एनसिएचएलको नेपाल पे कार्ड विदेशमा पनि चल्ने

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले जारी गर्दै आएको नेपाल पे कार्ड स्किम विदेशमा समेत चल्ने भएको छ । एनसिएचएलले डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालको नेसनल कार्ड स्किम नेपाल पे कार्डको कमर्सियल ‘रोलआउट’ सुरु गरिएको घोषणा गरेको छ ।

नेसनल पेमेन्ट स्विच परियोजनाअन्तर्गत नेसनल कार्ड स्विच र नेपाल पे पूर्ण रूपमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यसबाट बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्ड नेपालभरिका एटिएम र पिओएस टर्मिनलमा मात्र नभई विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ । 

यो सहकार्यपश्चात् नेपाल पेका प्रयोगकर्ताले डिस्कभर नेटवर्क र डाइनर्स क्लब इन्टरनेसनलका विश्वभरिका एक सय ९० भन्दा बढी देश तथा क्षेत्रमा प्रयोग गर्न सक्नेछन् । साथै, नेपालका मर्चेन्टले ३० भन्दा बढी नेटवर्क एलायन्स तथा डाइनर्स क्लबमा आबद्ध विश्वभरका तीन करोड ७८ लाखभन्दा बढी कार्डबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

एनसिएचएलका अनुसार हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाले एनपिएस–नेसनल र नेपाल पेको सदस्यताका लागि सम्झौता गरिसकेका छन् । एनपिएस–एनसिएसमा कार्डसम्बन्धी कारोबारजस्ता विशेषता समावेश छन् । 

सुझावित समाचार