विदेशी नागरिकको अनुगमन : राष्ट्रिय सुरक्षा सुदृढीकरणमा महत्त्वपूर्ण कदम

बुधबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

आगामी जनवरी १ (१७ पुस) देखि सुरु गर्न लागिएको विदेशी नागरिकको अनुगमन प्रणाली राष्ट्रिय सुरक्षा सुदृढीकरणको एउटा महत्त्वपूर्ण कदम हुने सरोकारवालाहरूले बताएका छन्। अध्यागमन विभागले बुधबार आयोजना गरेको छलफलमा सरोकारवालाहरूले त्यसको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। 

विभागले जनवरी १ देखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्न लागेको हो। सुरुमा काठमाडौं उपत्यकाका तारे होटेलबाट यो प्रणाली लागू गर्न लागिएको हो। जसअनुसार आफ्नो होटेलमा बस्ने विदेशी नागरिक सबैको विवरण होटेलहरूले अध्यागमनको प्रणालीमा प्रविष्ट गर्नुपर्ने हुन्छ । 

सोही प्रणाली कार्यान्वयनका लागि विभागले बुधबार सरोकारवालाहरूसँग छलफल गरेको हो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले यसलाई पर्यटकको ट्रयाकिङ नभई सूचना प्रणाली भएकाले यसलाई सकारात्मक रूपमा लिएर त्यहीअनुसार प्रचार गर्नुपर्ने बताए । ‘यो असल नियतले सुरु गरिएको काम हो, विदेशमा धेरै देशमा यस्तो प्रणाली छ,’ उनले भने, ‘यसबाट हामीले सकारात्मक सन्देश दिनु जरुरी छ ।’ 

होटेल एसाेसिएसन अफ नेपाल (हान)का महासचिव साजन शाक्यले यो प्रणाली कार्यान्वयनका लागि व्यवसायीहरू तयार रहेको बताए । तर, धेरै होटेलहरू दर्ता नभएकाले नीतिगत सहजता गरी दर्ता प्रक्रियामा ल्याए यो प्रणाली कार्यान्वयनका लागि सहज हुने उनको भनाइ छ । 

ट्रेकिङ एजेन्ट्स एसाेसिएसन अफ नेपाल (टान)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र सेढाईंले यो प्रणालीले पर्यटकको सुरक्षामा पनि सहयोगी हुने बताए । ‘यो हाम्रो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो, पर्यटकको व्यक्तिगत सुरक्षाका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ,’ उनले भने, ‘यसमा हामी सहकार्य गर्न प्रतिबद्ध छौँ ।’ 

ट्राभल व्यवसायी, पर्यटन यातायात व्यवसायीलगायतले पनि यो प्रणाली कार्यान्वयनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले यो प्रणालीले राष्ट्रिय सुरक्षा र पर्यटन दुवै क्षेत्रका लागि सकारात्मक प्रभाव पार्ने बताए । ‘यो प्रणाली नियमन मात्र होइन, पर्यटकको सुरक्षाका लागि पनि हो,’ उनले भने, ‘यसलाई बर्डनको रूपमा नलियौँ, यसले पर्यटकको सुरक्षा प्रणालीलाई पनि सघाउने भएकाले क्वालिटी टुरिष्ट अझै बढ्नेछन् ।’ 

नेपालमा पर्यटकको आवरणमा आउने कतिपय विदेशीहरू विभिन्न किसिमका अपराधमा संलग्न हुने भएपछि अध्यागमन विभागले उनीहरूको नियमन गर्न थालेको हो । सुरुमा तारे होटेल र तीन महिनापछि सबै प्रकारका होटेल, ट्राभल एजेन्सी, मनी चेन्जर तथा पर्यटक यातातात व्यवसायीलाई यो प्रणालीमा आबद्ध हुन अनिवार्य गर्ने निर्णय भएको छ । यसले नेपालमा अवैध रूपमा बस्ने तथा गैरकानुनी गतिविधिमा संलग्न हुने विदेशीलाई निरुत्साहन गर्ने भएको राष्ट्रिय सुरक्षामा सकारात्मक प्रभाव पर्ने विभागका अधिकारीको विश्वास छ । 
 

सुझावित समाचार