‘पञ्चायत मा समेत खुला भएको म लोकतन्त्रमा वर्षौँदेखि बन्धक छु,’ हिजो हजारौँको आवाज मुखरित गर्ने खुलामञ्च आज यही सोच्दो हो । कहिले बसपार्क, कहिले विद्यालय, कहिले फुटपाथ, कहिले तथाकथित संरक्षणको नाममा करिब एक दशकदेखि खुलामञ्च बन्द छ ।
धेरै राजनीतिक परिवर्तनको साक्षी बनेको खुलामञ्च आज खुला हुन आफैँसँग संघर्ष गरिरहेको छ । उसले भनिरहेझैँ लाग्छ,‘म कहिले तालामुक्त हुन्छु ?’
कांग्रेस नेताहरू बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, डा. केआई सिंह, नेकपा एमालेका नेता मदन भण्डारी, मनमोहन अधिकारी, वामपन्थी राजनीतिज्ञ तथा मानव अधिकारकर्मी पद्यरत्न तुलाधर, लेखक तथा अधिकारकर्मी मल्ल के सुन्दर, परराष्ट्रविद् तथा राजनीतिज्ञ हिरण्यलाल श्रेष्ठजस्ता थुप्रै नेताहरूले आफ्नो कुरा खुलामञ्चबाटै राखे । कतिपय नेता यहीँबाट उदाए । खुलामञ्च अर्को अर्थमा नेता जन्माउने थलो पनि थियो ।
०४६ सालको जनआन्दोलन सफल भएपछि खुलामञ्चमा आन्दोलनकारी । तस्बिर : मीनरत्न बज्राचार्य
पहिलो जनआन्दोलन २०४६ र दोस्रो जनआन्दोलन ०६२/०६३ ताका धेरै महत्वपूर्ण कार्यक्रम यहीँ भए । दुई सय ३७ वर्षे राजतन्त्र ढाल्न जनता त्यहीँ जुर्मराए । नेताहरूले त्यहीँबाट नारायणहिटीतिर औँला ठड्याउँदै भाषण गरे । लोकतन्त्रका लागि गगनभेदी नारा सबैभन्दा चर्को त्यहीँबाट जनताले लगाए । तर, लोकतन्त्र आएको दुई दशक पुग्न लाग्दा लोकतन्त्रका लागि आवाज उठाएको स्थान भने बन्दी बनिरह्यो । लोकतान्त्रिक संसारमा समाज खुला हुँदै जाँदा खुलामञ्च भने बन्द भइरह्यो । लोकतन्त्र मजबुत बनाउन जनआवाज महत्वपूर्ण मानिन्छ । तर, जनआवाज गुन्जिने खुलामञ्च झन्झन् बन्दी भइरह्यो ।
तीन वर्षअघि न्याय माग्न महोत्तरी बर्दीबासबाट १२ दिन पैदलै आएका मिटरब्याजपीडितका लागि खुलामञ्च खुला भएन । काखे बच्चा बोेकेर, खुट्टाभरि फोका उठाएर धेरै महिलाहरू खुलामञ्च आइपुगेका थिए । केहीबेरको घम्साघम्सीपछि २०७९ चैत १३ गते उनीहरूलाई खुलामञ्चको गेटमै काठमाडौं महानगरका नगर प्रहरीले रोक लगायो । त्यसपछि उनीहरूले खुलामञ्च बाहिरै रात कटाए ।
लोकतन्त्रपछिका धेरै आन्दोलन, सभाहरू माइतीघर, तिनकुने, बल्खु, सिफल, भद्रकालीतिर पुगे । नागरिकको आवाज बोल्ने खुलामञ्च भने बन्द भइरह्यो । ०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दा विरोधका आवाज बढे । असंवैधानिक एवं प्रतिगामी कदम भन्दै विभिन्न दलहरूले विरोध प्रदर्शन गरे । सोही क्रममा नेकपाले पनि विरोधसभाको आयोजना गर्यो । सिंहदरबारको पश्चिमी गेटदेखि सहिदगेटसम्म, जमलदेखि भद्रकालीसम्म, पुतलीसडकदेखि प्रदर्शनीमार्गसम्म सडक जाम गरेर नेकपाले अर्को महिना माघ ९ र २८ गते विरोधसभा गर्यो ।
