जेन–जी आन्दोलनमाथि दमनको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जाँचबुझ आयोगले बयान लिएको छ। आइतबार उनको गुन्डुस्थित निवासमै पुगेर आयोगको टोलीले बयान लिएको हो।
ओलीले लिखित बयान दिएको आयोगका एक अधिकारीले बताए। यसअघि ओलीले बयान नदिने धम्की दिँदै आएका थिए।
प्रश्नसहित आयोगको टोली उनको निवास पुगेकोमा ओलीले पहिले नै तयार गरेर राखेको लिखित विवरण दिएको आयोगका एक अधिकारीले बताए। मौखिम रुपमा पनि उनको बयान लिइएको आयोग स्रोत बताउँछ।
२३ भदौमा भ्रटाचारविरुद्ध जेन-जीले गरेको आन्दोलनमा सरकारले चरम दमन गरेको थियो। प्रहरीको गोली लागेर बानेश्वरमा मात्र १७ जनाको मृत्यु भएको थियो भने एक सयभन्दा धेरै घाइते भएका थिए। त्यसको विरोधमा भोलिपल्ट देशैभरि आन्दोलन भएपछि स्थिति सम्हाल्न नसकी ओलीले राजीनामा दिएका थिए। सेनाले उनलाई हेलिकोप्टरमार्फत प्रधानमन्त्रीनिवासबाट उद्धार गरेको थियो।