सुशासन कायम गर्न प्रमुख जिल्ला अधिकारीलाई पत्रकार महासंघको ध्यानाकर्षणपत्र

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल पत्रकार महासंघ खोटाङले विकास निर्माण र सुशासनका पक्षमा काम गर्न जिल्ला प्रशासन कार्यालय खोटाङको ध्यानाकर्षण गराएको छ। जिल्लाको विकास निर्माणमा भइरहेको ढिलासुस्ती र सुशासनका पक्षमा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले चासो नदिएको भन्दै नेपाल पत्रकार महासंघ खोटाङले बुधबार लिखित रूपमा जिल्ला प्रशासनको ध्यानाकर्षण गराएको हो।  

पत्रकार महासंघका अध्यक्ष हरिबाेल आचार्यले हस्ताक्षर गरेको पाँचबुँदे ध्यानाकर्षणपत्रमा प्रमुख जिल्ला अधिकारी जिल्लाको अख्तियार प्रमुखसमेत रहेको अवस्थामा विकास निर्माण र सुशासनका पक्षमा खेल्नुपर्ने भूमिका नखेलेको आरोप लगाइएको छ । आवश्यक कागजात भए पनि नागरिकतालगायतका सेवा प्रवाहमा नागरिकले सास्ती भोग्नुपरेको, निर्माण व्यवसायीका कारण जिल्ला अस्पताल खोटाङको निर्माणाधीन भवनलगायतका विकास निर्माणका काम अलपत्र हुँदा पनि मौन बसेको, जिल्लामा दुईवटा बसपार्क निर्माण भए पनि बसपार्कमा सवारीसाधन नलगी सडकमा पार्किङ गर्दा बजार कुरूपसँगै दुर्घटनाको जोखिम बढेको, सवारीसाधनमा ट्राफिक नियम पालना नभएको र सवारीसाधनले यात्रुबाट बढी भाडा लिएको जनगुनासो आए पनि नियमन निकाय मौन बसेको र बजार अनुगमन नियमित नहुँदा जथाभावी म्याद गुज्रेका सामग्री बिक्री–वितरण भइरहेको तथा जिल्लामा सञ्चालित औषधि पसलहरूबाट नियमविपरीत औषधि बिक्री–वितरण भएको जनगुनासोको आधारमा ध्यानाकर्षणपत्र बुझाइएको हो । 

जिल्लामा क्रियाशील पत्रकारहरू पत्रकार मात्र नभई स्थानीयवासीसमेत भएकाले नागरिकको गुनासो लिएर जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराइएको नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष आचार्यले बताए। ‘जिल्लामा क्रियाशील पत्रकारहरू सबै स्थानीयवासी छौँ । सबै समस्याको समाधान समाचार लेख्नु मात्र होइन,’ उनले भने, ‘सुशासन कायम गराउने मामिलामा पत्रकारहरूको पनि भूमिका हुन्छ । त्यसैले जिल्ला प्रशासन खोटाङमाथि उठेका जनगुनासाहरू समेटेर प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई प्रत्यक्ष रूपमा कार्यकक्षमै भेटेर ध्यानाकर्षण गराएका हौँ ।’

पत्रकार महासंघले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विगतमा भएका कमी–कमजोरीलाई सच्याउँदै आगामी दिनमा सुशासनको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
 

सुझावित समाचार