०८० मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थितले गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा बल्खुमा आन्दोलनको आयोजना गरे । भ्रष्ट्राचारको विरोध र सुशासनको पक्षमा भएको जेन–जी आन्दोलनताका खुलामञ्चको नामनिसानै सुनिएन । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन माइतीघर, बानेश्वर, तिनकुने, कंलकीलगायत क्षेत्रमा सीमित भयो ।
२०४६ सालको जनआन्दोलन, ०६२/६३ को जनआन्दोलन, जसले व्यवस्था परिवर्तन गर्यो, त्यस्ता आन्दोलनको साक्षी बनेको खुलामञ्च राजनीतिक गतिविधि गर्ने, नागरिकको आवाज बोल्ने, विचार मन्थन गर्ने ठाउँको रूपमा कसरी उदायो ?, लोकतन्त्रमा खुलामञ्चको नाम एकाएक कसरी गुमनाम भयो ? उथलपुथल नै भएको जेन–जी आन्दोलनमा खुलामञ्चको नामै किन सुनिएन ? खुलामञ्च लोकतन्त्रमै कसरी बन्धक भयो ? यस्ता प्रश्न आज धेरैको जिज्ञासा बनेको छ ।
०३२ सालमै खुला
इतिहासकार महेशराज पन्तका अनुसार टुँडिखेलको चार सय वर्ष लामो इतिहास छ । सोही टुँडिखेलको एउटा भाग हो, खुलामञ्च । नेपालको संविधान २०१९ लागू भएपछि अञ्चलको विभाजन भयो । काठमाडौं बागमती अञ्चलअन्तर्गत रह्यो । विष्णुमणि आचार्य अञ्चलाधीश बने । त्यहीबखत तत्कालीन रानी रत्न राज्यलक्ष्मी देवी शाहको योजनामा राजा महेन्द्रले बालबालिकाहरूका लागि भनेर पार्क तयार पार्न लगाए । २०१८ सालदेखि निर्माण सुरु भएको त्यो पार्क २०२१ सालमा सम्पन्न भयो । त्यहीवेला टुँडिखेलको खण्डीकरण सुरु भयो । दक्षिणतिरको खण्ड नेपाली सेनाले शाही सेना मञ्चको रूपमा विस्तार गर्यो । उत्तरतिर सेनाको अधीनमा रहनेगरि गोलो मञ्च बनाइयो । र त्यसलाई खुलामञ्चको नाम दिइयो । त्यो मञ्चमा सेनाले सर्वसाधारणलाई पस्न र घाम ताप्न दिन थाल्यो ।
०३२ सालदेखि भने खुलामञ्चमा बागमती अञ्चलाधीश कार्यालयको अनुमतिमा सांस्कृतिक र सार्वजनिक कार्यक्रम गर्नसमेत पाइने भयो । त्यसपछि त्यहाँ अनुमति नै लिएर राजनीतिक तथा गैरराजनीतिक संघ–संगठनले कार्यक्रम गर्ने परम्परा बस्न थाल्यो । त्यसपछि राजनीतिक गतिविधि धेरै हुन थाल्यो । सर्वसाधारणका लागि पनि भेटघाट, छलफल, बहस, भेला गर्ने थलो बन्यो । त्योभन्दा अघि धेरैजसो राजनीतिक गतिविधि तीनधारा पाठशाला र भूगोल पार्कमा हुन्थ्यो । भूगोल पार्कभन्दा अघि धेरै राजनीतिक गतिविधि तीनधारा पाठशालामा हुन्थ्यो । ००७ सालपछि धेरै आमसभा, ठुला राजनीतिक भेला तीनधारा पाठशाला र भूगोल पार्कमा हुन्थे ।
लेखक तथा अधिकारकर्मी मल्ल के सुन्दर जीवनको सुरुवाती दिन खुलामञ्चसहितको टुँडिखेलमा खेल्दै बित्यो । उनका अनुसार ०१८ सालमा बेलायती महारानी एलिजाबेथ द्वितीय नेपाल भ्रमणका क्रममा सहर सौन्दर्यीकरण गर्ने भन्दै पहिलोपटक टुँडिखेललाई धेराबन्दी पारियो । ‘टुँडिखेललाई पहिलोपटक त्यही वेला घेराबन्दी गरियो,’ टुँडिखेल घेराबन्दीमा परेको दिन सम्झँदै मल्ल के सुन्दरले भने ।
