एकता सभाबाट नेकपाको सन्देश : निर्वाचन सारिए देश गम्भीर राजनीतिक दुर्घटनामा पर्छ

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण
  • संसद् पुनर्स्थापना गरेर पुरानै सत्ता ब्युँताउने सपना नदेख्न कांग्रेस–एमालेलाई चेतावनी, निर्वाचन धकेल्ने षड्यन्त्र भए सशक्त प्रतिवाद गर्ने शीर्ष नेताहरूको अभिव्यक्ति

दुई ठुला दल कांग्रेस र एमाले संसद् पुनर्स्थापनाको तयारीमा लागिरहेका वेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २१ फागुनमा निर्वाचन नभए देश गम्भीर राजनीतिक संकटमा फस्न सक्ने चेतावनी दिएको छ । शनिबार बागमती प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै नेकपाका शीर्ष नेताहरूले कसैले निर्वाचन धकेल्ने वा बिथोल्ने षड्यन्त्र गरे त्यसको सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

नेकपाले सरकार र जनता दुवैसँग शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न आह्वान गरेको छ । साथै, सभामार्फत नेकपाले राष्ट्रिय स्वाधीनता र सामाजिक एकता कायम गर्नुपर्ने, वामपन्थी एकता अघि बढाउने, सामाजिक न्याय, सुशासन र समृद्धि हुँदै समाजवादतर्फ अघि बढ्ने र युवापुस्तालाई उत्प्रेरित र सम्मान गर्ने सन्देश पनि दिएको छ । नेकपाले सातै प्रदेशमा आयोजना गरेको एकता सन्देश सभा शनिबार बागमती प्रदेशमा समापन भएको छ । सुदूरपश्चिमबाट १२ मंसिरमा सुरु भएको सभाको समापन ५ पुसमा काठमाडौंमा भएको हो । 

नेकपाको बागमती, समन्वय र उपत्यका विशेष प्रदेशको संयुक्त आयोजनामा शनिबार राजधानीको प्रदर्शनीमार्गमा आयोजित सन्देश सभामा संयोजक पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिए । प्रचण्डले संसद् पुनर्स्थापना गरेर पुरानै सत्ता ब्युँताउने सपना नदेख्न कांग्रेस–एमालेका नेताहरूलाई सचेत गराए । 

प्रचण्डले सरकारले निर्वाचनको मिति सारे देश दुर्घटनामा पर्ने चेतावनी दिए । ‘सरकारले निर्वाचनको मिति सारे देश फेरि दुर्घटनामा पर्छ । त्यो वेला नेपाली कम्युनिस्ट पार्टी रमिते हुनेछैन । ७७ वटै जिल्लाबाट, सबै पालिकाबाट नयाँ आन्दोलनको, समाजवादी विद्रोहको झन्डा बोकेर आउनेछौँ । हामी चाहन्छौँ– तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न होस्,’ उनले भने, ‘र, सरकारलाई भन्न चाहन्छौँ– कुनै पनि बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला । सरकारले निर्वाचनको मिति सार्ने, धकेल्ने काम गर्‍यो भने फेरि संविधान मिचिन्छ । यदि, त्यसो गरियो भने हामी चुप बस्नेछैनौँ । यो त्यस्तो शक्ति हो, जसले हिजो जनयुद्ध गर्‍यो र अढाई सय वर्ष पुरानो राजतन्त्रलाई धराशयी बनायो । जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गर्‍यो, गणतन्त्र स्थापना गर्‍यो । मूल शक्ति यही नै हो, यसलाई खेलाँची नठानियोस् ।’

