नगरपालिकालाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

बिहिबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सिरहाको लहान नगरपालिकाको दैनिक प्रशासनिक काममा सघाउ पुर्याउने उद्देश्यले कम्प्युटर, प्रिन्टर तथा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ। नगरपालिकामा बुधबार आयोजित संक्षिप्त कार्यक्रममा ‘सिलिड्स परियोजना’ ले पाँच/ पाँच थान कम्प्युटर र प्रिन्टर तथा एक थान स्मार्ट बोर्ड हस्तान्तरण गरिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई हेल्भेटासको आर्थिक सहयोगमा संचालित परियोजनाका प्रतिनिधिले सामाग्रीहरू हस्तान्तरण गरेका हुन्। जेन–जी आन्दोलनको क्रममा गत भदौ २४ गते लुटपाट, तोडफोड र आगजनी हुँदा नगरपालिकाको भवन तथा उपकरणहरूमा व्यापक क्षति पुगेको थियो । 

‘आन्दोलनपछि नगरको दैनिक प्रशासनिक काममा समेत बाधा पुगिरहेको सन्दर्भमा क्षति पुनःस्थापना तथा सेवाप्रवाह सहज बनाउन संस्थागत सहयोगहरू निरन्तर भइरहेको छ’ सामग्री बुझ्दै प्रमुख प्रशासकीय अधिकृत झाले भने ‘संकटको बेला गैरसरकारी संस्थाहरूले गरेको सहयोग उदाहरणीय छ।’ आन्दोलनमा भएको क्षतिले नगरवासीलाई परिरहेको अप्ठ्यारोका बेला साथ सहयोग गर्ने सबै संघ–संस्थाप्रति नगरपालिका कृतज्ञ रहेको उनले बताए । ‘यो सहयोगले नगरपालिकाको सेवा प्रवाहलाई थप सहज बनाउनेछ’ उनले भने। 

हेल्भेटासकी प्रतिनिधि श्रद्धा श्रेष्ठले नगरवासीलाई प्रभावकारी र सहज सेवा दिन सहयोग स्वरुप आवश्यक उपकरण उपलब्ध गराइएको बताइन्। त्यसअघि नगरपालिकासँगको समन्वयमा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको सामाजिक संस्था आसमान नेपालले नगरलाई कम्प्युटर, प्रिन्टर, दराज, टेबल, पंखा, कुर्सी तथा औषधि राख्ने र्याक उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । त्यस्तै, प्याब्सन सिरहा, कार्निभल सिनेमा हल प्रालिसहित विभिन्न स्थानीय संघ–संस्थाले नगरपालिकाको सेवा सहजीकरणका लागि कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायतका विद्युतीय सामग्री र फर्निचर सामग्री सहयोग गरिरहेका छन्।

क्षतिग्रस्त नगर कार्यपालिकाको भवन मर्मत तथा थप आवश्यक उपकरण खरिदका लागि नगरपालिकाले टेन्डर आह्वान गरी मूल्यांकन प्रक्रियामा रहेको नगरपालिकाको प्रशासन शाखाले जनाएको छ। आन्दोलनको क्रममा नगरपालिकाको प्रमुख प्रशासकीय भवनमा आगजनीसहित नगरपालिकाको विद्युतीय सामग्री, विषयगत शाखाहरु, स्टोर, फर्निचरहरु औषधिसहित जल्दा करिब सात करोड मूल्यको क्षति भएको नगरपालिकाले जनाएको छ। 
 

सुझावित समाचार