‘तीनधारा पाठशाला त्रिचन्द्र क्याम्पसको रूपमा विस्तार गरियो । पर्खाल लगाइयो । सार्वजनिक चौर मासिएपछि भेला गर्न सक्ने अवस्था रहेन । त्यसको विकल्पमा खुलामञ्चमा राजनीतिक गतिविधि बढ्यो,’ मल्ल के सुन्दर भन्छन् । ०३६ सालमा जनमतसंग्रह गर्ने घोषणा भएपछि बिपी कोइरालाले खुलामञ्चमै पुगेर भाषण गरे । खुलामञ्चलाई सिंगो टुँडिखेलको रूपमा देखेका मल्ल के सुन्दर पनि त्यहाँ हुने धेरै राजनीतिक गतिविधिमा सामेल भए । ०४६ सालको जानआन्दोलनपछि चैत २६ गते खुलामञ्चमा गणेशमान सिंहले राखेको अभिव्यक्तिको उनी साक्षी थिए ।
परराष्ट्रविद्, राजनीतिज्ञ हिरण्यलाल श्रेष्ठको बाल्यकाल पनि खुलामञ्चको माटोसँग खेलेरै बित्यो । बार नलगाइएको खुलामञ्चमा उनले महिना दिनसम्म जुवा मेला, घोडेजात्रा र गुरु म्हापालाई इटुम्बहालबाट खाना खुवाउनका लागि आएका भिड पनि देखे । त्यसपछि उनी आफैँ पनि खुलामञ्चका थुप्रै कार्यक्रममा सहभागी भए । ‘जनताले मागेको प्रजातन्त्र भनेको राजाविनाको प्रजातन्त्र हो । तर, परिणाम राजासहितको प्रजातन्त्र भयो । यो हदसम्म कसैलाई चित्त बुझ्यो भन्ने जवाफ खोज्नुभन्दा मुलुकको अहिलेको शक्ति सन्तुलनको स्थिति के रहेको छ भन्ने विश्लेषण गर्नु नै जवाफ हुनेछ,’ ०४७ कात्तिक २३ गते मदन भण्डारीले खुलामञ्चमा यही बोलेका थिए । यो भेलामा उपस्थित थिए, श्रेष्ठ पनि । उनी आफैँले पनि ०३६ सालको जनमतसंग्रहमा धाँधली भएको भन्दै बोले । गण्डक सम्झौता, कोशी सम्झौताको विरुद्ध खुलामञ्चमा आफ्नो अभिव्यक्ति राखे ।
यसकारण खुलामञ्च महत्वपूर्ण
०६२/६३ को जनआन्दोलनमा खुलामञ्चमा जम्मा भएका आन्दोलनकारी
मल्ल के सुन्दर भन्छन्, ‘खुलामञ्चमा कहिले मार्केट, कहिले अस्थायी बसपार्क भयो । त्यसैले त्यहाँ सभा, सम्मेलन गर्न सकिने अवस्था रहेन । कुनै वेला हप्तैजस्तो जुलुस, आमसभा हुन्थे । त्यसलाई व्यवस्थित गर्नुपर्छ ।’ यसबारे श्रेष्ठले फरक मत राख्दै भने,‘काठमार्डौंमा जनसंख्या बढ्दै जाँदा एउटा खुलामञ्च मात्रैले पुगेन । त्यसैले खुलामञ्चबाट सभा–सम्मेलन अन्तै सर्यो । माइतीघर उपत्यकाका तीनै जिल्लाबाट आउन पायक पर्ने ठाउँ भयो । र सिंहदरबारलाई प्रेसर दिने उपयुक्त ठाउँ पनि भयो,’ उनी जेन–जी आन्दोलनको वेला खुलामञ्च गुन्जिन नसक्नुका कारण जेन–जीको निसाना भ्रष्ट सांसदहरू केन्द्रित भएको र यसका लागि माइतीघर, बानेश्वर उपयुक्त ठाउँ भएको बताउँछन् । मल्ल के सुन्दर भने जेन–जी आन्दोलन अन्तर्राष्ट्रिय अभ्यासअनुसार भएकाले खुलामञ्च प्राथमिकतामा नपरेको बताउँछन् ।
