बालेन अब रास्वपाको ‘गाडी’मा

रास्वपा र बालेन शाहबिच आइतबार झिसमिसेमै भएको सहमतिअनुसार २१ फागुनको निर्वाचनपछि बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्दै सम्भवतः देश चलाउनेछन्, रविले पार्टी सभापतिका हैसियतमा सरकारलाई जनपक्षीय कामका लागि सुझावसहित निर्देश गर्नेछन्

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

वैकल्पिक राजनीतिमा बलियो उपस्थिति कायम राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई पार्टीमा समेटेर भावी प्रधानमन्त्रीको रूपमा सारेसँगै राजनीतिमा नयाँ धु्रवीकरण भएको छ । रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबिच आइतबार बिहान भएको सातबुँदे सहमतिसँगै थप बलियो वैकल्पिक शक्ति तयार भएको हो । चुनावी मैदानबाट यसको मतपरीक्षण हुन भने बाँकी छ ।

रास्वपाको सभापति रवि नै रहने र बालेन निर्वाचनपछि संसदीय दलको नेतासहित भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमतिमा उल्लेख छ । सहमतिलाई आइतबारै बसेको रास्वपा केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । अब बालेनले रास्वपाको चुनाव चिह्न घन्टीबाटै २१ फागुनको निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । रास्वपा र बालेन शाहबीच आइतबार झिसमिसेमै भएको सहमतिअनुसार २१ फागुनको निर्वाचनपछि बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्दै सम्भवतः देश चलाउने छन् भने रविले पार्टी सभापतिका हैसियतमा सरकारलाई जनपक्षिय कामका लागि सुझावसहित निर्देश गर्नेछन् ।

बिहान ४: १५ बजे कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको कार्यालयमा भएको सातबुँदे सहमतिमा भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिएर घाइते तथा सहिद परिवारका मागको एथोचित सम्बोधन गर्ने, १० वर्षभित्र देशलाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने, जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने तथा रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न घन्टीमा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्नेलगायत उल्लेख छ ।

नेता असिम शाहका अनुसार सहमतिपत्रमा हस्ताक्षर गर्दै गर्दा दुवै नेताले एक–अर्कालाई बधाई दिएका थिए । रविले ‘हाम्रो यात्रा सुरु भयो । सहकार्य सुरु भयो । हामीलाई बधाई छ । देश बनाउने महाअभियानमा अब जुटौँ,’ भनेका थिए । त्यस्तै, बालेनले ‘हामी मिलेर अगाडि बढ्नुपर्छ । अब अगाडि बढियो । देशको राजनीतिक यात्रामा सँगसँगै अगाडि बढौँ’ भनेका थिए । 

हस्ताक्षरपछि दुवै नेताले अंकमाल गरेका थिए । बालेनले आफू पार्टीमा केन्द्रीय सदस्यसम्म लिने धारणा राखेका थिए । तर, सभापति रविले आफूपछिको वरीयतामा राख्ने जानकारी गराएका थिए ।रवि–बालेनबिच हस्ताक्षर हुँदा रास्वपा उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, नेता शिशिर खनाल, असिम शाह, बालेनका सल्लाहकार कुमार बेन, स्वकीय सचिव भूपदेव शाह, युवा अभियन्ता केपी खनाल, कलाकार निश्चल बस्नेत, आसिफ शाहलगायत सहभागी थिए । उनीहरूले हस्ताक्षर गर्दाको तस्बिर सेयर गरेका छन् । हस्ताक्षरलगत्तै मेयर शाहले ‘शुभप्रभात’ भन्दै घन्टी चिह्नको इमोजी राखेर तस्बिर सेयर गरेका थिए । त्यस्तै, रविले ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ’ भनेर लेखेका थिए । 

सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आमनागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबिच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात् गरी सहमति भएको सहमतिपत्रमा उल्लेख छ । ‘भदौ २३ र २४ को जेन–जी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूका सहिद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै, समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्न सहमति भएको छ,’ सहमतिपत्रमा भनिएको छ । 

