेर मैले गाउँ फर्किएर ठिकै गरेछु जस्तो लाग्दै छ ।

एआईले कविता–गीत लेख्न–गाउन थाल्यो । संगीतकर्मी चिन्तित छन् । तपाईंले भर्खरै गाउँतिरै बसेर छानिएका कविताको संग्रह निकाल्नुभयो । यो उत्तरआधुनिक समयको रफ्तारले अबको कविता लेखनमा के–कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ?
एआईले लेखेको कविता र कम्पोज गरेर गाएको गीतले एक किसिमको आनन्द प्रदान गरे पनि साहित्यकलामा हुनुपर्ने विशेष तत्व मिसिङ भएझैँ लाग्छ । त्यो विशेष तत्व भनेको मानवीय संवेदना नै हो । सुगाले गोपी कृष्ण को हो भनेर बोले झैँ मात्रै हो एआई । गाउँमा लेखिनुपर्ने कुरा धेरै छन्, अन्वेषण गर्नुपर्ने विषयवस्तु थुप्रै छन्, जो एआईले गर्न सक्दैन । हामी भोगेर लेखिराछौँ, त्यो भोगाइ एआईले भोग्न सक्दैन । समय आफ्नै रफ्तारमा हुन्छ, कवि–लेखकले समयभन्दा अलि अगाडि गएर सोच्नुपर्छ जस्तो लाग्छ । जे चलिरहेको छ, त्यसैमा भुलिन थालियो भने सामाजिक विभेद र असमानताबारे कसले लेख्ने ? भिडकै पछि हिँड्न थाल्ने हो भने गोपालप्रसाद रिमालको ‘आमा’ कविता जलाइदिए भो ।

साहित्यमा ‘सिर्जनशील अराजकता’ अभियान चलाउनुभयो । जेन–जी आन्दोलनपछि अब पहिचानको आन्दोलन उठ्नै नसक्ने गरी माटोमा बिलायो भन्ने निष्कर्ष यदाकदा सुनिन्छ । यसबारे के भन्नुहुन्छ ? 
पहिचानका धेरै आयाम छन् । राजनीतिक रूपमा तत्कालीन माओवादीले देशभर एकप्रकारको चेतना प्रसारण गरेकै हो । तर, यता मैले बाँचेको समाजमा जनयुद्धभन्दा अगाडिदेखि नै पहिचानको मुद्दा भुसको आगोजस्तो भित्रभित्रै सल्किरहेको नै थियो । किनभने, लिम्बुवान राज्य गोर्खाराज्यसँग पराजित भएको थिएन । नुनपानीको सम्झौता गरेर किपट व्यवस्थाद्वारा स्वायत्त राज्य लिम्बुवान थियो । बिस्तारै गोर्खाराज्यले जालझेल गर्दै महेन्द्रको पालासम्म आइपुग्दा त भूमिसुधारका नाममा किपट जमिनलाई रैकरमा परिवर्तन गरिदियो, अब हामीले गोर्खाराज्यलाई कर तिर्नुपर्ने भो । अघि गरिएका वाचा एकतर्फी रूपमा उनीहरूले तोड्दै गए । जेन–जी पुस्तालाई यी कुरा बुझाउन पनि हामीले आराम गर्ने वेला भएको छैन । हाम्रो संघर्षलाई अझै संगठित गर्दै सत्य र न्यायको पक्ष उभिरहनुपर्छ । धरानका मेयर हर्कजीले बुझाउन खोजेको पहिचान फेरि अर्कै खालको हो ।

सुझावित समाचार