खुलामञ्चको गरिमा अहिले पनि नघटेको भन्दै श्रेष्ठ लामो समय खुलामञ्चजस्तो आममानिसको सहज प्रवेश, विचार मन्थन, बहस, छलफल, विरोध गर्ने ठाउँ बन्द हुनु अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताउँछन् । खुलामञ्चजस्तो सार्वजनिकस्थल ओझेलमा पर्नु भनेको नेताहरूको लोकप्रियतामा कमी आउनुभएको उनी दाबी गर्छन् । ‘पहिले नेताहरू खुला रूपले हिँड्थे । खुलामञ्चजस्ता सार्वजनिक थलोहरूकै कार्यक्रममा रमाउँथे,’ श्रेष्ठले भने, ‘अहिले नेताहरू सामाजिक सञ्जालबाटै आफ्नो धारणा राख्ने, मिडियामा मात्रै बोल्ने गर्छन् । आफ्ना विभिन्न कर्तुत लुकाएका उनीहरूले आफूलाई असुरक्षित ठानेको पनि हुन सक्छ ।’ उनी नेताहरूको रोजाइमा यस्ता सार्वजनिक स्थल पर्न नसक्नु जनता र नेताबिचको सम्बन्धमा दूरी आउनुभएको बताउँछन् ।
पहिलेकै अवस्थामा फर्काऔँ
कांग्रेस नेता सिर्जना सिंहको परिवारले नै त्यहीँबाट प्रजातन्त्रको वकालत गरे । उनले पनि खुलामञ्चबाटै प्रजातन्त्रको आवाज उठाइन् । यस्तो खुलामञ्च सधैँ खुला हुनुपर्ने उनी बताउँछिन् । ‘म ३६ सालदेखि नै खुलामञ्चसँग जोडेर विभिन्न राजनीतिक गतिविधिमा सहभागी भएको छु । पहिले कांग्रेसको अधिवेशन नै खुलामञ्चमा हुन्थ्यो,’ उनले भनिन्, ‘मैले खुलामञ्चको बारेमा यहाँका जनप्रतिनिधिसँग पटक–पटक जिज्ञासा राखेको छु । उहाँहरूले सफाइ र व्यवस्थापनका लागि मात्र खुलामञ्च बन्द भएको बताउनुभएको छ ।’
अभियन्ता गणपतिलाल श्रेष्ठ खुलामञ्च देशको हरेक परिवर्तनको साक्षी र ऐतिहासिक थलो भएकाले आममानिसका लागि खुला गरिनुपर्ने बताउँछन् । ०७६ सालमा टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले ‘अकुपाई टुँडिखेल’ अभियान सुरु भएको थियो । तीन महिनासम्म अभियानले विभिन्न रचनात्मक काम गर्यो । उनी सोही अभियानमा समेत संलग्न थिए ।
मल्ल के सुन्दर पछिल्लो समय महानगरपालिको नेतृत्वले गरेको काम हेर्दा खेल मैदान वा राम्रै काम गर्न लागेको देखिएको भन्दै कम्तीमा खुलामञ्चलाई पहिलाकै अवस्थामा राख्नुपर्ने बताउँछन् । ‘खुलामञ्च जोकोही आएर खुला ठाउँमा आफ्नो कला प्रस्तुत गर्न सकिने ठाउँ हो । त्यसैले स्वास्थ्य, खेलकुद, सार्वजनिक बहस, सार्वजनिक जीवनका लागि खुलामञ्च उपलब्ध हुनुपर्छ । पहिले जुन रूपमा प्रयोग गर्न दिइएको थियो, त्यो यथावत् नै हुनुपर्छ,’ उनले भने । परराष्ट्रविद् श्रेष्ठ पनि खुलामञ्चलाई खुलै राख्नुपर्ने भन्दै बिहान व्यायाम गर्ने, साँझमा सांस्कृतिक कार्यक्रम गर्न मिल्ने, सामान्य मान्छेले सजिलै त्यहाँको गतिविधि हेर्न सकिने बनाउनुपर्ने बताउँछन् ।
जनप्रतिनिधिबाटै बन्द खुलामञ्च
पुरानो बसपार्कमा काठमाडौं भ्यु टावर बन्ने भएपछि त्यहाँ बसपार्क तयार नहुँदासम्मका लागि २०७३ सालमा खुलामञ्चमा अस्थायी बसपार्क निर्माण भयो । सोहीअनुसार महानगरपालिका र निर्माण व्यवसायी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबिच तीन वर्षसम्म खुलामञ्च उपभोग गर्ने गरी सम्झौता भयो । महानगरपालिकाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले २०७३ साउन ३० गते कार्यादेशमार्फत निर्माण कम्पनीलाई खुलामञ्च उपयोग गर्न दिए । निर्माण कम्पनीले त्यहाँ बसपार्कबाहेक दुईवटा शौचालय, दुईवटा प्रतीक्षालय, क्यान्टिन, मेडिकल पसल, एक टिकट काउन्टरलगायत पनि निर्माण गर्यो । अवैध रूपमा धमाधम संरचना बन्न थालेपछि ०७६ सालमा त्यहाँ रहेको संरचना महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले भत्काउन लगाए । त्यसपछि खुलामञ्च सर्वसाधारणका लागि खुल्ने भने पनि फोहोर हुन्छ भन्दै महानगरले खोलेन ।
