अन्न उत्पादनका लागि उर्वर कैलालीमा यस वर्ष धान उत्पादन घटेको छ । मौसमलगायत कारणले धानको उत्पादकत्व घट्दा गत वर्षको तुलनामा समग्र उत्पादनमा समेत कमी आएको कृषि ज्ञानकेन्द्र, कैलालीले जनाएको छ ।
केन्द्रले जिल्लाभरिका एक सय ठाउँबाट १० वर्गमिटर र एक वर्गमिटरको नमुना संकलन गरी कति धान उत्पादन भयो भन्ने विश्लेषण गरेको थियो । नमुना संकलन गरिएका ठाउँको उत्पादकत्वको अवस्था हेर्दा यो बर्खे सिजनमा धानको उत्पादन करिब ६ प्रतिशत घटेको केन्द्रका कृषि प्रसार अधिकृत मदनराज जोशीले बताए । उनका अनुसार गत वर्ष बर्खे सिजनमा धानको उत्पादकत्व प्रतिहेक्टर ४.४५ मेट्रिकटन थियो । यस वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ४.५ प्रतिशत रहेको कृषि प्रसार अधिकृत जोशीले जानकारी दिए । यस वर्ष जिल्लाभरि करिब ६८ हजार हेक्टर क्षेत्रफलमा धानखेती भएकोमा करिब तीन लाख आठ हजार मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्रको अनुमान छ ।
रोपाइँ सकिएपछि भएको लामो खडेरी र धान फुल्ने वेला पानी पर्नुले उत्पादनमा कमी आएको हो । ‘समयमै रोपाइँ भयो, तर रोपाइँ सकिएपछि करिब डेढ महिनासम्म पानी नपर्दा बिरुवाले गाँज हाल्न पाएन, घाँस उम्रियो,’ जोशीले भने, ‘धान फुल्ने वेला वर्षा भयो । यसले धानको परागसेचनलाई असर गर्दा उत्पादन प्रभावित भयो ।’
रासासयनिक मलको अभावले पनि उत्पादन घटेको कृषकहरू बताउँछन् । बिरुवा हुर्कने र गाँज हाल्ने वेला रासायनिक मल नपाउँदा यस वर्ष धान राम्रो नफलेको गोदावरी नगरपालिका– ६ का किसान नवराज भण्डारीले बताए । सुदूरपश्चिममा अन्न उत्पादनको पकेट क्षेत्र मानिने कैलाली र कञ्चनपुर तथा अन्य जिल्लामा समयमै रोपाइँ सकिएको थियो ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकाका गरी नौवटा वडामा धान जोन कार्यक्रम कार्यान्वयनमा छ । धान जोन कार्यक्रम लागू भएका ठाउँमा पनि यस वर्ष उत्पादनमा कमी आएको छ ।