खाद्यले किसानको नभई गल्ला व्यापारीको धान खरिद गरेको भन्दै आन्दोलित

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

कञ्चनपुरका धान किसान आन्दोलित भएका छन् । सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालयले वास्तविक किसानभन्दा गल्ला व्यवसायीका धान खरिद गरेको भन्दै किसान आन्दोलित भएका हुन् । बुधबार कार्यालय समयदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालय महेन्द्रनगरपरिसरमा किसानले विरोध प्रदर्शन गरेका छन्। 

धान किसानले ढिलो गरी खाद्यले धान खरिद गर्ने अनि किसानभन्दा पनि गल्ला व्यवसायीका धान खरिद गरेर कोटा  पुगेको भन्दै खरिद बन्द गरेपछि किसान आक्रोशित भएका हुन् । अधिकांश किसानले खाद्यले खरिदअगावै सस्तोमा बेचेकोदेखि अहिले पनि किसानले बेच्ने क्रममा अन्याय गरेको बताएका छन् । पुर्जी दिए पनि धान खरिद गर्न आनाकानी गरेको स्थानीय किसानले दुःखेसो पोखेका छन् । 

भीमदत्त नगरपालिका– १२, ऐरीका घनश्याम भट्टले आफूले पहिल्यै पुर्जी लिए पनि अहिले बिक्री गर्न आउँदा कार्यालयले आलटाल गरिरहेको बताए । ‘मलाई धान ल्याउन कार्यालयले अनुमति दियो, तर अहिले खरिद गर्न लागेको छैन,’ उनले भने, ‘किसानमाथि खाद्यले अन्याय गरेको छ ।’ भीमदत्त नगरपालिका– ३ तिलकपुरकी पुष्पा भण्डारी (डाँट)ले धान बेच्नका लागि पहिल्यै कार्यालय आए पनि ३ गते बोलाएको र अहिले कार्यालय पुग्दा बन्द भयो भन्दै फर्कादिएको बताइन् । ‘घरमा १०–१२ बोरा धान छन्, सरकारलाई नै धान बेच्न खोजेका थियौँ,’ उनले भनिन, ‘कार्यालय पुग्दा बन्द भयो भन्दै टारिरहेका छन् ।’ 

शुक्लाफाँटा नगरपालिका– ३ का किसान जीवन भण्डारीले पनि खाद्यले किसानभन्दा गल्ला व्यवसायीहरूलाई किसानकै रूपमा ल्याएर धान खरिद गरिदिएको बताए। खाद्यका कर्मचारीहरूले ढिलो गरी धान खरिद गर्ने, तबसम्म किसानले स्थानीय गल्ला व्यवसायीहरूलाई सस्तोमै बेचिदिने, अनि अहिले किसानको धान खरिदभन्दा फेरि व्यवसायीकै धान खरिद गर्ने प्रवृत्ति हाबी भएपछि किसान मारमा  परेको उनको दुखेसो छ । 

तर, कार्यालयले चालू आर्थिक वर्ष ०८२/८३मा धान खरिदका लागि केन्द्रबाटै कोटा कम आएकाले समस्या भएको जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालय महेन्द्रनगरका प्रमुख मोहिकार मेहताले माथिबाटै कोटा निर्धारण  गरेपछि त्योभन्दा बढी धान बेच्नका  लागि आएपछि समस्या भएको बताए । ‘धान खरिदमा हामीले गल्ला व्यवसायीसँग सेटिङ गरेका छैनौँ,’ उनले भने, ‘माथिबाट हामीलाई कोटा नै कम दियो, अब फेरि यता जनताको मागअनुरूप थप्न  लगाएको छु, कोटा थपिदिए किसानको माग सम्बोधन हुन्छ ।’ यस वर्ष खाद्यले १६ कात्तिक ०८२ देखि मात्रै धान खरिद सुरु गरेको थियो । 

विगतका वर्षहरूभन्दा यस वर्ष कोटा कम दिएकाले समेत समस्या भएको जनाइएको छ । 
 

See More On

सुझावित समाचार