‘अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति आवश्यक’

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

दक्षिण एसियाको व्यापार र अर्थशास्त्रबारे परामर्श गर्दै आएको ‘साउती’ले आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको गृहकार्य भइरहे पनि त्यसअघि चाल्नुपर्ने कदमबारे मूल्यांकन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार आयोजित कार्यक्रममा मन्त्री सिन्हाले मुलुक अहिले कुन अवस्थामा छ र विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा के–कस्ता विषय सुनिश्चित हुन्छन् भन्नेमा ध्यान दिनुपर्ने बताए । नेपालले नोभेम्बर ०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य राखेको छ । अन्तक्र्रियामा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अतिकम विकसित राष्ट्रको श्रेणीबाट माथि उठ्नु महत्वपूर्ण राष्ट्रिय उपलब्धि भए पनि अहिलेका प्रमुख नीतिमा चुनौती ल्याउनेतर्फ पनि सजग हुनुपर्ने बताए । स्तरोन्नतिपछि मन्द आर्थिक वृद्धिमाझ सूक्ष्म, साना र मझौला व्यवसायीलाई थप दबाब पर्ने विषयमा मूल्यांकन हुनुपर्ने बताए ।

‘लगानीकर्ताको विश्वास अझै कमजोर रहेको छ । नेपालले करमुक्त, कोटामुक्त बजार पहुँच र अन्य अन्तर्राष्ट्रिय समर्थनको क्षति भोग्नेछ । जसले विशेष गरी गार्मेन्ट, कार्पेट र पश्मिना उद्योगलाई असर गर्नेछ । निरन्तर संरचनात्मक अवरोधले पनि अर्थतन्त्रलाई थप दबाब पुर्याउन सक्छ,’ उनले भने । कार्यक्रममा गार्मेन्ट एसोसिएसनका अध्यक्ष पशुपतिदेव पाण्डेले स्तरोन्नतिका लागि कत्तिको तयार छौँ भन्ने प्रश्न मूल विषय रहेको बताए । ‘प्रश्न यो होइन कि हामी कहिले स्तरोन्नति गर्ने, तर हामी कति तयार छौँ भन्ने मुख्य विषय हो । अहिले नै स्तरोन्नति अलि गाह्रो छ,’ उनले भने । 

See More On

सुझावित समाचार