घोषित निर्वाचन नै देशका लागि अबको सहज बाटो भएको उनले बताए । निर्वाचनका लागि सरकारलाई सहयोग गरिरहेको पनि उनले बताए । संसद् पुनर्स्थापना गरेर पुरानै सत्ता ब्युँताउने सपना नदेख्न उनले सचेत गराए । ‘एकथरी मानिसहरू निर्वाचनभन्दा संसद् पुनर्स्थापनाको कुरालाई लिएर सर्वोच्च अदालततिर गइराख्नुभएको छ । र, मानिसहरूको मनमा संसद् पुनर्स्थापना होला कि निर्वाचन होला भन्नेजस्ता प्रश्न जन्मिराखेका छन् । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरी नै हाल्छ, संसद् पुनर्स्थापनापछि सजिलै फेरि पुरानै सरकार भन्ने कल्पनामा एकथरी मानिसहरू लागेको देखिन्छ । म, ती मानिसहरूलाई त्यो भ्रममा नपर्न अपिल गर्न चाहन्छु । सजिलो छैन । त्यसकारण, अहिले घोषणा भइसकेको निर्वाचन नै सबैभन्दा सहज विकल्प हो । जनता बिस्तारै निर्वाचनका लागि तयार भइरहेका छन् । कांग्रेसले निर्वाचनमा जाने संस्थागत निर्णय गरिसकेको छ । एमालेले बाहिर जेसुकै बोले पनि भित्री तयारी निर्वाचनतिरै छ भन्ने देखिसकेको छ,’ उनले भने।

राष्ट्रिय स्वाधीनताको रक्षा, संकट समाधान
राष्ट्र असहज स्थितिबाट अगाडि बढिरहेको भन्दै प्रचण्डले राष्ट्रमा आइपरेको संकट समाधान गर्न, राष्ट्रिय एकताको शक्ति निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढेको बताए । आमजनतालाई एकत्रित गर्न देशव्यापी रूपमा सन्देश सभा गरिएको पनि उनले बताए । ‘हामी अहिले असहज परिस्थितिबाट अगाडि बढिरहेका छौँ । २४ भदौमा भएको विध्वंसका कारण नेपालमा केही समय त राज्यविहीनताको जस्तो अवस्था देखापर्‍यो । राष्ट्र निकै ठुलो संकटमा देखियो । हाम्रो राष्ट्रिय स्वाधीनता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, जनताको सार्वभौमसत्ता नै खतरामा परेको देख्यौँ । संविधान न्यूनतम रूपमा बचोस् भन्नका निम्ति र राष्ट्रलाई बचाउने प्रक्रिया अगाडि बढाउने वातावरण बनाउन सकियोस् भनेर केही न केही सहजीकरण गर्ने अवसर प्राप्त गर्‍यौँ । हामीलाई गर्व छ, त्यो अवसरको अधिकतम सदुपयोग गर्‍यौँ । राष्ट्रमा आइपरेको संकट समाधान गर्न, राष्ट्रिय एकताको शक्ति निर्माण गर्ने उद्देश्यका साथ आयोजित सभा पनि हो,’ उनले भने ।

जेन–जीको असली अभिभावक र प्रतिनिधि नेकपा
नेकपाले जेन–जी पुस्तालाई उत्प्रेरित गर्दै अघि बढ्ने पनि जनाएको छ । जेन–जी कुनै विचार, संस्था र संगठन भएको भन्दै प्रचण्डले जेन–जीको असली अभिभावक र प्रतिनिधि नेकपा भएको दाबी गरे । ‘कसैले जेन–जी हाम्रै पेवा हो भन्ने ठानेको छ भने त्यो भ्रम हटाइदिए हुन्छ । हामी हौँ जेन–जीका प्रतिनिधि भनेर कसैले स्टन्ट नदिए हुन्छ । को सक्कली प्रतिनिधि हो भन्ने कुरा उसको विचार र राजनीतिक एजेन्डामा भर पर्छ । नेपाली कम्युनिस्ट पार्टी मात्रै जसले भ्रष्टाचारविरुद्ध अभियान चलायो, जसले सुशासनको पक्षमा लडाइँ लड्यो, जसले यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको पहिचान र अधिकारका निम्ति कुर्बानी गर्‍यो, त्यो नै जेन–जी पुस्ताको सही अभिभावक र सही प्रनिनिधि हो,’ उनले भने ।

