‘ए’ डिभिजन लिगमा आबद्ध १४ क्लबले घरेलु र प्रशिक्षण गर्ने मैदान उपलब्ध गराउँदा आफूहरू लिग खेल्न तयार भएको बताएका छन् । खेलकुदमन्त्री बब्लु गुप्ताले बुधबार मन्त्रालयमै बोलाएको बैठकमा ती क्लबका पदाधिकारीले सरकारसमक्ष यस्तो माग राखेका हुन् । हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पाले लिगमा उपस्थिति जनाउन सरकारले आवश्यक सुविधा पूरा गर्नुपर्ने माग राखे ।
‘सरकारले लिजमा होम र ट्रेनिङ उपलब्ध गराउनुपर्छ । यस्तो अवस्थामा लिग खेल्ने वातावरण बन्छ,’ शेर्पाले भने । उनको मागप्रति अन्य क्लबका पदाधिकारीले समर्थन जनाए ।
मन्त्रीकै उपस्थितिमा मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी फागुनमा ‘ए’ डिभिजन लिग गर्ने प्रतिबद्धता गरेको थियो । लिग आयोजनाका लागि आवश्यक तयारी तथा सहभागी क्लबको धारणा बुझ्न मन्त्री गुप्ताले १४ क्लबलाई बोलाएका हुन् ।
बैठकमा गुप्ताले बारम्बार लिग हुन के कस्तो आवश्यकता पर्ने प्रश्न गरिरहेका थिए । तर, पदाधिकारीले आफूहरूलाई घरेलु र प्रशिक्षण मैदानबाहेक अन्य नचाहिएको जनाए । तत्काल उनीहरूको माग सम्बोधन हुन नसक्ने इंगित गर्दै मन्त्री गुप्ताले सीमित साधन–स्रोतबिच सम्झौता गरेर लिगमा सहभागी हुनुपर्ने सुझाव दिएका छन् ।
‘अहिलेको अवस्थामा यो सम्भव देखिँदैन । तपाईंहरू सीमित स्रोतमा सम्झौता गरी लिग खेल्नुस्,’ उनले भने । एन्फा पूर्वअध्यक्षसमेत रहेका शेर्पाले लिगको मिति तोक्नु ठुलो कुरा नभएको जनाउँदै क्लब लाइसेन्सको प्रकिया पूरा गरेर मात्र लिग गर्नु औचित्यपूर्ण हुने बताएका थिए ।