- शपथ गराउन प्रदेश प्रमुखलाई दबाब दिएको मुख्यमन्त्री यादवको स्वीकारोक्ति, कांग्रेसलाई नेतृत्व दिन सबै दल सहमत भए राजीनामा गर्न तयार
विपक्षी सात दलका सांसद तथा नेता–कार्यकर्ताको विरोधका बाबजुद मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लालबाबु कवारीले मुख्यमन्त्री यादवलाई पदभार ग्रहण गराएका हुन् ।
यादवले जनकपुरधामस्थित मधेश भवनभित्र रहेको कभर्डहलमा अपराह्न ४:३० बजे पदभार ग्रहण गरिरहँदा बाहिर प्रदर्शन र झडप भइरहेको थियो । गत २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनी भएकाले कार्यालय कवर्डहलमा सारिएको छ । मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक प्रक्रियाबाट भएको भन्दै विपक्षी दलहरू सोमबार बिहानैदेखि मधेश प्रदेश भवनअगाडि धर्ना तथा प्रदर्शनमा रहेकाले पदभार ग्रहण गर्न सकेका थिएनन् । तर, प्रदर्शन भइरहेकै वेला सुरक्षाकर्मीले स्कर्टिङ गरेर यादवलाई मंगलबार अपराह्न ४:३० बजे मधेश भवनभित्र प्रवेश गराएका थिए ।
नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई स्कर्टिङ गरेर मधेश भवनभित्र लैजाने क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडपसमेत भएको छ । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज गर्दा लोसपाका नेता रामविनोद चौधरी, अजय पण्डित, नवीनकुमार झा, अजयकुमार राउत, धर्मेन्द्रकुमार यादवलगायत घाइते भएका छन् । पत्रकार सुरेन्द्र यादव पनि घाइते भएका छन् । टाउकोमा चोट लागेका पत्रकार यादवसहित घाइतेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनार (सोनल) अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
उपचारका नाममा जनकपुरधामबाट काठमाडौं हिँडेकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको नजिर बेवास्ता गर्दै एमाले नेता यादवलाई सोमबार बिहान झिसमिसेमै होटेलमा शपथ खुवाएकी थिइन् । कुनै औपचारिक आह्वानविनै प्रदेश प्रमुखले ‘फिक्सिङ’मा मुख्यमन्त्री नियुक्त गरेको भन्दै कांग्रेस, माओवादी, जसपा, जनमत, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति विरोधमा छन् ।
शपथग्रहण गराउन प्रदेश प्रमुखलाई दबाब दिएको मुख्यमन्त्रीको स्वीकारोक्ति : सबै दल कांग्रेसलाई नेतृत्व दिन सहमत भए राजीनामा गर्न तयार
नवनियुक्त मुख्यमन्त्री यादवले शपथग्रहण गराउन प्रदेश प्रमुखलाई आफूले नै दबाब दिएको स्वीकार गरेका छन् । मुख्यमन्त्रीको शपथ खाएको भोलिपल्ट मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै यादवले प्रदेश प्रमुखले आफूलाई संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिसकेपछि शपथग्रहणका लागि दबाब दिएको बताए ।
‘मलाई मुख्यमन्त्री बनाउनुस् भनेर प्रदेश प्रमुखलाई भनेको होइन । उहाँ आफैँले संविधानविद्, कानुनविद् र मधेश सरकारका मुख्य न्यायाधिवक्तासँग सल्लाह गरेर मलाई संविधानको धारा १६८(३) बमोजिम आइतबार राति करिब ११ बजे बोलाएर मुख्यमन्त्री नियुक्त गर्नुभभो । नियुक्तिपत्र लिएर घर डेरा फर्केँ,’ उनले भने, ‘सुत्न लाग्दा प्रदेश प्रमुख कार्यालयबाट फोन आयो । प्रदेश प्रमुखको स्वास्थ्य अवस्था ठिक नभएकाले उपचारका लागि काठमाडांै जाँदै हुनुहुन्छ भन्ने खबर गरियो । त्यसपछि मैले प्रदेश प्रमुखलाई मलाई नियुक्ति दिएर विना शपथ गराई तपाईं जान सक्नुहुन्न, मलाई शपथ नगराउँदा मेरो पद एक्भिट हुँदैन । फेरि केयरटेकर अर्को मुख्यमन्त्री छँदै छन् । त्यसकारण यस्तो अवस्थामा मलाई शपथग्रहण गराएर मात्रै जानुस् भनेर दबाब दिएँ ।’