नेकपाले विगतदेखि उठाउँदै आएको सामाजिक न्याय, सुशासन र समृद्धिको एजेन्डा जेन–जीले उठाएको भन्दै प्रचण्डले धन्यवाद दिए । उनले युवा, प्रौढ र वृद्ध सबै मिलेर देश निर्माण गर्नुपर्नेमा जोड दिए । ‘युवाहरूले पनि विचार सही ल्याउन सक्छन्, प्रौढहरूले पनि सही विचार ल्याउन सक्छन्, वृद्धहरूले पनि सही विचार ल्याउन सक्छन् । त्यसकारण सही को हो, गलत को हो भन्ने कुराको फैसला उसले अघि सार्ने विचार र एजेन्डामा निर्भर गर्दछ, उमेरमा होइन । समाज युवा, प्रौढ र वृद्धहरूको एकतामा, संयोजनमा चलेको हुन्छ । बुढैबुढा भएर पनि समाज अगाडि बढ्ने होइन, प्रौढ नै प्रौढ भएर पनि समाज अगाडि बढ्ने होइन र युवा मात्रै भएर पनि होइन । त्यसकारण कम्युनिस्टहरूले भन्ने गर्छन्– थ्री इन वान ।’

स्टन्टको राजनीति टिक्दैन
प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा कुनै इतिहास नभएका मानिसहरूले जनतालाई भ्रममा पारिरहेको पनि बताए । नेपाली कम्युनिस्ट पार्टी स्टन्टबाजी नभई राष्ट्रको समस्यालाई केन्द्रमा राखेर अघि बढ्ने संकल्पसाथ अघि बढेको बताए । ‘विचारको महत्वलाई, त्याग र तपस्याको भूमिकालाई, इतिहास, निष्ठालाई कम महत्व दिने र त्यस्ता विचार, प्रवृत्ति र तत्वहरू हाबी हुने, त्यस्ता तत्वहरू स्टन्टबाजी गरेकै भरमा न कुनै इतिहास छ, न कुनै सुविचार छ, न कुनै त्याग, तपस्या र बलिदानको इतिहास छ । त्यस्ता मान्छे सोसल मिडियामा स्टन्ट गरेकै भरमा जनतालाई भ्रमित पार्ने एक खालको रोगजस्तै लागेको छ । नेपाली कम्युनिस्ट पार्टी स्टन्टमा होइन, सही विचारको आधारमा अगाडि बढ्ने र राष्ट्रको अघि देखापरेको समस्या र संकटलाई समाधान गर्ने संकल्पसहित अगाडि बढेको छ,’ प्रचण्डले भने । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयरलाई आफूले लोकतन्त्रमा फुकेको फूल भनेको स्मरण पनि गरे । तर, आफूले फूल भने पनि बिस्तारै काँडा बन्दै गइरहेको उनको टिप्पणी छ ।

खुलामञ्च खुला गरियोस्
नेकपाले खुलामञ्च खुला गर्न पनि माग गरेको छ । सभा गर्न ठाउँको अभाव भएको भन्दै नेकपाले लोतकतन्त्रमा खुलामञ्च खुला हुनुपर्ने बताएको हो । ‘नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्न आग्रह गर्न चाहन्छु । किनकि यो नेपाल राज्यकै निम्ति अपमान र लज्जाको विषय हो । एउटा ५०–६० हजार, एक लाख मान्छे जम्मा भएर बस्ने एउटा पनि मञ्च, चौर हामीमाझ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ,’ प्रचण्डले भने, ‘म नेपाल सरकार र अहिले महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधिलाई पनि यो स्थितिको अन्त्य गर्नका लागि पनि जोडदार अपिल गर्न चाहन्छु । राजनीतिक दल, सामाजिक संस्था र सबैका लागि एउटा खुलामञ्च, समारोह, सभा गर्ने स्थल अनिवार्य छ । यसमा सबैको ध्यान जाओस् ।’

