जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सार्वजनिक घोषणा प्रणाली (पब्लिक अनाउन्स्मेन्ट सिस्टम– पास) एवं क्युआरसहितको टोकन प्रणालीको शुभारम्भ गरिएको छ। सेवाग्राहीलाई सरल र छिटो सेवा दिने उद्देश्यले स्थापना गरिएको प्रणालीको गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार उद्घाटन गरेका छन् ।
कार्यक्रममा मन्त्री अर्यालले जेन–जी पुस्ताका सबै युवाशक्तिलाई सुशासनका सबैखाले मानकहरूमा परिपक्व बन्दै सबै क्षेत्रमा खरो र जिम्मेवार ढंगले प्रस्तुत हुन सुझाव दिए। जेन–जी पुस्ताका शक्तिलाई सुशासनका प्रमुख मानकहरू जस्तै मानव अधिकारको सम्मान, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका सवालमा परिपक्व र जिम्मेवार ढंगले प्रस्तुत हुन पनि उनले सुझाव दिएका छन्।
‘जेन–जी पुस्ताले जनआन्दोलनबाट देखाएको अग्रसरता र नेपालमा यो परिवर्तन जुन भएको छ र यसलाई हामीले हाम्रो सही आचरणबाट संस्थागत गर्न सक्यौँ र व्यवहारमा देखाउन सक्यौँ भने नेपाल वास्तवमै जेन–जी आन्दोलनको गुरुराष्ट्र बन्न सक्छ,’ उनले भने।
‘पिएएस’ प्रणालीले नागरिक र राष्ट्रसेवकको सम्बन्ध नयाँ चरणमा पुर्याएको मन्त्री अर्यालको भनाइ छ। ‘यस प्रणाली पनि अहिलेको जेन–जी पुस्ताले खोजेको, रोजेको र चाहेको जस्तै प्रणाली हो जुन उनीहरूले यो आन्दोलनको सुरुवातदेखि नै सपना देख्नुभएको थियो,’ मन्त्री अर्यालले भने।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सो प्रणालीको विकास खरानीबाट उठेर प्रशासनको नयाँ भवनबाट प्रविधिमैत्री र सेवाग्राहीमैत्री सेवाको सुरु गर्न पाउँदा ज्यादै खुसी लागेको बताए। यस प्रणालीमार्फत सेवा लिन आउने सेवाग्राहीले कार्यालयभित्र प्रवेश गरेपछि पहिले सेवाग्राहीको कागजात रुजु गरिसकेपछि उनीहरूले लिन चाहेको सेवाका आधारमा टोकन लिएर सम्बन्धित शाखाबाट छिटो, छरितो र झन्झटरहित सेवा लिन सकिने उनको भनाइ छ।