बालेनका स्वकीय सचिव भूपदेव शाहले जनताको आकांक्षा र देशको अपेक्षालाई सम्बोधन गर्न तथा देशलाई सुदृढीकरण गर्न बृहत् सहमति भएको बताए । ‘जेन–जीको भावनाअनुसार देशमा सुशासन कायम गर्न, सिस्टममा सुधार ल्याउन, समयको माग र देशको आवश्यकतालाई मध्यनजर गर्दै बृहत् वैकल्पिक एकता सुरु भएको छ । यसमा अन्यलाई पनि समेट्छौँ,’ उनले भने । 

रवि र बालेनलाई एकतामा ल्याउन पछिल्लो एक महिनादेखि सघन 
छलफल भएका थिए । ३ पुसमा सभापति लामिछाने नक्खु कारागारबाट थुनामुक्त भएपछि ७ पुसमा असिम शाहकै कार्यालयमा बालेनसँग ६ घण्टाभन्दा बढी छलफल भएको थियो । छलफलले रास्वपा र बालेन टिम मिलेर जाने निष्कर्ष निकालेको थियो । १० पुसमा रवि र बालेनबिच अढाई घण्टा छलफल भएको थियो ।

छलफलले सहकार्यको मोडालिटीसहित मस्यौदा बनाउने जिम्मा दोस्रो तहका नेतालाई दिएको थियो । रास्वपाबाट असिम साह, शिशिर खनाल र आसिफ शाह तथा बालेनको तर्फबाट सल्लाहकार कुमार बेनलगायत मस्यौदा लेखनमा जुटेका थिए । मस्यौदाले आइतबार बिहान अन्तिम रूप पाएपछि दुई नेताले अनुमोदन गरेका हुन् । जेन–जी अगुवा सुदन गुरुङले रवि–बालेनले हात मिलाएको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘अब रास्वपाले चुनावको तयारीमा ध्यान दिन सक्छ । हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौँ, जय देश ।’

अर्का जेन–जी अगुवा युजनराज भण्डारीले नयाँ वैकल्पिक शक्तिहरू एक ठाउँमा आउँदा राम्रो सन्देश गएको बताए । ‘नयाँ वैकल्पिक शक्तिहरू एक ठाउँमा आउँदा राम्रो सन्देश दिएको छ । शुभकामना छ । सबैलाई समेटेर यो ध्रुवले अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘हाम्रो आन्दोलनको कुरामा सैद्धान्तिक रूपमा दीर्घकालीन रूपमा हेरिनुपर्छ । यसले आशाको दियो दिएको छ, आशा मर्नुहुँदैन ।’ 

कुलमानलाई पनि जोड्न फेरि प्रयास
रवि, बालेन र ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच एकैपटक सहमतिको प्रयास भएको थियो । तर, आइतबार बिहानको रवि–बालेन सहमतिमा कुलमान छुटे । तर, उनलाई समेट्न फेरि कोसिस भएको छ । आइतबारै राति रवि र बालेनले कुलमानसँग वार्ता गरेका छन् । तर, वार्ता टुंगोमा नपुगेपछि फेरि कुराकानी गर्ने सहमतीसहित उनीहरू उठेका छन् ।

यसअघि रवि सभापति, बालेन प्रधानमन्त्री र कुलमान पार्टीमा रविपछिको वरीयताको हिसाबमा छलफल अगाडि बढाइएको थियो । तर, कुलमानले पावर सेयरिङमा चित्त नबुझाएपछि रवि र बालेन अगाडि बढेका थिए । कुलमानले सहअस्तित्व भन्दै प्रधानमन्त्री आधा–आधा कार्यकाल बाँड्नुपर्ने र आधा कार्यकाल आफू हुनुपर्ने माग गरेका थिए । त्यस्तै, पार्टीभित्र पनि दुईवटा सभापति, केन्द्रीय समितिमा पनि उल्लेख्य उपस्थिति, चुनावमा सम्मानजनक टिकट माग गरेका थिए ।