सच्चिएर अगाडि बढ्ने प्रण
विगतका कमीकमजोरी सच्याउँदै अघि बढ्ने प्रतिबद्धता नेकपाले जनाएको छ । आफैँ बदलिने संकल्प, आँट गरेर अघि बढेको प्रचण्डले बताए । ‘यो एकता विगतमा हामी आफैँबाट भए–गरेका कमीकमजोरीको समीक्षा गरेर जनताको अगाडि प्रस्तुत हुने संकल्प सभा पनि हो । हामी विगतभन्दा फरक ढंगले अघि बढ्न चाहन्छौँ । नेपालको इतिहासमा पहिलोपटक एकैसाथ १६ वटा कम्युनिस्ट घटकलाई एकताबद्ध गरेका छौँ । र, हामी चाहन्छौँ, बाँकी रहेका देशभक्त, वामपन्थी र कम्युनिस्ट पनि एकताबद्ध होऊन् । राष्ट्रप्रतिको प्रेम, जनताप्रतिको निष्ठा र जिम्मेवारीका कारणले हामी आफैँ बदलिने संकल्प, आँट गरेर तपाईंहरूको अगाडि उपस्थित भएका छौँ,’ उनले भने ।

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विश्वास गरेर आगामी निर्वाचनमा नेकपालाई बहुमत दिन आह्वान गरे । ‘जनताले हामीलाई आउने चुनावमा विश्वास गरेर बहुमत दिएको खण्डमा, हाम्रो अग्निपरीक्षा सुरु हुन्छ । हामी जनताको चाहनालाई साकार पार्न इमानदारिताका साथ अगाडि बढेका छौँ । हामीलाई एकपटक मौका दिनुपर्ने हुन्छ, हामीले आजसम्म इमानदारिताको राजनीति, देशभक्तिको भावनालाई ध्यानमा राखेर नै भूमिका खेल्दै आइरहेका छौँ,’ उनले भने । नेपालले नेकपामा जेन–जी पुस्ताको प्रवेशको लहर चलेको पनि दाबी गरे ।

देशव्यापी सन्देश सभा 
राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, जनजीविकाका विषय स्थापित गर्ने, संविधान, व्यवस्था र लोकतन्त्र र राष्ट्रियतामाथिको संकटको निकासका निम्ति आमनिर्वाचनको वातावरण तयार पार्ने, विभिन्न कालखण्डमा विभाजित भएको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने उद्देश्यसहित नेकपाले देशव्यापी सन्देश सभा सम्पन्न गरेको छ । शनिबार प्रदर्शनीमार्गमा सभा सुरु हुनुअघि माइतीघर मण्डला, सुन्धारा र रत्नपार्कबाट र्‍याली निकालिएको थियो । गत १२ मंसिरमा सुदूरपश्चिमबाट नेकपाले सन्देश सभा सुरु गरेको हो । १३ मंसिरमा लुम्बिनी, १४ मंसिरमा गण्डकी, १५ मंसिरमा कोशी, २० मंसिरमा मधेश, २१ मंसिरमा प्रवास (भर्चुअल) र २७ मंसिरमा कर्णालीमा सन्देश सभा सम्पन्न भएको थियो । माओवादी, एकीकृत समाजवादीसहित १७ दल र समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी नेकपा बनेको हो । नेकपाले देशव्यापी सन्देश सभासँगै जिल्ला एकता सन्देश सभा पनि गर्दै आएको छ । तल्लो तहसम्मै एकता गर्ने र जनसंगठनहरूको एकता पनि अघि बढाउने तयारी गरेको छ ।
 

See More On

सुझावित समाचार