२५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा शुक्रबार सशस्त्र प्रहरी बल नेपालको भूमिका, चुनौती र भावी रणनीतिबारे एकदिने अन्तर्क्रिया तथा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो गोष्ठीमा पूर्वसुरक्षा अधिकारी, सीमाविद् तथा सुरक्षाविदलगायतको उपस्थिति थियो ।
कार्यक्रममा आइजिपी अर्यालले संगठनले २५औँ वसन्त पार गर्दा केवल उत्सवको रूपमा नभई विगतमा भए–गरेका कामकारबाहीको उपलब्धि, भावी रणनीति तथा चुनौतीबारे छलफल गरी आगामी दिनमा थप प्रभावकारी रूपमा अगाडि बढ्न प्रतिबद्ध रहेको उल्लेख गर्दै सकल दर्जाले मुलुकप्रति वफादार, आमजनताको सेवा, संंगठनको हित र बर्दीको सान हुने गरी कार्य गर्नसमेत निर्देशन दिए।
सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै देशको शान्ति सुरक्षा, विपत् व्यवस्थापन, सीमा सुरक्षा, राजस्व संकलनलगायतका कार्यहरूमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै अन्तर्क्रिया तथा विचार गोष्ठी कार्यक्रमले विगतका उपलब्धिहरूबाट प्रेरणा लिन, वर्तमान सुरक्षा चुनौतीको सामना गर्न तथा भावी रणनीति बनाउन उल्लेख्य सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे।
महानिरीक्षक अर्यालले द्वन्द्व र शान्ति प्रक्रियादेखि ०७२ सालको महाभूकम्प, बाढीपहिरो, हिमपहिरो, डुबान, आगलागीजस्ता विपत् उद्धारका कार्यमा सशस्त्र प्रहरी बल नेपाल अग्रपंक्तिमा रही कार्य गर्दै आएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय खुला सिमानामा नियमित गस्ती, लागुऔषध बेचबिखन तथा ओसारपसार, तस्करी, आपराधिक गतिविधि नियन्त्रणमा आएको बताए।
रजत महोत्सव मनाउने क्रममा हालसम्म गरेका संस्थागत योगदानको समीक्षा र विविध चुनौतीहरूको सामना गर्न भावी रणनीतिको तर्जुमा, संगठनलाई थप प्रभावकारी, व्यावसायिक तथा सक्षम बनाउने उद्देश्यअनुरूप सुरक्षाविद्, सीमाविद्, विपतविज्ञ, पूर्वसुरक्षाकर्मी तथा सम्बन्धित विज्ञहरूको सहभागितामा एकदिवसीय अन्तर्क्रिया एवं विचार गोष्ठी कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
अन्तर्क्रिया कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सशस्त्र प्रहरी बल नेपालको २५वर्षे यात्रा : भूमिका, उपलब्धि र संस्थागत सिकाइ सम्बन्धमा प्रस्तुतीकरण गर्नुका साथै सीमित स्राेतसाधनका बाबजुद पनि सशस्त्र प्रहरी बल, नेपाललाई प्राप्त कार्यादेशहरू उत्कृष्ट ढंगमा निर्वाह गर्दै आइरहेको उल्लेख गरेका थिए।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका अध्यक्ष डा. आमोदमणि दीक्षितले विपत् उद्धारका क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल जनमानसमा ‘आपतविपतमा सशस्त्र प्रहरी हाम्रो साथी’को रूपमा परिचित रहन सफल भएको बताए।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्ट विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको र हालैका दिनमा हिमाली क्षेत्रमा समेत उद्धारमा सक्रिय रहेको सशस्त्र प्रहरी बल नेपाललाई विपत् व्यवस्थापनको क्षेत्रमा संस्थागत विकास र स्रोतसाधनका साथै तालिम तथा क्षमता अभिवृद्धि गर्न राज्यले नै थप बजेट तथा लगानी बढाउन आवश्यक रहको बताए।
त्यसैगरी अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल राष्ट्रिय गौरवको संस्था भएको र यस संगठनलाई विपत् व्यवस्थापन क्षेत्रमा थप प्रभावकारी बनाउन प्रविधि तथा स्रोतसाधनसम्पन्न र कानुनी रूपमा नै डेडिकेटेड फोर्सको रूपमा परिचालन गर्न आवश्यक रहेको बताए।
अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले बहुआयामिक रूपमा विपत् व्यवस्थापनका क्षेत्रमा प्रविधि तथा स्रोतसाधनसम्पन्न भई विपत् प्रतिकार्यमा भन्दा पनि पूर्वतयारीमा बढी जोड दिन आवश्यक तथा समुदाय र सम्बन्धित सबै सरोकारवाला निकायहरूसँगको सहकार्य र समन्वयमा कार्य गर्न जरुरी रहेको बताए।
कार्यक्रममा डा. ईन्द्र अधिकारीले विपत् व्यवस्थापनमा थप प्रभावकारी बनाउन पूर्वतयारी र सही सूचनाका साथसाथै सशस्त्र प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराई संरचनात्मक विकास गर्न र उच्च भूभाग क्षेत्रमा उद्धार कार्यका लागि हेलिकाेप्टरको समेत व्यवस्था गर्न आवश्यक रहेको बताइन्।
अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोविन्दप्रसाद थापाले सुरक्षा तथा विपत् व्यवस्थापनसँग सम्बन्धित यस्ता अन्तर्क्रिया कार्यक्रम अत्यन्तै आवश्यक रहेको साथै यस क्षेत्रमा सरकार र समुदाय दुवैको ठुलो भूमिका हुने भएकोले सशस्त्र प्रहरी बल नेपालले समुदायस्तरमै यससँग सम्बन्धित तालिम, अनुशिक्षणका कार्यक्रमहरू सञ्चालन गर्दै समन्वयात्मक ढंगमा कार्य गर्दै आइरहेको बताए।
नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल दत्तचित्त भई कार्य गर्दै आइरहेको र अझ विशिष्टीकृत गर्न, भविष्यमा समेत नेपाली भूमि अतिक्रमण हुन नदिन सशस्त्र प्रहरी बल नेपाललाई आवश्यक भौतिक पूर्वाधार तथा नयाँ डिजिटल प्रविधिसहित व्यवस्थित गर्न जरुरी रहेको बताए।
नापी विभागका पूर्वमहानिर्देशक तोयानाथ बरालले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको परिचालन सम्बन्धमा कानुनी स्पष्टता हुनुपर्नेमा जोड दिँदै सीमा सुरक्षासम्बन्धी खोज तथा अनुसन्धान, प्रविधिमैत्री, थप क्षमता अभिवृद्धि गर्नुपर्ने बताए।
अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले यस किसिमका अन्तर्क्रिया कार्यक्रम सँगसँगै सीमा सुरक्षासम्बन्धी गोष्ठी नै सञ्चालन गर्न र सीमा क्षेत्र विकास कार्यक्रममा सरकारले नै आवश्यक बजेट छुुट्याउनुपर्ने बताए।
नापी विभागका महानिर्देशक प्रकाश जोशीले सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालले फिल्डमा उत्कृष्ट ढंगले कार्य गर्दै आइरहेको साथै नेपालको अन्तर्राष्ट्रिय सीमामा सशस्त्र प्रहरी बल नेपाल र नापी विभागले आपसी सहकार्य र सहयोगका साथ कार्य गर्दै आइरहेको तथा सीमा व्यवस्थापनको लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्टहरूको संख्या थप गर्नुपर्ने बताए।
नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद वलीले आधुनिक प्रविधिको प्रयोगसहित सीमा सुरक्षार्थ परिचालित फौजको संख्यामा वृद्धि गर्न आवश्यक रहेको बताए।
सशस्त्र प्रहरी बल गठन आयोगका अध्यक्ष एवं पूर्वसचिव खेमराज रेग्मीले सुरक्षा निकायहरू राष्ट्रिय आवश्यकता र गौरवको प्रतीक रहेको र तत्कालीन समयमा सशस्त्र विद्रोह नियन्त्रण गर्न गठन भएको सशस्त्र प्रहरी बल नेपालले देशमा शान्ति सुरक्षा कायम गर्न अतुलनिय योगदान पुर्याउँदै आइरहेको उल्लेख गर्दै सबै सुरक्षा निकायहरूले आफ्नो पहिचान कायम राख्न विभिन्न समयमा भएका केही कमी–कमजोरीहरूलाई स्वीकार एवं सुधार गर्दै आत्मबल कायम राखी अघि बढ्नुपर्ने बताए।
सुरक्षाविद् गेजा शर्मा वाग्लेले आधुनिकीकरणसँगै विभिन्न चुनौतीका साथ अवसरहरूसमेत सिर्जना भएको र आजको आवश्यकता सुरक्षा संयन्त्रलाई अझै सुदृढ गर्दै सोहीअनुरूप नीति, रणनीति र कार्ययोजनासहित अघि बढ्नुपर्ने बताए।
अवकाशप्राप्त रथी सदीपबहादुर शाहले देश र जनताको सुरक्षा भन्ने कुरा वैकल्पिक नभई अनिवार्य आवश्यक तत्त्व रहेको र शान्तिसुरक्षाको प्रभावकारिताको लागि समय–समयमा सुरक्षा निकायहरूबिच अप्रेसनल संयुक्त अभ्यासहरूसमेत सञ्चालन गर्न अत्यावश्यक रहेको औँल्याए।
अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले आन्तरिक र बाह्य सुरक्षा क्षेत्रमा समयसापेक्ष रूपमा अघि बढ्न जरुरी रहेको र आवश्यकताअनुसार विभिन्न अप्रेसनल गतिविधिहरू सञ्चालन गर्न विशेष सुरक्षा योजनासहित परिचालन हुनुपर्नेमा जोड दिए।
अवकाशप्राप्त उपरथी टंकप्रसाद भट्टले देशको बाह्य तथा आन्तरिक सुरक्षाजस्तो संवेदनशील विषयमा स्पष्ट राष्ट्रिय सुरक्षा ऐनको आवश्यकता रहेको उल्लेख गरेका थिए भने अवकाशप्राप्त उपरथी पूर्ण सिलवालले इन्टेलिजेन्स र टेक्नोलोजीको प्रयोगका साथसाथै सुरक्षा निकायहरूबिच युनिफाइड कमान्डको अवधारणा फिल्डमा उपलब्धिमूलक हुने बताए।
त्यसैगरी अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले देशमा नवीनतम सुरक्षा चुनौती सिर्जना भइरहेको अवस्थामा राष्ट्रले सुरक्षा निकायका पूर्वकर्मचारीहरूलाई समेत सोहीअनुरूप सुरक्षा कार्यमा सदुपयोग गर्नुपर्नेमा जोड दिए।
अन्तर्क्रिया कार्यक्रममा अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू रविराज थापा, सुबाेधकुमार अधिकारी, राजेश श्रेष्ठ, परराष्ट्र, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायत डा. नरेश रिमाल, सह प्रा.डा. पीताम्बर भण्डारी र सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।