कुलमानको माग सम्बोधन गर्न बालेनले शनिबार विभिन्न चरणमा उनीसँग छलफलसमेत गरेका थिए । अन्तिममा ‘रवि सभापति, बालेन प्रधानमन्त्री र कुलमान पार्टीमा रविपछिको वरीयतामै अघि बढौँ, अरू पछि मिलाउने गरी जाऊँ’ भनेर बालेनले प्रस्ताव राखेका थिए । पार्टीमा सल्लाह गर्छु भनेर हिँडेका कुलमानलाई रवि र बालेनले २ बजेसम्म कुरेका थिए । तर, उनी नआएपछि सहमतिपत्रको मस्यौदालाई अन्तिम रूप दिएर रवि र बालेनले बिहान ४:१५ मा हस्ताक्षर गरेका थिए ।

 बालेनका स्वकीय सचिव भूपदेव शाहले कुलमानसँगको वार्ताको ढोका बन्द नभएको बताए । ‘शनिबार बालेनले दुईपटक र रविले एकपटक कुलमानलाई भेटेर रातिको निर्णायक त्रिपक्षीय वार्तामा आमन्त्रण गरेको हो, तर सम्पर्कमा नआएपछि समयको माग र देशको आवश्यकतालाई प्रधान रूपमा हेर्दै पहिलो चरणमा जेन–जीहरू, रास्वपा, मेयर र अन्य केही नयाँ अनुहार सम्मिलित पहिलो बृहत् एकता सम्पन्न गर्यौँ । वार्ताको ढोका खुलै छ ।

उहाँहरूसँग सहकार्य गर्ने हिसाबले सोचिरहेका छौँ,’ उनले भने । चुनावी सरकारको मन्त्री भएदेखि नै संसदीय राजनीतिको होमवर्कमा लागेका कुलमानले सुरुमा रास्वपासँग छलफल गरेका थिए । रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार हुन अफर गरेको थियो । तर, कुलमानले रास्वपाको कार्यकारी सभापति पद पनि माग गरेपछि संवादले मूर्त रूप पाउन सकेको थिएन । रास्वपाले यो माग अस्वीकार गरेको थियो । 

जेन–जीदेखि अन्य वैकल्पिक शक्ति समेट्ने प्रयास निरन्तर
रवि र बालेनलाई मिलाउन भूमिका खेलेका नेताहरूले सबै नयाँ र वैकल्पिक शक्तिहरूलाई पनि एक ठाउँ ल्याउन पहल भइरहेको बताएका छन् । रास्वपा नेता असिम शाहले जेन–जी आन्दोलनको अपनत्व लिएर सबै समूहलाई समेट्ने गरी गृहकार्य भइरहेको बताए । ‘सबै वैकल्पिक शक्तिहरू समेटेर नयाँ बनाउने अभियान हो । त्यसमा सबैसँग संवाद गरेर सहकार्य गर्दै अगाडि बढ्ने हो । कुलमान, सिके राउत, रेशम चौधरी, हर्क साम्पाङ सबैसँग मिल्ने हो । धनगढीबाट गोपी हमाल पनि आउनुहुन्छ । अहिले समानुपातिकको प्रेसर छ, त्यसपछि सबैलाई समेटेको देख्न पाइन्छ,’ शाहले भने, ‘पुराना पार्टीका राम्रा अनुहार, नेतृत्वहरू पनि समेट्नुपर्छ भन्ने हो । रास्वपाको आइडोलोजीसँग मिल्ने खालकोलाई स्वागत गर्छाैँ ।’ 

योग्य व्यक्तिमा शक्ति बाँडफाँट 
नेताहरूका अनुसार शक्ति बाँडफाँटमा योग्य व्यक्ति हेर्ने समझदारी भएको छ । ‘मेयर बालेनलाई यति प्रतिशत वा संख्या भन्ने केही छैन, व्यक्ति हेर्ने भन्ने छ । रास्वपामा रहेकाभन्दा राम्रा व्यक्ति हामीले दिन सक्यौँ भने तिनीहरू समानुपातिकमा पनि समेटिन्छन्, प्रत्यक्षमा पनि त्यही हो,’ बालेनको टिमका एक सदस्य भन्छन्, ‘केन्द्रीय समितिमा पनि योग्य व्यक्तिलाई नै प्राथमिकता दिने भन्ने छ । यताबाट योग्य व्यक्तिहरू आउनुहुन्छ । उतापट्टि रिफर्मेसन पनि हुन्छ । यसका लागि योग्यताको परीक्षण हुन्छ । परीक्षणमा मेयर आफैँ बस्नुहुन्छ । देश बनाउन अब्बल र योग्य ल्याउने भन्ने मोटिभ हो । आजदेखि हामी सबै एउटै रास्वपा हो । त्यसैले सबै आपसी सहमतिमा आवश्यकताअनुसार हुन्छ ।’ 

