- अस्ट्रेलियन ‘ए’ लिगमा वेलिङटन फिनिक्सबाट खेलिरहेकी नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई घुँडामा गम्भीर चोट लागेको छ
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी दायाँ घुँडामा गम्भीर चोटका कारण नौ महिना मैदानबाहिर रहनेछिन् । दायाँ घुँडाको एसिएल टियरको चोट बोकेकी भण्डारी शतप्रतिशत फिट भएर मैदानमा आउन कम्तीमा नौ महिना लाग्ने उनीआबद्ध वेलिङटनले मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । ‘गत शनिबार ब्रिसबन रोअरविरुद्धको खेलमा सावित्रा गम्भीर घाइते भएकी हुन् । रिपोर्टमा घुँडाको एसिएल ग्राफ्ट च्यातिएको देखिएको छ ।
यो एमआरआई परीक्षणले पुष्टि गरेको छ,’ वेलिङटनले भनेको छ, ‘नौ महिना महत्वपूर्ण खेलाडी सावित्रालाई गुमाउन बाध्य भएका छौँ ।’ वेलिङटनकी प्रशिक्षक बेभ प्रिस्टम्यानले सावित्राको चोटबाट दु:खी भएको बताइन् । वेलिङटनले आफ्नो आगामी खेलका लागि सावित्रालाई गुमाएको प्रिस्टम्यानले जनाइन् । दोस्रो हाफमा ब्रिसबनकी गोलरक्षक लिंकनले एयर बलमा खोस्ने क्रममा सावित्राको दायाँ खुट्टामाथि टेकेकी थिइन् । सोही क्रममा उनी घाइते भएकी हुन् । सावित्राको यो तेस्रो एसिएल टियर हो । यसअघि उनले सन् २०२१ मा दायाँ घुँडाको शल्यक्रिया गराएकी थिइन् । प्रशिक्षक प्रिस्टम्यानले क्लबमा आबद्ध विदेशीमध्ये सावित्रा उत्कृष्ट खेलाडी भएको बताइन् । ‘सावित्रा एक उत्कृष्ट खेलाडी मात्र नभई सबैलाई माया गर्ने व्यक्तिका रूपमा लिएका छौँ, उनको चोटबाट क्लबलाई निकै घाटा लागेको छ,’ प्रिस्टम्यानले भनिन् ।
लिगमा तीन गोल
विलिङटन न्युजिल्यान्डको क्लब भए पनि उसले अस्ट्रेलियामा ‘ए’ डिभिजन लिग खेल्छ । अस्ट्रेलियाको शीर्ष डिभिजन क्लब खेल्ने सावित्रा एक मात्र नेपाली खेलाडी हुन् । सावित्राले विलिङटनसँग दुई वर्षको सम्झौता गरेकी छिन् । न्युजिल्यान्डले दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर सावित्रालाई आबद्ध गर्दै पहिलो च्वाइसमै राखेको छ । यस सिजनमा उनले तीन गोल गरेकी छिन् । चोटका कारण उनले यो वर्षको लिगका सबै खेल गुमाउनेछिन् ।
विलिङटनका लागि यो यस सिजनको तेस्रो ठुलो झट्का रह्यो । यसअघि क्लबले दुई राम्रा खेलाडी पनि यस्तै चोटका कारण गुमाइसकेको छ । फोनिक्सले सावित्राको स्थानमा नयाँ खेलाडी राख्ने तयारी गरेको छ । अहिले खेलाडी दर्ता गर्ने समय सकिसकेकाले वेलिङटनले कुनै पनि टोलीमा आबद्ध नभएका (फ्री एजेन्ट) खेलाडी मात्र राख्न पाउनेछ ।