पछिल्लो सातादेखि महोत्तरीलगायत तराई मधेशका क्षेत्रमा शीतलहर तथा चिसोको प्रभाव बढेपछि स्थानीय तह तथा सेनाले दाउरा बाल्ने कार्य थालेको छ। महोत्तरी सदरमुकाम जलेश्वर, पिपरा, मटिहानी, मनरा सिस्वा, एकडारा, बल्वालगायतका क्षेत्रमा स्थानीय तहहरूले विभिन्न चोक तथा सार्वजनिक स्थलहरूमा दाउरा बाल्ने कार्य थालेका छन् भने नेपाली सेनाको गोरखनाथ गणले समेत मटिहानी नगरपालिकास्थित तसमैया बाबा पार्कमा सरसफाइ तथा मटिहानीका विभिन्न चोकहरूमा दाउरा बाल्ने कार्य गरेको छ ।
पछिल्लो समय शीतलहर तथा चिसोले जनजीवन प्रभावित भएपछि जिल्ला विपत् व्यवस्थापन समितिको समन्वयमा स्थानीय तहहरूलाई डिभिजन वन कार्यालयबाट दाउरामा सहजीकरण गरिएपछि स्थानीय तहहरूले सहुलियत दरमा दाउरा पाएका हुन्।
यता नेपाली सेनाले समेत प्रायः हरेक वर्ष शीतलहरको समय विभिन्न शीतलहर प्रभावित क्षेत्रमा दाउरा बाल्नेलगायतका विभिन्न तरिकाले न्यानो व्यवस्थापन गर्दै आएको छ । स्थानीय तहसँगै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षा निकाय तथा विभिन्न संघसंस्थालाई आवश्यक परेको बखत चिसो प्रभावितहरूलाई न्यानो व्यवस्थापन गर्न तयार रहन विपत् व्यवस्थापनले आग्रह गरेको थियो।
यता मनरा सिस्वा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेयले पछिल्लो दुई दिनदेखि नगरका चाेक तथा सार्वजनिक स्थलहरूमा दाउरा बालेर राहत पुर्याउने प्रयास भइरहेको बताउँदै पालिकाले अन्य व्यवस्थापनको तयारीसमेत गरिरहेको बताए। त्यस्तै, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले दाउरा बालेर नै शीतलहर र चिसोको प्रभाव कम नहुने बताउँदै नगरपालिकाले दाउरा बाल्नुका साथै अन्य वैकल्पिक र दीर्घकालीन बाटोसमेत खोजिरहेको बताए।
जलेश्वर नगरपालिकाका नगरप्रमुख तथा पालिकाका अन्य जनप्रतिनिधि तथा कर्मचारीसमेत चिसो प्रभावित स्थलहरूमै पुगेर अवस्थाबारे आकलन गर्दै आवश्यक कार्य गरिरहेको नगरप्रमुख सुरेश साह सोनारले बताए । उनले दाउरा वितरणले थोरै राहत भए पनि अझै घामको आस नहुँदा जनजीवन थप कष्टकर हुनेमा चिन्ता व्यक्त गरे ।
यस्तै, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले पिपरा गाउँपालिकाका बजार क्षेत्र र ग्रामीण क्षेत्रहरूमा समेत पालिकाको टोली पुगेर न्यानो प्रदान गर्न घुर बालिरहेको बताए। उनले आवश्यक परे अन्य वैकल्पिक व्यवस्थापनमा पनि पालिकापछि नपर्ने बताए। महोत्तरी गाउँपालिकालगायतका महोत्तरीका अधिकांश पालिकाहरूले बालबालिकामा चिसोले हुन सक्ने सम्भावित असुरक्षालाई मध्यनजर गर्दै जाडो बिदा थप्दै छन् भने प्रायः सबै स्थानीय तहहरूले दाउरा व्यवस्थपन गरी घुर लगाउने कार्यलाई निरन्तरता दिएका छन्।