योग्य मानिस पठाउन रास्वपाको समानुपातिक प्रारम्भिक छनोट सूचीमा बालेन टिमबाट उम्मेदवारको नाम पठाइएको छ । ‘हाम्रो प्रोसेसबाट आएको र उता (बालेन टिम)बाट उत्कृष्टलाई अगाडि बढाउँछौँ,’ रास्वपाका एक नेताले भने । उनका अनुसार केन्द्रीय समितिमा मेयर टिमका सदस्यलाई समेट्न हदैसम्मको लचकता अपनाउने समझदारी छ । वरीयता, पदाधिकारी र संख्याको सवालमा सहअस्तित्व र समानताको मोडालिटीमा कसैलाई अप्ठ्यारो नहुने गरी दुवैजना (रवि र बालेन)बिच विश्वासको वातावरण सिर्जना भइसकेको बालेनका स्वकीय सचिव शाहले बताए । 

रवि र बालेनबिच भएको सहमतिका सात बुँदा 
१. नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्वता जनाउने ।

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने ।

३.पहिलो पक्ष र दोस्रो पक्षबिच बृहत् एकता भएपश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बिचमा निलो रङको घन्टीको आकृति, दलको चुनाव चिह्न घन्टी र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने ।

४.राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।

५.बृहत् एकतापश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने ।

६.यस सम्झौताबमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने ।

७.राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न घन्टीमा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने ।

यसरी बन्यो रवि–बालेन सहमतिको कोर्स
जेन–जी आन्दोलनपछि संसद् विघटन गर्नुपर्ने र सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनुपर्ने पहिलो सार्वजनिक प्रस्ताव गर्ने पात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह नै थिए । उनकै प्रस्तावअनुसार संसद् विघटन भएर चुनावी सरकार गठन भयो । तर, एमाले र कांग्रेससँग अन्य विभिन्न शक्ति संसद् पुनस्र्थापनाको लबिइङमा जोड दिएरै लागेपछि बालेन झस्किए । यही विन्दुमा उनले वैकल्पिक शक्तिको मियो रास्वपासँग संवाद थाल्ने निधो गरेका थिए । 

बालेननिकट स्रोतले भन्यो, ‘चुनावको वातावरण बिथोलेर संसद् ब्युँताउने चलखेल भएपछि चुनावी वातावरण बनाउनुपर्छ भनेर बालेन सक्रिय बन्ने निचोडमा पुगेका थिए । यसका लागि राष्ट्रिय राजनीतिमै आउनुपर्छ भन्ने निष्कर्षअनुसार वैकल्पिक शक्तिको मियो रास्वपाबाट संवाद सुरु भयो ।’

बालेनका तर्फबाट कुमार बेन र निश्चल बस्नेत तथा रास्वपाका तर्फबाट स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम शाह र आसिफ शाहले समन्वयकारी भूमिका खेलेका थिए । बालेनले सक्रिय राजनीतिमा आउने सोच बनाएको र मिलेर जानुपर्ने प्रस्ताव कारागारमा रहेका रवि लामिछानेसमक्ष राखियो । दुवै पक्षको अस्तित्वको कुरा उठ्यो । तैपनि दुईजनालाई एकै ठाउँमा ल्याउनुपर्छ, नयाँ शक्तिहरू मिल्नुपर्छ भन्ने भावना दुवैतिर भएकाले संवाद अगाडि बढेको रास्वपाका एक नेता बताउँछन् । 