त्यसपछि खुलामञ्च नखुल्दै बालेन्द्र शाह (बालेन)को नेतृत्व महानगरमा आयो । मेयर बालेनको नेतृत्वले पनि पटक–पटक खुलामञ्च खोल्ने भने पनि खुलाएन । बरु उसको नेतृत्वले मिटरब्याज पीडितलाई समेत खुलामञ्च प्रवेशमा रोक लगायो । उनको नेतृत्वले खुलामञ्चमा प्लास्टिकको दुबोसहित दुई फुटबल मैदान बनाउनका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनायो । तर, त्यसको चौतर्फी विरोधपछि त्यो काम अगाडि बढ्न सकेन । कात्तिक २७ गते सामाजिक सञ्जालमा खुलामञ्च छिट्टै खुल्ने तयारी भइरहेको जानकारी गराए । उनले उक्त जानकारी गराएको हप्ता दिन बित्दा पनि खुलामञ्च कहिले खुल्ने पत्तो छैन । यसअघि पनि पटक–पटक खुल्ने भनेको खुलामञ्च नखुलेकाले उनको जानकारी कति सत्य हो शंका उब्जिएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले भने खुलामञ्च कहिलेदेखि खुल्ने भन्ने यकिन नभए पनि खोल्ने निर्णय भएको बताउँछन् । ‘खुलामञ्च उज्यालोदेखि उज्यालोसम्म खुल्छ,’ उनले भने ।
महानगरका अनुसार खुलामञ्चको चौरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । खुलामञ्चमा खेलकुद पूर्वाधारको मर्मत–सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चौरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो । यसका लागि करिब ९० लाख रुपैयाँ खर्च भएको छ । ४६ रोपनी क्षेत्रफलमा फैलिएको चौरको वरिपरि चार मिटर चौडाइको पैदलमार्ग बनाइएको छ । सहरका विभिन्न ठाउँका पैदलमार्ग स्तरोन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लक ल्याएर यस ठाउँको पैदलमार्ग बनाउन पुन: प्रयोग गरिएको छ । खुलामञ्च सबैका लागि खुला रहने, बहुउपयोगी स्थानका रूपमा प्रयोग हुनेछ । बिहान शारीरिक अभ्यास गर्न सकिनेछ । बालबालिकाका लागि स्वतन्त्र खेल्ने ठाउँ हुनेछ । पाका उमेरका व्यक्तिहरूका लागि टहल्ने, आराम गर्ने र सहरी जीवन नियाल्ने ठाउँ हुनेछ । शारीरिक व्यायामका लागि उपयुक्त मार्ग हुनेछ । युवाहरूलाई खेल प्रशिक्षण गर्ने तथा रमाउने ठाउँ हुनेछ । भलिबल, ब्याडमिन्टन लेख्ने ठाउँ पनि हुनेछ ।
शारीरिक करसतसम्बन्धी सम्पूर्ण गतिविधि हुने भनिए पनि राजनीतिक सभासमारोहका लागि खुलामञ्च खुला हुने या बन्द हुने महानगरले केही भनेको छैन । खुलामञ्चको खास विरासत, सौन्दर्य राजनीतिक अभिव्यक्ति हो । जनताले फेरि आफ्नो आवाज खुलामञ्चबाट सत्तासीनलाई सुनाउन पाउनेछन् या छैनन् हेर्न बाँकी छ ।