निर्वाचन प्रहरीमा देखिएन अपेक्षित आकर्षण : मागअनुसार दरखास्त नपरेपछि विभिन्न जिल्लामा म्याद थप

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण
  • युवापुस्ताको ठुलो हिस्सा वैदेशिक रोजगारीमा जानु तथा निर्वाचन प्रहरीका सुविधा आकर्षक नहुनुका कारण अपेक्षाकृत आवेदन नपरेको हुन सक्ने प्रहरी अधिकारीहरूको विश्लेषण

निर्वाचनका लागि भर्ना गरिने निर्वाचन प्रहरीमा सर्वसाधारणको आकर्षण अपेक्षाकृत कम देखिएको छ । मागभन्दा कम दरखास्त परेपछि विभिन्न जिल्लामा आवेदन दिने म्याद दुई दिन थप गरिएको छ ।

एक लाख ४९ हजार ९० पदका लागि निर्वाचन प्रहरी माग गरिए पनि बिहीबारसम्म करिब दुई लाख आवेदन मात्रै परेको नेपाल प्रहरीले जनाएको छ । दरखास्त संख्या न्यून भएपछि धेरै जिल्लाले आवेदनको म्याद थप गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार दरखास्त दिने अन्तिम दिन तोकिएको थियो । युवापुस्ताको ठुलो हिस्सा वैदेशिक रोजगारीमा जानु तथा निर्वाचन प्रहरीका सुविधा आकर्षक नहुनुका कारण अपेक्षाकृत आवेदन नपरेको हुन सक्ने प्रहरी अधिकारीहरूको विश्लेषण छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सहयोग गर्न ४० दिनका लागि निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । नेपाल प्रहरीतर्फ एक लाख ३३ हजार ९९० र सशस्त्र प्रहरी बलतर्फ १५ हजार ११० कोटा छुट्याइएको छ । दुवै निकायको भर्ना प्रक्रिया सँगसँगै अघि बढाइएको छ ।

नेपाल प्रहरीका सहायक प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईका अनुसार बुधबार बेलुकासम्म एक लाख ६० हजार २३९ जनाले आवेदन दिएका थिए । ‘बिहीबारसम्म यो संख्या करिब दुई लाख पुग्ने अनुमान छ,’ उनले भने, ‘मागअनुसार आवेदन नपरेका जिल्लामा दुई दिन म्याद थप गरिएको छ ।’

अघिल्लो निर्वाचनको तुलनामा यसपटक आवेदन संख्या घटेको देखिन्छ । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एक लाख १५ हजार पद माग हुँदा दुई लाख ३३ हजार १०९ दरखास्त परेको थियो । युवापुस्ताको ठुलो हिस्सा वैदेशिक रोजगारीमा जानु तथा निर्वाचन प्रहरीका सुविधा आकर्षक नहुनुका कारण अपेक्षाकृत आवेदन नपरेको हुन सक्ने प्रहरी अधिकारीहरूको विश्लेषण छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लामा भने मागअनुसार नै दरखास्त परेको छ । काठमाडौंमा तीन हजार ८५४ निर्वाचन प्रहरीको कोटामा ६ हजार ९९ जनाले आवेदन दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनराज भट्टराईले बताए । ‘हाम्रो जिल्लामा पर्याप्त आवेदन परेको छ,’ उनले भने, ‘दरखास्त दिएका उम्मेदवारलाई ४ माघमा सम्पर्कमा बोलाइनेछ र ५ माघदेखि छनोट प्रक्रिया सुरु हुन्छ ।’

ललितपुरमा १६ सयको कोटामा १८ सयजनाको आवेदन परेको छ । भक्तपुरमा पनि मागअनुसार नै दरखास्त परेको एसपी सूर्यबहादुर खड्काले बताए । भक्तपुरमा एक हजार २७२ कोटा रहेकामा बिहीबारसम्म एक हजार ७०८ दरखास्त परेको छ ।

कास्कीलगायत उच्च जनघनत्व भएका केही जिल्लामा समेत दरखास्त कम परेपछि म्याद थप गरिएको छ । कास्कीमा दुई हजार ३०३ निर्वाचन प्रहरी माग गरिएकोमा बिहीबार बेलुकासम्म दुई हजारभन्दा कम मात्र आवेदन परेको छ । मधेश प्रदेशका जिल्लामा भने मागअनुसार नै दरखास्त परेको प्रहरीको भनाइ छ । पहाडी जिल्लामा युवाको संख्या कम हुनु पनि आवेदन न्यून हुनुको कारण मानिएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सहयोग गर्न ४० दिनका लागि निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । नेपाल प्रहरीतर्फ एक लाख ३३ हजार ९९० र सशस्त्र प्रहरी बलतर्फ १५ हजार ११० कोटा छुट्याइएको छ । दुवै निकायको भर्ना प्रक्रिया सँगसँगै अघि बढाइएको छ ।

निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी जवानसरह तलब, रासनभत्ता तथा अन्य सुविधा पाउनेछन् । केही आवेदक रोजगारीसँगै अनुभव र देशसेवाको उद्देश्यले पनि निर्वाचन प्रहरीमा भर्ना हुने गरेका छन् । १८ देखि ५४ वर्ष उमेर समूहका नागरिकले आवेदन दिन सक्ने प्रावधान छ ।

नेपाल प्रहरीले ११ माघदेखि तालिम सुरु गर्ने तयारी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलअन्तर्गत छनोट हुने निर्वाचन प्रहरीको तालिम छुट्टाछुट्टै हुनेछ र उनीहरूको पोसाक पनि फरक रहनेछ । नेपाल प्रहरीमार्फत भर्ना हुने म्यादी निर्वाचन प्रहरीलाई प्रत्यक्ष रूपमा मतदान केन्द्र (बुथ) मा खटाइनेछ भने सशस्त्र प्रहरी बलमार्फत भर्ना हुनेलाई बाहिरी गस्ती तथा कार्यालय सहयोगका कार्यमा परिचालन गर्ने तयारी छ ।

सुझावित समाचार