‘यो भावनाका साथ अब दुवैबिच वार्ता गराउनुपर्ने आवश्यकता देखियो । कारागारभित्र वार्ता गराउन फोनबाट सम्भव भएन । बालेन पनि कारागार जान सम्भव भएन,’ उनले भने, ‘सभापति (रवि)लाई अदालतले थुनामुक्त गरिदिएको र बालेन पनि बुबाको काजकिरिया सकेर रहेको अवस्थामा दुवैलाई सँगै राख्ने वातावरण बनाइयो । त्यस बसाइमा एक–अर्काको गुण, अवगुण, स्पिरिट बुझ्ने काम भयो । सँगै यात्रा गर्न सकिन्छ भन्ने निचोडमा दुवैजना पुग्नुभयो ।’ उनी पहिलो भेटमै रवि–बालेन सहकार्य टुंगिएको र पछिल्ला दिनको भेट औपचारिकता मात्रै भएको दाबीसमेत गर्छन् । उनका अनुसार रविसँग कुरा मिलेपछि नै बालेनले विभिन्न क्षेत्रका ५० व्यक्तिलाई बोलाएर ‘म सक्रिय राजनीतिमा आउने भएँ, के गरौँ ?’ भनेर सुझाव मागेका थिए ।

टिप्पणी–

रवि–बालेन एकताले राजनीतिक स्थिरतामा योगदान पु र्याउन सक्छ : दीपेश घिमिरे, विश्लेषक

हामीले लामो समयदेखि राजनीतिक दललाई ‘नयाँ’ र ‘पुरानो’ भनेर दुई फरक–फरक ‘स्क्रिन’बाट हेर्दै आएका थियौँ । तीमध्ये ‘नयाँ’ भनिएका दल वा व्यक्तिहरू एउटै हुने प्रक्रियाको सुरुवात भएको छ । समग्रमा यसले नेपाली राजनीतिमा सकारात्मक प्रभाव पार्ने सम्भावना देखिन्छ । नयाँले के गर्न खोजेको हो, के गर्न चाहेको हो र ‘नयाँ’ भन्नेबित्तिकै आमनागरिकले त्यसलाई कसरी हेरेका छन् भन्ने परीक्षण २१ फागुनको निर्वाचनले प्रस्ट पार्नेछ । जनमत परीक्षणका कारण यो मिलनलाई सकारात्मक लिन सकिन्छ । 

लामो समयदेखि उठ्दै आएको दुईदलीय ध्रुवीकरण र बिचमा एउटा सन्तुलनकारी शक्तिको आवश्यकता छ भन्ने भाष्यका लागि पनि यो एकता प्रस्थानविन्दु हुन सक्छ । यदि राजनीति सही ट्र्याकमा अघि बढ्न सकेमा धेरै दलभन्दा दुई बलिया दल र तिनलाई सन्तुलनमा राख्ने एउटा शक्ति पर्याप्त हुन्छ भन्ने तर्कलाई वर्तमान राजनीतिक उथलपुथलले कालान्तरमा व्यावहारिक रूप दिन सक्ने सम्भावना देखिन्छ । यसले राजनीतिक स्थिरतामा समेत योगदान पुर्याउन सक्छ । 

त्यस्तै, नयाँहरू शक्तिमा आए भने ‘देशको अविकासको प्रमुख कारण पुराना दल र तीनभित्रको जकडिएको अलोकतान्त्रिक संरचना हो भन्ने प्रचलित भाष्य सही हो–होइन भन्ने परीक्षण गर्ने आधार यसले दिन्छ । यस अर्थमा यो पहल महत्वपूर्ण छ । 

