११ पुसमा बयान दिन आउन रमेश लेखकलाई जाँचबुझ आयोगको पत्र

लेखकको बयान सकिएपछि ओलीलाई बोलाइने

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण
११ पुसमा बयान दिन आउन रमेश लेखकलाई जाँचबुझ आयोगको पत्र

तत्कालीन गृहमन्त्री रमेश लेखक

जेन–जी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाएको छ । आयोगले लेखकलाई मंगलबार पत्राचार गर्दै ११ पुसमा बयानका लागि बोलाएको हो । 

२३ भदौको जेन–जी आन्दोलनमा घातक हतियारबाट गोली चलाएर दमन हुँदा लेखक गृहमन्त्री थिए । बानेश्वर क्षेत्रमा मात्रै १७ जनाको ज्यान गएको थियो भने एक सयभन्दा धेरै घाइते भएका थिए । सो घटनाको नैतिक जिम्मेवारी लिँदै लेखकले सोही दिन बेलुका राजीनामा दिएका थिए । 

आयोग स्रोतका अनुसार मंगलबारै लेखकका एक सहयोगीले बयानसम्बन्धी पत्र बुझेका छन् । बयानमा जाने कि नजाने भन्नेमा लेखक छलफलमा छन् । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले बयानमा नजान लेखकलाई दबाब दिइरहेका छन् । 

आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलगायतसँग बयान लिइसकेको छ । बयान सकिएपछि उनीहरूको स्थानहद पनि मंगलबारदेखि नै फुकुवा गरेको छ । ओली र लेखकको पनि बयान सकिएपछि स्थानहद फुकुवा गर्ने आयोगको तयारी छ । 

आइतबार बसेको आयोगको बैठकले ओली र लेखकसँग बयान लिने निर्णय गरेको थियो । सुरुमा लेखकसँग बयान लिने र उनको बयानको आधारमा ओलीलाई पत्र लेख्ने आयोगको तयारी छ । 

२३ र २४ भदौमा भएको मानवीय तथा भौतिक क्षतिको विषयमा छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको हो । आयोगले तीन महिना अवधि पूरा गरिसकेको छ । सो अवधिभित्र छानबिन नसकिएपछि एक महिना थप गरिएको छ । थपिएको अवधिभित्र प्रतिवेदन बुझाउने गरी काम भइरहेको आयोगका प्रवक्ता विज्ञानराज शर्मा बताउँछन् ।

रघुवीरको टिप्पणीप्रति जाँचबुझ आयोगको ध्यानाकर्षण

  • नेताहरूलाई झुन्ड्याउनुपर्छ, मार्नुपर्छ भनेको छैन, एकजना जिम्मेवार नेताबाट त्यस्तो टिप्पणी भएकोमा दु:ख लागेको छ : गौरीबहादुर कार्की अध्यक्ष, जाँचबुझ आयोग

एमाले उपमहासचिव रघुवीर महासेठले झुटो आरोप लगाएको भन्दै जाँचबुझ आयोगले ध्यानाकर्षण भएको जनाएको छ । महासेठले सोमबार नयाँ पत्रिकासँगको कुराकानीमा आयोगका अध्यक्ष गौरीबहादुर कार्की पूर्वाग्रही रहेको आरोप लगाएका थिए ।

महासेठले भनेका थिए, ‘आयोगका अध्यक्षको अभिव्यक्ति पनि पूर्वाग्रही छ । झुन्ड्याउनुपर्छ, मार्नुपर्छ भनेर अभिव्यक्ति दिने व्यक्तिको अध्यक्षतामा आयोग गठन भएको छ ।’ एमाले अध्यक्ष केपी ओलीलाई आयोगले बयानमा बोलाउने तयारी गरिरहेको सन्दर्भमा महासेठले यस्तो टिप्पणी गरेका थिए ।आयोग अध्यक्ष कार्की आफूले कहिले पनि त्यस्तो अभिव्यक्ति नदिएको बताउँछन् ।

उनी भन्छन्, ‘नेताहरूलाई झुन्ड्याउनुपर्छ, मार्नुपर्छ भनेको छैन, एकजना जिम्मेवार नेताबाट त्यस्तो टिप्पणी भएकोमा दु:ख लागेको छ ।’ कार्की विशेष अदालतका पूर्वअध्यक्ष हुन् । यसअघि उनले मिटरब्याजदेखि सहकारी ठगीसम्बन्धी जाँचबुझ आयोगको अध्यक्ष भएर काम गरिसकेका छन् ।  

सुझावित समाचार