उदयपुरमा प्रहरीले सातसय ६३.७६ किलोग्राम गाँजासहित दुईजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेल्टार र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले गएराति चौदण्डीगढी नगरपालिका–३ स्थित पैँतालीस चोकमा चेकजाँचका क्रममा ७६३.७६ किलोग्राम गाँजासहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत पूर्व रामपुरबाट पश्चिम गाईघाटतर्फ जाँदै गरेको को १ ज ३४५६ नम्बरको बोलेरो गाडी रोकी जाँच गर्दा उक्त गाँजा फेला परेको हो ।
दोङका अनुसार बोलेरो गाडीका चालक बेलका नगरपालिका–६ का अन्दाजी २३ वर्षीय रविन कुमार राई र सोही गाडीमा सवार बेलका नगरपालिका–९ का अन्दाजी २८ वर्षीय रामबहादुर राईलाई पक्राउ गरिएको छ । बरामद गाँजा, सवारीसाधन र नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान अघि बढाइएको दाङको भनाइ छ ।