तर, समालोचनात्मक दृष्टिले हेर्दा केही गम्भीर सवाल अझै अनुत्तरित छन् । अहिले बालेन्द्र शाह र रवि लामिछाने नेतृत्वको रास्वपा मिल्दै गर्दा भविष्यमा उनीहरू कुन विचार, दर्शन वा सिद्धान्तको आधारमा एक ठाउँमा उभिन्छन् भन्ने स्पष्ट छैन । सहमतिका बुँदामध्ये ‘आगामी १० वर्षमा नेपाललाई मध्यम आय भएको देश बनाउने’ लक्ष्य आकर्षक छ । तर, यो कुन दार्शनिक आधार, कुन आर्थिक–राजनीतिक सिद्धान्तको जगमा हासिल गरिन्छ भन्ने प्रश्नको उत्तर छैन । सहमतिका बुँदामै सबै विषय नसमेटिन पनि सक्छन्, तर आधारभूत वैचारिक स्पष्टताको अभाव देखिन्छ ।

अर्को पक्ष भनेको ‘नयाँ मिलन’ भन्दै गर्दा हामी व्यक्ति–व्यक्तिको मिलनतर्फ बढी केन्द्रित छौँ । बालेन शाह र रवि लामिछाने वा बालेन शाह–रवि लामिछाने–कुलमान घिसिङजस्ता व्यक्तिहरू मिल्ने चर्चा मात्रै भइरहेको छ । व्यक्तिकेन्द्रित मिलन सुखद नहुन सक्छ भन्ने इतिहास छ । व्यक्ति मात्र मिल्दा नेकपाजस्तो ठुलो पार्टी पनि छोटो समयमा दुर्घटनामा पर्यो । मधेशका दलहरू विशेष गरी जसपा र लोसपा पनि वैचारिक स्पष्टताविना मिल्दा संकटमा परेका उदाहरण छन् । विचार र सिद्धान्तमा प्रस्ट नभई गरिएको मिलनको मूल्य देशले झनै ठुलो संकटका रूपमा चुकाउनुपरेको यथार्थ हामीसँग छ । 

त्यसैले, यदि रवि–बालेन मिलन व्यक्ति–केन्द्रित मात्रै हो भने यसले अपेक्षित परिणामभन्दा फरक र अनपेक्षित संकट निम्त्याउन सक्छ । यसको मूल्यांकन गर्ने समय अझै छ । विशेष गरी उनीहरूले सार्वजनिक गर्ने चुनावी घोषणापत्र निर्णायक हुनेछ । चुनावी घोषणापत्रले चुनावपछि सरकारले के गर्छ भन्ने सूची त दिन्छ नै, यसबाहेक त्यो दलको दर्शन, आर्थिक–सामाजिक–राजनीतिक तथा सांस्कृतिक सिद्धान्त स्पष्ट दस्ताबेज पनि हो । 

पछिल्लो समय झन्डै १५–२० जिल्ला घुम्ने क्रममा विभिन्न कार्यक्रममा युवासँग अन्तक्रिया गर्ने अवसर पाएँ । ‘नयाँ शक्ति’ मिल्दै गए पनि वर्तमान राजनीतिक प्रणालीमा दुईवटा मात्रै शक्ति चुनावी प्रतिस्पर्धामा रहने अवस्था देखिँदैन । क्षेत्रीय दलहरू अझै प्रभावशाली छन् । कम्तीमा तीनवटा बलिया दल वा गठबन्धन चुनावमा जाने सम्भावना देखिन्छ ।

एकातिर नेकपाको गठबन्धन, अर्कोतिर कांग्रेस–एमालेको सम्भावित गठबन्धन र तेस्रो ‘नयाँ’ शक्तिको गठबन्धन हुन सक्छ । यससँगै पहिचानवादी दृष्टिकोणमा आधारित क्षेत्रीय दलहरू पनि आफ्ना–आफ्ना क्षेत्रमा बलियै छन् । रवि–बालेन मिलनले आजको अवस्थामा आशा जगाए पनि त्यो आशा व्यवहारमा रूपान्तरण गर्न चुनौतीपूर्ण हुन सक्छ भन्ने चिन्ता स्वाभाविक छ । यी सबै यथार्र्थ हेर्दा, आजकै प्रणालीमा नयाँ सबै दल एक ठाउँमा आए पनि एकल बहुमत प्राप्त गर्ने अवस्था देखिँदैन । अन्ततः फेरि पनि गठबन्धनमार्फत सरकार गठन गर्नुपर्ने स्थिति आउने सम्भावना बलियो छ ।

सातबुँदे सहमतिपत्रमा हस्ताक्षरपछि...

