११ सय स्वचालित क्यामेराको निगरानीमा पाटेबाघ

पाँच निकुञ्ज र आसपासका क्षेत्रमा थालियो पाटेबाघ गणना, आगामी २९ जुलाई अर्थात् बाघ दिवसका दिन संख्या सार्वजनिक गर्ने सरकारको लक्ष्य

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण
११ सय स्वचालित क्यामेराको निगरानीमा पाटेबाघ

चितवन राष्ट्रिय निकुञ्जको सौराहामा जडान गरिएको स्वचालित क्यामेरा अवलोकन गर्दै वनमन्त्री माधवप्रसाद चौलागाईं

चार वर्षअघिको गणनामा नेपालमा ३५५ पाटेबाघ रहेकोमा अहिले यो संख्या कति होला ? यही प्रश्नको जवाफ खोज्न सरकारले मंगलबारदेखि पाटेबाघ सर्वेक्षण (गणना) सुरु गरेको छ । गणनापछिको यकिन संख्या बाघ दिवस अर्थात् २९ जुलाईमा सार्वजनिक गर्ने सरकारको तयारी छ । 

वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मंगलबार चितवन निकुञ्जको सौराहा क्षेत्रमा स्वचालित क्यामेराको स्विच अन गरेर बाघ गणनाको सुरुवात गरेका छन् । एक हजार एक सय स्वचालित क्यामेरासहित २५० जना बाघ गणनामा जुटेका छन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार तीन महिनामा तराई भूपरिधिका पाँचवटा राष्ट्रिय निकुञ्ज (पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा) वरपरका मध्यवर्ती तथा राष्ट्रिय वन एवं जैविक मार्गमा क्यामेरा ट्रयापिङमार्फत बाघ गणना हुनेछ । तीन महिनाभित्र बाघको तथ्यांक संकलन गरेर त्यसपछि फोटो विश्लेषण गरी संख्या यकिन गरिनेछ । त्यही संख्यालाई आधिकारिक मानेर सरकारले बाघ दिवसका दिन सार्वजनिक गर्नेछ । 

विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार निकुञ्ज एवं वरपरका वन क्षेत्र समेटेर चितवन–पर्सा कम्प्लेक्समा मंगलबारबाट गणना सुरु भएको हो । बाँके–बर्दिया कम्प्लेक्समा ५ पुस र अन्तिममा शुक्लाफाँटा–लालझाडी कम्प्लेक्समा क्यामेरा राखेर गणना गरिनेछ । 

नेपालमा ०६७ मा १२१, ०७० मा १९८, ०७५ मा २३५ र ०७९ मा ३५५ बाघ थिए । पछिल्लोपटक सन् २०२२ मा भएको गणनामा नेपालमा बाघको संख्या ३५५ पुगेको थियो । चार वर्षअघि तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार एक सय ६१ वर्गकिलोमिटर क्षेत्रमध्ये ११ हजार ५७ वर्गकिलोमिटर (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको थियो ।

विश्व संरक्षणमा खतरामा रहेको बाघ संकटापन्न प्रजातिमा सूचीकृत छ । नेपाल, भारत, चीन, बंगलादेश, भुटान, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, म्यानमार, रुस, लाओस, थाइल्यान्ड र भियतनामसहित १३ देशमा बाघको संख्या पाँच हजार दुई सय मात्र छ । 

नेपालको लक्ष्य– बाघको संख्यालाई हालकै अवस्थामा कायम राख्ने

नेपालले ०६७ मा बाघको संख्या दोब्बर पुर्‍याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेकामा तेब्बर पुर्‍याइसकेको छ । ०६७ मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ सम्मेलनमा नेपालसहित १३ देशले १२ वर्षमा संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएका थिए । त्यतिखेर नेपालमा बाघको संख्या १२१ रहेकामा २५० पुर्‍याउने लक्ष्य थियो । तर, सोहीअनुसार बाघ संरक्षणका कार्यक्रम चलाइएकामा चार वर्षअघि नै ३५५ कायम भइसकेको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट आचार्यले संख्या दोब्बर बनाउने नेपालको लक्ष्य पूरा भइसकेकाले बाघलाई हालकै अवस्थामा कायम राख्ने र निकुञ्जमा घाँसेमैदान, पानीपोखरीसहित आहारा प्रजाति सुनिश्चित गर्ने रहेको बताए । सर्वेक्षणका आधारमा बाघको घनत्व बढी भएका क्षेत्रमा आहारा कम हुन नदिन र स्थानीय बासिन्दालाई वनमाथिको निर्भर कम गर्न जीविकोपार्जनका कार्यक्रममा सघाइने उनले बताए । 

‘निकुञ्ज तथा वरपरको क्षेत्रमा बाघ र आहारा प्रजातिको अवस्था पत्ता लगाएर मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ,’ उनले भने, ‘त्यसका लागि बाघ संख्या, अवस्था, घनत्व र विचरण कहाँ बढेको छ भनेर थाहा पाउनुपर्ने हुन्छ । आहारा प्रजातिको घट्दो वा बढ्दो के छ भनेर थाहा पाएपछि त्यहीअनुसार कार्यक्रम सञ्चालन गरेर मानव–वन्यजन्तु द्वन्द्व घटाउने गरी नीति, कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ ।’ 

यसरी गरिन्छ बाघ गणना
बाघ पाइने तीन कम्प्लेक्स (चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी)लाई ब्लकमा विभाजन गरी ब्लकभित्र दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइका वर्गाकार ग्रिड बनाइन्छ । हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गरी कम्तीमा १५ दिनसम्म बाघको फोटो खिचेर ती फोटोको विश्लेषण गरी बाघको अनुमान गरिन्छ । 

‘क्यामेराले खिचेको फोटोमा बाघको पाटा हेरिन्छ, एउटा बाघको पाटा अर्काे बाघसँग मेल खाँदैन । त्यही आधारमा संख्या यकिन हुन्छ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले भने । उनका अनुसार बाघ गणनाका लागि २५० जनशक्ति र एक हजार एक सय क्यामेरा प्रयोग हुनेछन् । बाघ गणनामा तीन करोड खर्च हुने आकलन गरिएको छ । 

See More On

सुझावित समाचार