मधेश भवनमा आइतबार राति विपक्षी दलले प्रदेश प्रमुख निवास र मधेश भवनपरिसरमा विरोध गरेका थिए । ‘त्यस्तो अवस्थामा शपथग्रहण उपयुक्त हुँदैन भनेर मैले अर्को ठाउँमा पनि शपथको व्यवस्था मिलाउनुस् भनेर प्रदेश प्रमुखलाई भनेपछि उहाँले काठमाडांै जाँदै छु, बाटोमै कहीँ गराँैला भनेपछि हामी बर्दीबासस्थित एक होटेलमा शपथ लिएका छौँ,’ उनले भने । मुख्यमन्त्री यादवले आफ्नो नियुक्ति असंवैधानिक नरहेको दाबी पनि गरे
आफू संविधानको बाध्यात्मक अवस्थामा मुख्यमन्त्री बनेको दाबी गर्दै यादवले दलहरू कांग्रेसलाई नेतृत्व दिन सहमत भए आफू राजीनामा दिन तयार रहेको बताए । ‘मलाई मुख्यमन्त्रीको रहर थिएन, मैले जनमतका नेतालाई मुख्यमन्त्री बनाएँ, कांग्रेस दलका नेतालाई बनाउन लिखित रूपमै सहमति नै गरेको थिएँ,’ उनले भने, ‘अझै केही बिग्रिएको छैन । दलहरू कांग्रेसलाई सरकारको नेतृत्व दिन सहमत भए म राजीनामा गर्न तयार छु ।’
मधेश आन्दोलनका सहिद परिवारलाई मधेश रत्न र नगद राशिसहित सम्मान गर्ने पहिलो निर्णय
मुख्यमन्त्री यादवले मधेश आन्दोलनका सहिदका परिवारलाई मधेश रत्न र नगद राशिसहित सम्मान गर्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै यादवले मधेश आन्दोलनका सहिदको बलिदानले नै संघीय गणतान्त्रिक नेपाल सम्भव भएको उल्लेख गरे । ‘संघीयता, पहिचान र अधिकारका लागि मधेशका सहिदहरूले दिएको योगदान अतुलनीय छ । तर, उनीहरूलाई अझैसम्म राज्यले योग्य सम्मान गर्न सकेको छैन । अब ती सहिदहरूलाई संस्थागत रूपमा सम्मान गर्ने हाम्रो पहिलो प्राथमिकता हुनेछ,’ उनले भने । यो सम्मानमार्फत सहिदका परिवारप्रति राज्यको कृतज्ञता प्रकट र मधेश आन्दोलनको योगदानलाई औपचारिक रूपमा स्मरण गरिने उनले बताए ।
सर्वाेच्चको आदेशले कामचलाऊ बन्यो मधेश सरकार
सर्वाेच्च अदालतले मधेश सरकारलाई दूरगामी निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । रकीप्रसाद साहले दायर गरेको रिटमा सर्वाेच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार अन्तरिम आदेश दिएको हो ।
सर्वाेच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार निवेदकको मागअनुसार दूरगामी निर्णय गर्न नपाउने गरी आदेश हुनुका साथै ११ मंसिरदेखि अग्राधिकार दिएर सुनुवाइको आदेश भएको छ । स्थगित गर्न नपाउने गरी ११ मंसिरदेखि सो मुद्दामा सुनुवाइ हुने भएको छ । आदेशमा भनिएको छ, ‘...सुविधा सन्तुलनको दृष्टिबाट यो रिट निवेदनको टुंगो नलागेसम्म मिति ०८२/७/२३ मा मुख्यमन्त्री नियुक्त मा. सरोजकुमार यादव र निजको सिफारिसमा सोही मितिमा गठन भएको मन्त्रिपरिषद्बाट मधेश प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्नू, नगराउनू भनी सर्वाेच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ ।’ यससम्बन्धी सबै रिटमा ११ मंसिरदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।