काभ्रेको रोशीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ४१ जना महिलाहरुमा भिआइए पोजेटिभ पहिचान

शनिबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको विभिन्न वडामा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ४१ जना महिलाहरुमा पाठेघरको मुख क्यान्सर पूर्व पहिचान (भिआइए) भएको हो । रोशी गाउँपालिकाको आयोजना,शीर मेमोरियल एड्भेन्टिज अस्पताल बनेपा र सामुदायिक सेवा प्रतिष्ठानको प्राविधिक सहयोगमा रोशी गाउँपालिका वडा नं. २ स्थित पालिका अस्पताल, वडा नं. ६ स्थित स्वास्थ्यचौकी, वडा नं. ७ स्थित कटुञ्जे र वडा नं. ९ स्थित मंगलटार स्वास्थ्यचौकीमा शिविर भएको थियो ।

वडा नं. २ मा मंसिर १ गते, वडा नं. ६ मा २ गते, वडा नं. ७ मा ३ गते र वडा नं.९ मा ४ गते शिविर भएको थियो । चार स्थानमा गरेको शिविरमा पाँच सय ५७ जना लाभान्वित भएका छन् । जसमा पहिलो दिन दुई सय ४३ जना, दोस्रो दिन १२१ जना, तेस्रो दिन कटुञ्जेमा ५६ जना र चौथो दिन मंगलटारमा एक सय ३७ जनाको स्वास्थ्य परिक्षण भएको छ। 

रोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिल रत्न शाक्यका अनुसार शिविरमा ४१ जनामा पाठेघरमो मुख पूर्व क्यान्सर पोजेटिभ पाइएको छ । शिविरमा ४५७ जना महिलाहरुको स्वास्थ्य परिक्षण गर्दा ४१ जनामा भिआइए पोजेटिभ भेटिएको शाक्यले बताए । ती ४१ जना महिलाहरुलाई थर्माेकोगुलेशन उपचार गरेर पठाएको उनले जानकारी दिए । त्यसरी नै सो शिविरमा पाठेघर खस्ने परिक्षण पनि गरेको थियो । सो परिक्षणमा १२ जनाको पाठेघर पहिलो, दोस्रो र तेस्रो डिग्री खसेकोले शल्यक्रिया गर्नुपर्ने अवस्था फेला परेको शाक्यको भनाइ छ । उनीहरुको अस्पतालमा निःशुल्क शल्यक्रिया हुने उनको भनाइ छ । औषधी प्रयोग गरेर हुने विरामीहरूलाई निःशुल्क औषधी वितरण गरेको उनले बताए । 

शीर मेमोरियल एडभेन्टिज अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सुमित्रा महर्जनका अनुसार शिविरमा महिलाहरूको यौनांगबाट फोहोर पानी बग्ने समस्य, आङ झर्ने समस्या जस्ता समस्या देखिएको छ । सरसफाई र रहनसहनको कमीले गर्दा त्यस्तो समस्या देखिएको उनले बताइन् । महिलाहरुको यौनांगको सरसफाई, सुत्केरी अवस्थामा आवश्यक आराम र खानपिनमा सुधार गरेमा त्यस्तो समस्याको रोकथाम गर्न सकिने उनले बताइन् । 

शिविर समापन गर्दै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई ख्याल गरेर विभिन्न कार्यक्रम गर्दै आएको बताए । गाउँपालिकाले ६० वर्षदेखि ७० बर्षसम्मको जेष्ठ नागरिकका परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको बताए । ‘नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएर करिब २ हजार ५ सय घरपरिवारको निःशुल्क स्वास्थ्य विमा गरेका छौँ । जसले गर्दा आर्थिक अभावमा स्वास्थ्यका कारण कसैले ज्यान गुमाउनु पर्दैन भन्ने हामीलाई लाग्छ’, अध्यक्ष लामाले भने । लाजका कारण ग्रामिण भेगका महिलाहरूले आफ्नो रेग लुकाएर बस्न नपरोस भनेर विभिन्न संस्थाहरुसँगको सहकार्यमा विभिन्न समयमा विभिन्न स्थानमा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको उनको भनाइ छ । 

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले गाउँपालिकाले नागरिकका लागि गरेको स्वास्थ्य क्रियाकलापहरूमा संघ/संस्थाहरुको सहयोग अतुलनिय रहेको भन्दै आगामी दिनहरुमा पनि सहकार्य गरेर अगाडी बढ्न अनुरोध गरे। शिर मेमोरियल एडभेन्टिज अस्पतालका कम्युनिटि एण्ड क्लाइन्ट सर्भिस म्यानेजर पुकार श्रेष्ठले ग्रामिण भेगका महिलाहरू अझै आफ्नो समस्य खुलेर नभन्ने बताए । त्यसको लागि स्कृनिङ शिविर अझै आवश्यक रहेको उनको भनाइ छ ।

शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, पिसाव चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार, परामर्श र शल्यक्रिया, स्त्री रोग सम्बन्धी परीक्षण (पाठेघर जाँच) र परामर्श, पाठेघरको मुखको परीक्षण र परामर्श, पाठेघरको मुखको क्यान्सरको पूर्व पहिचान, थर्मोकोगुलेशन, फिस्टुलाको अप्रेसन, भिडियो एक्स–रे सेवा र स्त्री रोग सम्बन्धी सम्पूर्ण रोगको जाँच तथा उपचार भएको थियो ।
 

सुझावित समाचार