- भिडियो खिचेको विवादमा कोषाध्यक्ष विग्नेश थापालाई आफ्नै कार्यकक्षमा अध्यक्ष मिलन गुरुङले कुटे, मिलापत्रपछि दुवैजना हिरासतमुक्त
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले आफ्नै समितिका कोषाध्यक्ष विग्नेश थापालाई कुटपिट गरेका छन् । गुरुङले बोलाएको बैठकमा थापासँग भिडियोको विषयलाई लिएर विवाद भएको थियो । अध्यक्ष गुरुङले कोषाध्यक्षलाई भिडियो डिलिट गर्न निर्देशन दिएका थिए । भिडियो डिलिट गर्न नमानेपछि थापालाई गुरुङले कठालो समातेर आफ्नो कार्यकक्षमा लगेर हातपात गरेका हुन् ।
थापाले तत्कालै जिल्ला प्रहरी कार्यालयसँग सहयोग मागे । वडा प्रहरी कार्यालय, रामबजारले दुवैलाई अनुसन्धानका लागि केही घण्टा हिरासतमा राखेर रिहा गरेको छ । लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचन र पश्चिमाञ्चल खेलकुद विकास समितिका तत्कालीन उपाध्यक्ष सुनील गुरुङलगायतले दुई पक्षलाई सहमति गराउँदै हिरासत मुक्त गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले लिखित सहमतिमा दुई पक्षलाई हिरासत मुक्त गरेको बताए । ‘वडा प्रहरी कार्यालयमा दुई पक्षले आगामी दिनमा झगडा नगर्ने र मिलेर काम गर्ने सहमति गरेका छन्,’ प्रवक्ता बस्नेतले भने, ‘लिखित रूपमा अर्कोलाई सहयोग गर्ने भनेपछि आफन्तको जिम्मामा उनीहरूलाई छाडेका हौँ ।’ पीडित थापाले समाजघरमा भएको कार्यक्रममा आफूले लिएको भिडियोप्रति आपत्ति जनाउँदै गुरुङले आफूमाथि हातपात गरेको दाबी गरेका छन् ।
‘बैठक सुरु हुनुअगाडि कोठामा बसेको थिएँ । अध्यक्षले एक्कासि भिडियो किन लिएको भनी ममाथि छाती र अनुहारमा तीनपटक हाने,’ थापाले भने, ‘सुरक्षार्थ फोन गरेर प्रहरी बोलाएको हुँ ।’ घटनाका सम्बन्धमा जानकारी लिन खोज्दा अध्यक्ष गुरुङले भने मोबाइल स्विच अफ गरेका छन् ।
धेरैपटक विवादमा परेका गुरुङ
समितिका अध्यक्ष गुरुङ विवादमा आएको योे पहिलोपटक होइन । २ माघ ०७४ मा एन्फा कास्कीको अध्यक्ष हुँदा उनीमाथि आर्थिक हिनामिना गरेको आरोप थियो । ०७७ मा एन्फा कास्कीको अध्यक्ष हुँदा गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीमा १४ लाख रुपैयाँबराबरको रकम नपाएको भनी सातवटा उजुरी परेको थियो । यसै उजुरीका आधारमा उनी बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका थिए । प्रहरीको हिरासतमा १३ दिनपछि दुई लाख धरौटीमा उनी छुटेका थिए । १७ कात्तिक ०७७ मा उच्च अदालत, पोखराको आदेशमा उनी धरौटीमा रिहा भएका थिए । यसैगरी, गुरुङविरुद्ध मनकाममना केबुलकार पोखरा कप र १३औँ सागसँगै अन्य फुटबल प्रतियोगितामा विभिन्न पक्षलाई तिर्नुपर्ने रकम नतिरेको आरोप छ । पोखरामा आयोजित विभिन्न प्रतियोगिताका विजेतालाई दिनुपर्ने पुरस्कार उनले दिएका थिएनन् । तर, सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि गुरुङले विजेतालाई पुरस्कार रकम दिए ।
भागबन्डामा पदाधिकारी नियुक्ति
गण्डकी प्रदेशका ११ जिल्ला खेलकुद विकास समितिमा १७ चैत ०८१ मा अध्यक्षसहित अन्य पदाधिकारी नियुक्त भएका थिए । तत्कालीन सत्तारूढ दल कांग्रेस र एमालेबिच अध्यक्ष र कोषाध्यक्ष एकै समूहले राख्ने सहमति भएको थियो । अर्को पक्षले उपाध्यक्ष र सचिव राख्यो । कांग्रेसले ६ र एमालेले पाँच जिल्ला समितिमा अध्यक्ष र कोषाध्यक्षमा आफ्नो मान्छे नियुक्त गरेका थिए । कांग्रेसले ६ र एमालेले पाँच जिल्लामा उपाध्यक्ष र सचिव भागबन्डा गरेका थिए । कास्कीमा कांग्रेसको कोटामा अध्यक्षमा गुरुङ र कोषाध्यक्षमा थापाले जिम्मेवारी पाएका हुन् ।