रवि लामिछाने : हाम्रो यात्रा सुरु भयो । सहकार्य सुरु भयो । हामीलाई बधाई छ । देश बनाउने महाअभियानमा अब जुटौँ ।

बालेन शाह : हामी मिलेर अगाडि बढ्नुपर्छ । अब अगाडि बढियो । देशको राजनीतिक यात्रामा सँगसँगै अगाडि बढौँ ।

रवि–बालेन सहमतिबारे दलका नेता के भन्छन् ?

मीन विश्वकर्मा प्रचार विभाग प्रमुख, कांग्रेस
स्वतन्त्रताको नाममा, सस्तो लोकप्रियताको नाममा नीति र सिद्धान्तविनै अराजकता मच्चाउँदै हिँड्नेहरूले राष्ट्र निर्माण र समुन्नतितर्फ लाग्ने निर्णय लिनु देश र जनताका लागि सकारात्मक सन्देश हो । ध्वंसबाट निर्माणतर्फ, अराजकताबाट सुसंस्कृत र सभ्य समाजतर्फ फर्किनु सबैका लागि राम्रो संकेत मान्नुपर्छ । 

 महेश बस्नेत, सचिव, एमाले
नेपाली राजनीतिमा ‘नयाँ’ पात्रलाई सधैँ आशाका रूपमा बेचिन्छ । तर, रवि लामिछाने र बालेन शाह विभिन्न समयमा विभिन्न रूपमा आइसकेका पात्र हुन् । व्यक्तिवादी स्वार्थमा आधारित यस्तो अभियान स्पष्ट दीर्घकालीन खाकाविना सफल हुँदैन ।

देवेन्द्र पौडेल, नेता, नेकपा
निर्वाचन भएको छैन, परिणाम कस्तो आउँछ टुंगो छैन । अहिले नै बालेनलाई भावी प्रधानमन्त्रीमा अघि सार्नु हतारो र उधारो एजेन्डाजस्तो देखिन्छ । 

मोहन श्रेष्ठ, प्रवक्ता, राप्रपा
असफल नीति र मार्गचित्रमै टेकेर जुनसुकै दल वा समूह मिले पनि त्यसले दुर्घटना निम्त्याउँछ । रवि र बालेनले पनि कोर्स 
करेक्सन गर्ने हिम्मत देखाउन सकेनन् ।

मनीष सुमन, नेता, जसपा नेपाल
सहमतिमा संघीयता र धर्मनिरपेक्षता किन उल्लेख गरिएन ? लाजले लुकाइयो कि अरू कुनै कारणले भन्ने थाहा भएन । तर, यी विषय छुटाइएकोमा गम्भीर शंका छ ।

उपेन्द्रको जसपा र महन्थको लोसपाबिच पनि एकता
मधेशवादी दुई दल उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल पनि एकतामा गएका छन् । दुवै पार्टीका पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले एकताको निर्णय गरेको लोसपा नेता शरत्सिंह भण्डारीले जानकारी दिए । उनले एकीकृत पार्टीकै नामबाट समानुपातिकतर्फको बन्दसूची पेस गर्ने तयारी भइरहेको बताए । 

प्रलोपा र उनेपाबिच पनि पार्टी एकताकै गृहकार्य
दुई नयाँ राजनीतिक शक्ति प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र उज्यालो नेपाल पार्टी (उनेपा)ले पनि चुनावी सहकार्यसहित पार्टी एकताको गृहकार्य अघि बढाएका छन् । प्रलोपा अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले पछिल्ला केही दिनदेखि दुई पार्टीबिच निरन्तर छलफल भइरहेको र चाँडै निष्कर्षमा पुग्ने अपेक्षा रहेको बताए । उनेपाका केन्द्रीय सदस्य डा. तारा जोशीले वैकल्पिक शक्तिसँग सहकार्य गर्ने सैद्धान्तिक सहमति बनेको र त्यसअनुसार छलफल अगाडि बढिरहेको बताए । 

सुझावित समाचार