हुलाकी राजमार्गअन्तर्गत कमला नदीको पुल र सहजा खोलाको पुल निर्माण नहुँदा उत्पन्न समस्याको विरोधस्वरूप सिराहामा पुतलाको शवयात्रा निकालिएको छ।
सिराहा विकास मञ्चले सरकारप्रतिको असन्तुष्टि र दबाब सिर्जना गर्न सदरमुकाम सिराहामा पुतलाको शवयात्रा आयोजना गरेको हो। शवयात्रा सदरमुकामका विभिन्न मार्ग हुँदै जिल्ला प्रहरी कार्यालयको गेटमा पुगेपछि प्रहरीले केहीबेर हस्तक्षेप गरेको थियो।
मञ्चका संयोजक रामरिझन यादवका अनुसार दुवै पुलको निर्माण नहुँदा सिराहा र धनुषाका नागरिकले वर्षौंदेखि कठिनाइ भोग्दै आएका छन्। यात्रुहरूलाई सास्ती बढ्नुका साथै सवारी दुर्घटना पनि बढ्दो क्रममा रहेकाले सरकारले ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए।
सहजा खोलाको पुल अधुरो रहँदा शनिबार र आइतबार मात्र तीनवटा दुर्घटना भएको संयोजक यादवले उल्लेख गरे।
यस्तै, कमला नदीको पुल करिब १५ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेकाले लाखौँ नागरिक प्रभावित हुँदै आएका छन्। लामो समयसम्म पुल निर्माण पूरा नहुनुलाई सरकारको लापरबाही ठहर गर्दै यादवले बाध्य भएर विरोधमा उत्रिनुपरेको बताए। विरोध प्रर्दशनमा सिराहा क्याम्पसका विद्यार्थीसहित स्थानीयहरूको सहभागिता थियो।