कसैले पनि हारेको रूपमा महसुस गर्नुपर्नेछैनः प्रदीप पौडेल

शनिबार, ३ माघ, २०८२
डिजिटल संस्करण

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले दोस्रो विशेष महाधिवेशनपछि पार्टीभित्र एकता सुदृढ गर्दै अघि बढ्ने स्पष्ट संकेत दिएका छन्। उनले महाधिवेशनमा सहभागी हुन नसकेका नेताकार्यकर्तालाई पनि सहयात्रामा जोडिन आह्वान गरेका छन् । 

निर्बाचन आयोगले मान्यता दिएपछि प्रतिक्रि दिंदै महामन्त्री पौडेलले भने, “हिजो दोस्रो विशेष महाधिवेशनमा नजोडिएका साथीहरू पनि अब संगै सहयात्रा गरौं। हामी हिजो पनि एक थियौँ र भोलि पनि सँगै हुनेछौँ।”

उनले कसैले पनि आफूलाई पराजित महसुस गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले पार्टीभित्रको एकता प्राथमिकता भएको बताए। “हामी कसैले पनि हारेको रुपमा महसुस गर्नुपर्ने छैन। सबै मन र मुटुलाई एउटै छातामुनि गोलबद्ध बनाउन इमान्दार प्रयत्न जारी रहनेछ,” उनले भने।

महामन्त्री पौडेलले अबको काँग्रेस यात्रामा युवा पुस्ता, विशेषगरी जेन–जी पुस्ताको भूमिकालाई निर्णायक बताए। उनका अनुसार बदलिएको नीति र नेतृत्वसहित पार्टीलाई अझ सबल र एकताबद्ध बनाइनेछ। “अबको यात्रामा युवा पुस्ता (जेन–जी) ले उठाएको आवाजलाई बुलन्द पार्न चारतारे झण्डामुनि हामी सबै गोलबद्ध हुनेछौं,” उनले उल्लेख गरे।

जेन–जी पुस्तालाई लक्षित गर्दै उनले थपे, “तपाईँले खोजेको रुपान्तरित नेपाल निर्माणको महाअभियानमा हामीसँगै सहकार्याका लागि आह्वान गर्दछौं।”

मुलुक आम निर्वाचनको संघारमा उभिएको सन्दर्भ उल्लेख गर्दै महामन्त्री पौडेलले नागरिकले अब सबल, सक्षम, एकताबद्ध र विधिमा चल्ने नेपाली काँग्रेस खोजिरहेको बताए। “अबको काँग्रेस निर्वाचनमार्फत देशको बागडोर सम्हाल्ने र नागरिकको समृद्धिको सपना पूरा गर्नेतर्फ केन्द्रित हुनुपर्छ,” उनको भनाइ छ।
 

सुझावित समाचार